८ वैशाख २०८१ शनिबार
समाज

नगरपालिकाको लेटरहेडमा चाम्लिङ भाषा

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कार्यालयको लेटरहेडमा चाम्लिङ भाषालाई प्रयोगमा ल्याएको छ । आर्थिक वर्ष २०७७/०७८ मा चाम्लिङ भाषालाई पनि सरकारी कामकाजकाक्रममा मान्यता दिने नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले आफ्नो कार्यालयको लेटरहेडमा चाम्लिङ भाषालाई पनि प्रयोगमा ल्याएको हो । नगरपालिकामा चाम्लिङ राईको बाहुल्यता रहेको आधारमा स्थानीय पहिचानलाई प्रवर्धन गर्न नगरपालिकाको लेटरहेडमा चाम्लिङ भाषालाई पनि प्रयोगमा ल्याइएको मेयर इवन राईले बताए । चाम्लिङ भाषालाई पनि समावेश गरिएको लेटरहेड साउन १ गतेदेखि प्रयोगमा ल्याइएको नगरपालिकाले जनाएको छ ।  

यस्तै, वाम्बुले राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा तिलुङ भाषालाई पनि सरकारी कामकाजमा मान्यता दिने नीति पारित भइसकेको छ । त्यी वडा कार्यालयको लेटरहेडमा पनि वाम्बुले र तिलुङ भाषालाई प्रयोगमा ल्याइने मेयर राईले बताए । ‘पर्वते लगायतका अन्य भाषालाई विस्थापित गर्ने भनिएको होईन, बाहुल्यताका आधारमा यी भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने भनिएको हो,’ मेयर राईले भने, ‘बाहुनीडाँडा र डिकुवामा अझै पनि पर्वते भाषा नबुझ्ने वाम्बुले रहेछन् । भाषा नजान्ने शिक्षकले पठन–पाठन गर्न सक्ने अवस्था छैन । आफ्नो भाषामा मात्र सम्वाद गर्ने नागरिकको सहजताका लागि उनीहरुको भाषालाई पनि सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णय गरिएको हो ।’  

११ वडा रहेको नगरपालिकामा ५१ प्रतिशत किरात राईको बसोबास रहेको छ । किरात समुदायको भाषा, संस्कार र संस्कृतिको अध्ययन अनुसन्धान गरि साँस्कृतिक नगरपालिकाकोरुपमा परिचित गराउने लक्ष्यका साथ नगरपालिकामा ऐतिहासिक कागजात तथा दस्तावेजहरु संकलन गरि प्रकाशन गरिने मेयर राईले बताए ।  

नगरपालिकाले तुवाचुङमा चुल्हो माङखिम (घर) निर्माणका लागि १५ लाख, हलेसी मन्दिर परिषरमा किरात संस्कृति मन्दिर निर्माणका लागि १० लाख, ऐतिहासिक दस्तावेज संकलनका लागि पाँच लाख, होलेसुङ पार्क निर्माणका लागि पाँच लाख, चाम्लिङ भाषाको शव्दकोष निर्माणका लागि तीन लाख, चाम्लिङ भाषाको कक्षा सञ्चालनका लागि दुई लाख र स्थानीय पाठ्याक्रम निर्माणका लागि दुई लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित: ६ श्रावण २०७७ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App