coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोना पोजेटिभ देखिएपछि प्रदेश प्रहरी कार्यालय सिल

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालय मंगलबार रातिदेखि सिल गरिएको छ। त्यस कार्यालयका एक जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालय शिल गरिएको छ। संक्रमित प्रहरी विराटनगरको स्थानीय हुन भने पद खुलाइएको छैन। उनलाई ४/५ दिन अघि रुघा र ज्वरो आएपछि होम क्वारेन्टिनमा बस्दै आएको प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक पोखरेलले बताए।  

‘शंका लागेपछि पिसिआर परीक्षण गरेको र मंगलबार राति रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोसी अस्पताल कोभिड उपचार केन्द्रमा भर्ना गरेका छौं,’  पोखरेलले भने।  ‘राति रिपोर्ट आउन साथ कार्यालय भित्रबाहिर गर्न सबैलाई रोक्यौं,’ एसपी पोखरेलले भने, ‘एक खालको शिल नै भन्दा पनि हुन्छ।’ ती प्रहरीको पोजेटिभ रिपोर्ट आएसँगै कार्यालयका सबै काम, भित्रै हिँड्डुललगायत बन्द गरेका छौं। तर, हाम्रो दैनिक गर्नुपर्ने काम कारबाही भने रोकिएको छैन, पोखरेलले भने।

‘प्रत्यक्ष मानिसबाट गर्ने काम बन्द गरेको छौं,’ एसपी पोखरेलले भने, ‘प्रविधिको माध्यमबाट गर्ने काम रोकेका छैनौं। हाम्रो कार्यालय अरु जस्तो प्रत्यक्ष सर्वसाधारणसँग जनसम्पर्क गर्ने नभएकाले पनि कार्यालयभित्र आवतजावत रोक्दा असर पर्दैन।’ उनले भने, ‘ती प्रहरीसँग नजिक भएका ११ जना अन्य प्रहरीको बुधबार पिसिआर परीक्षण गराएका छौं रिपोर्ट आएको छैन।’  

त्यसैगरी प्रदेश १ मा बुधबार ११ जना कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा ४, मोरङ र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरङको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको शिवसताक्षीमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।  

प्रदेश १ मा कोरोना संक्रमितको संख्याको ८ सय ३५ पुगेको छ। प्रदेश १ मा बुधबार ३ जना डिस्चार्ज भएका छन्। कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २ पुरुष र १ महिला डिस्चार्ज भएको अस्पतालले जनाएको छ।  प्रदेश १ मा बुधबार ५ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ। कोरोना परीक्षण गरिएकामध्ये ३६ हजार ७ सय ६६ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

प्रकाशित: ७ श्रावण २०७७ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App