मोरङको पूर्वमा रहेको बक्राहा खोला बग्ने गरेको गाउँका मानिसहरू सधैँ बर्खायाममा त्रासमा बस्ने गरेका छन् । बक्राहा खोलामा तटबन्धन (बाँध) गर्नुअघि वर्षेनी बर्खामा आएको बाढीले खेती गरेको जमिन कटान गर्दै बग्ने गरेको थियो । खोलामा राम्रोसँग बाँध नबाँधेका कारण वर्षेनी त्यस क्षेत्रका बासिन्दा त्रासमा बस्ने गरेका छन् । एक पटक बाँध निर्माण गरेपछि सम्बन्धित निकायले त्यसको निरीक्षण वा अवलोकन गर्दै भत्कन लागेको बाँधलाई मर्मत सम्भार गर्नेतर्फ चासो नदिँदा बक्राहा बगेको गाउँ सधैँ जोखिममा हुने गरेको स्थानीयहरू बताउँछन् ।
मोरङको सुनबर्षी नगरपालिका–७ बाट सोमबार साँझ बाँध फुटाएर बक्राहा खोला बस्तीमा पस्यो । चैता र मल्धैयाको बीच भागबाट करिब १५ मिटर जति बाँध फुटाएर खोलो बस्तीमा पस्दा चार परिवार विस्थापित भएका छन् । प्रहरीका अनुसार त्यहाँ सतारु ऋषिदेव, विलाश ऋषिदेव, बरुण ऋषिदेव र लक्ष्मण ऋषिदेवको परिवार विस्थापित भएका छन् । उनीहरूलाई उद्वार गरी नजिकैको विद्यालयमा सुरक्षित बासस्थानको व्यवस्था मिलाइएको सुनबर्षीका नगरपालिकाका प्रमुख कालीप्रसाद दासले बताए ।
स्थानीय, जनप्रतिनिधि र प्रहरीले रातभर अस्थायी बाँध बनाउँदै नियन्त्रण गरेर खोलोलाई पुरानै धारा फर्काउने प्रयास गरे पनि सम्भव नभएको दासले बताए । बोरामा माटो भर्दै र बाँस गाड्दै खोलो नियन्त्रणको प्रयास गरिएको थियो । खोलो बाँध भत्काएर बस्तीमा बग्न थालेपछि सुकुुम्बासी बस्तीका डेढ सय घरपरिवार जोखिममा परेको दासले बताए । खोलो तत्काल नियन्त्रण गर्न नसके ठूलो धनजनको क्षति हुन सक्ने बताए । ‘हामीले सक्ने प्रयास निरन्तर गरिरहेका छौं,’ दासले भने, ‘यस घटनाको जिल्ला प्रशासन कार्यालयलगायतको निकायमा जानकारी गराइसकेका छौं ।’
त्यस्तै सुनबर्षी–६ कैमी टोलको बाँध बक्राहा खोलाको बाढीले भत्काए पनि तत्कालका लागि सामान्य रोकथाम भएको प्रेम पौडेलले बताए । उनले भने, ‘यहाँ पनि बाँध भत्काएर पानी बस्तीतिर पस्न थालेको थियो । तर, बाँसको जाली बनाए केही रोकथाम भएको छ ।’ २/३ वर्षअघि बक्राहामा आएको बाढीले बाँध भत्काएर पथरीशनिश्चरेको सुँगा डुबान मात्रै भएन त्यहाँको धान रोपेको कयौं विघा जग्गा बगाउनुका साथै बालुवाले पुरिदिएको थियो ।
उनले भने, ‘तीन तहको सरकार छ । तर समय हुँन्जेल कुनै तहको सरकार निरीक्षण गर्न आउँदैनन्, बाढी आएपछि मात्रै सबै हेर्न आउँछन् ।’ ‘बक्राहाको मुहानदेखि नै बाँधको राम्रोसँग निरीक्षण गर्दै बाढीले भत्काउन सक्ने ठाउँको पहिचान गरी समयमा नै काम गरे ठूलो धनजन बच्ने थियो,’ पौडेलले भने, ‘तर, बाँध बनाएपछि अहिलेसम्म त्यसको निरीक्षण गर्ने काम भएको थाहा छैन र ठाउँ–ठाउँ बाँध भत्किएको हुँदा जोखिम अझ धेरै छ ।’
प्रकाशित: ६ श्रावण २०७७ १२:२५ मंगलबार