coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आत्महत्या गर्नेको सङ्ख्या बढ्दो, सवारी दुर्घटना घट्दो

तीन वर्षको अवधीमा नुवाकोटमा १ सय ७२ जना नागरिकले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/७५ मा ६१ जना, २०७५/७६ मा ४६ जना र २०७६/७७ मा ६५ जना नागरिकले आत्महत्या गरेका गरेका छन् । अनुसन्धानको क्रममा तीन वर्षको अवधीमा ८८ जनाले आवेसको कारण आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए । प्रहरी प्रमुख काफ्लेको अनुसार गरिवीको कारण ४४, प्रेममा धोका खाएर ६, दीर्घरोगका कारण १०, मानसिक रोगका कारण २१ र अन्य कारणले ३ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले वुधबार सञ्चारकर्मीहरुलाई सहभागी गराएर गत आर्थिक वर्ष २०७६/७७को वार्षिक कार्ययोजना प्रगती विवरण र चालु आर्थिक वर्ष २०७७/७८को कार्ययोजना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार अघिल्लो २ वर्षको तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको थियो । गत वर्ष ११ वटा सवारी दुर्घटना हुदा १३ जनाले ज्यान गुमाएका छन् भने ११ जना घाइते भएका छन् । यस्तै आर्थिक वर्ष २०७५/७६ मा १५ वटा सवारी दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो भने ३५ जना घाइते भएका थिए । २०७४/७५ मा १६ वटा सवारी दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको र ५१ जना घाइते भएका थिए । अघिल्लो २ वर्षको तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ५० प्रतिसतले कमी आएको देखिन्छ । सडकको स्तरोन्नती, चेकजाँचमा कडाई र जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नाले सडक दुर्घटनामा कमी आएको प्रहरी प्रमुख काफ्लेले बताए ।

यस्तै, अघिल्लो २ वर्षको तुलनामा  जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट कारवाहीमा पर्ने सवारीसाधन र राजस्व सङ्कलनमा कमी आएको छ । आर्थिक वर्ष २०७४/७५ मा १९ हजार ९ सय १३ सवारी साधन कारवाहीमा पर्दा १ करोड २५ लाख ५४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने २०७५/७६ मा २२ हजार ६ सय ५६ वटा सवारी साधन कारवाहीमा पर्दा १ करोड ५१ लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । गत वर्ष भने १४ हजार ७ सय ३१ वटा सवारी साधन कारवाहीमा पर्दा १ करोड ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण देशलाई नै लकडाउन गरिएको अवस्थामा १ हजार १० वटा सवारी साधन कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

यस्तै, गत वर्ष जिल्लाको ९५ जना व्यक्ति हराएको उजुरी प्रहरी कार्यालयमा परेको थियो । जसमध्ये महिला ७०, बालक ९ र बालिका १६ जना रहेका छन् । ती मध्ये ५६ जना महिला, ८ बालक र १५ बालिका गरी ७९ जना फेला परिसकेको छ भने १४ जना महिला, १ बालक र १ बालिका अझै भेट्टाउन सकिएको छैन ।

जिल्लालाई शान्ति सुरक्षा कायम गराउन ५ सय ५१ जना दर्जागत दरबन्दी भएता पनि हाल ३ सय २० जना मात्र कार्यरत रहेका छन् । जिल्लाको जनसङ्ख्याको आधारमा एक जना प्रहरीले ८ सय ६८ जना नागरिकको सुरक्षाको जिम्मा लिनुपर्ने अवस्था रहेको छ ।

चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यलयमा बाल निगरानी कक्ष निर्माण गर्ने लक्ष लिएको छ । बाल निगरानी कक्ष निर्माण गर्नलाई विदुर नगरपालिकाबाट ५ लाख रुपैयाँ विनियोजन गरिसकेको प्रहरी प्रमुख काफ्लेले बताए ।

प्रकाशित: ७ श्रावण २०७७ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App