coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एक महिनामा १३ जनाको मृत्यु, दर्जनौं परिवार घरबारविहिन

 सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्लामा पहिरो र तराईका दुई जिल्लामा बाढीले ठूलो क्षती गरेको छ। सुदूरपश्चिममा एक महिनामा मात्र पहिरोले १३ जनाको ज्यान गएको छ। भने १८ जना घाइते भएका छन्। यसैगरि पहिरोले दुई दर्जन बढी घर बगाएको छ, भने बाढीले ६ दर्जन बढी परिवार विस्थापित भएका छन।

बर्खा सुरु भएसँगै सुदूरपश्चिममा बढ्दै गएको विपद्का घटनाले स्थानीय त्रसित छन्। बाढी पहिरोको विपद्बाट बच्न पूर्व तयारी र दिर्घकालिन उपाय नगरिँदा वर्षेनी ठूलो धनजनको क्षती हुने गरेको छ। बाढी र पहिरोको उच्च जोखिममा रहेका बस्तीका स्थानीयवासी वैकल्पिक बसोबासको विकल्प नहुँदा सधैं पीडामा बर्खाको समय बिताउने गर्छन्। पहाडमा मापदण्ड र डिजाईन विपरित अन्धाधुन्द डोजरले सडक काट्दा पहिरोको जोखिममा थुप्रै बस्ती परेका छन, भने तराईमा चुरे बिनास, अनियन्त्रित रूपमा गिठ्ठी बालुवा निकाल्दा कटान र बाढीको जोखिम बढेको स्थानीय बताउँछन।

नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार यो अवधिमा यहाँ पहिरोका २५ घटनामा १३ जनाको मृत्यु भएको छ। पहिरोका कारण एक जना अझैं बेपत्ता अवस्थामा रहेका छन् भने आठ जना घाइते भएका छन्। त्यस्तै प्रदेशमा बाढीका ६ घटनामा धेरै धनमालको क्षति हुनुका साथै ६७ परिवार विस्थापित भएको प्रहरीको तथ्यांक छ। बाढीबाट अहिलेसम्म मानवीय क्षति भने भएको छैन।

प्रदेशमा विपद्का घटनामा सबैभन्दा बढी मानवीय क्षति बझाङमा भएको छ। पछिल्लो एक महिनाको अवधिमा बझाङमा पहिरो र बाढीका कारण ८ जनाले ज्यान गुमाएको छन्। पहिरोकै कारण बझाङमा ३४ परिवार विस्थापित भएका छन। भने १७ घरमा पूर्ण क्षति पुगेको छ। पछिल्लो एक महिनाको अवधिमा दार्चुलामा दुई जना पुरुष र दुई महिलाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन। बाढी र पहिरोका घटनामा दार्चुलामा ६ घरमा पूर्ण रूपमा क्षति पुगेको छ। बाढी तथा पहिरोबाट दार्चुलामा ९ परिवार विस्थापित भएका छन्।

प्रदेशको बाजुरा जिल्लामा एकको मृत्यु भएको छ, भने पहिरोका कारण एक घाइते भएका छन्। बाढी तथा पहिरोबाट बाजुरामा २० परिवार प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार विपद्का विभिन्न घटनामा करिब २० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ।

एक महिनाको अवधिमा डोटीमा ८ वटा विपद्का घटना भएका छन्। घटनामा एक पुरुषको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन्। बाढी र पहिरोबाट डोटीमा ३३ घरपरिवार प्रभावित भएका छन्। सुदूरपश्चिम प्रदेशको बैतडीमा ३, कञ्चनपुरमा २ र कैलालीमा २ वटा विपद्का घटना भए पनि यहाँ अहिलेसम्म मानवीय क्षति भने भएको छैन। कैलालीमा बाढीबाट १४ घरपरिवार प्रभावित भएका छन् भने कञ्चनपुरमा २ घर प्रभावित भएका छन्।

पहिरोका कारण बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नास्थित दमथला टोलका देवदत्त भट्टको परिवार विस्थापित भएको छ। महाकाली कोरिडोरअन्तर्गत निर्माण भएको सडकले पहिरो खसेपछि भट्टको परिवारलाई तत्कालका लागि अर्को घरमा स्थानान्तरण गरिएको हो। सो ठाउँमा अन्य ७ परिवार पनि पहिरोको जोखिममा परेको वडा नम्बर ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए।  

बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ का ३२ परिवार उच्च जोखिममा छन्। पहिरोका कारण उनीहरू विस्थापित हुने अवस्थामा पुगेका छन्। अविरल वर्षाका कारण घरको चारैतिरबाट पहिरो बग्न थालेपछि वडाका नाइना, मैतोला, लम्मेलासहितका टोल उच्च जोखिममा परेको वडाध्यक्ष कुम्भनाथ योगीले बताए। बाजुराकै बुढीगंगा नगरपालिका–१ मल्लो कुँडीको सिंगो गाउँ पहिरोको जोखिममा छ। चारैतिरबाट पहिरो बग्न थालेपछि कु“डीमा बसोबास गर्ने १ सय १६ बढी परिवार जोखिममा परेका हुन्।

प्रकाशित: ८ श्रावण २०७७ ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App