६ वैशाख २०८१ बिहीबार
समाज

डोजरले रोजगारी खोसेपछि...

बेरोजगारीले रित्ताएका घर

आइतबार दिनभर प्युठानको भिङग्री प्राथमिक स्वास्थ्य केन्द्र वरपर शवको पोष्टमार्टम कुर्दै बसेका आफन्तहरु ।

चरम बेरोजगारीका कारण रोल्पाका ७ घर क्षणभरमै रित्तिएका छन् । शनिबार राती प्युठानमा भएको भयानक दुर्घटनाले रोल्पा होलेरी नजिकै रुमाले गाउँका ६ घर र त्रिबेणीको एक घर उजाडिएको हो । उर्जाशिल उमेरका ७ युवक रोजगारी र त्यसपछिको प्रतिफलको आशासहित मजदुरीमा हिडेका थिए । खाना, नाना र छानाको जोहो गर्न मजदुरीका लागि हिडेका उनिहरुले सबैलाई रुवाएर संसार छाडे ।

घरछेउमा आएको भनिएको स्थानीय सरकारले रोजगारी सृजना नगर्दा बाहिरी जिल्लामा मजदुरी गर्न हिडेका एकै टोलका ६ सहित ७ जना रोल्पालीले ज्यान गुमाएका हुन् । वर्षेनी करोडौ बिकास बजेट सक्याउने स्थानीय तहहरुले डोजरको प्रयोग गर्न थालेपछि उस्तै प्रकृतीको काम गर्न रोल्पाली युवा बाहिरी जिल्ला, भारत वा बैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने गर्दछन् । डोजरले रोजगारी खोसेपछि विदेशिने वा जिल्ला बाहिर मजदुरी गर्न जाने रोल्पालीले हरेक वर्ष बिभिन्न दुर्घटनामा ज्यान गुमाई रहन्छन् ।

शनिवार राती प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो । प्यूठान स्वर्गद्धारी नगरपालिका वडा नम्बर २ स्थित रुमाले भन्ने स्थानमा लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको हो । रोल्पा रुन्टीगढी गाउँपालिका ५ रुमालेका वर्ष २१ का सागर बस्नेत, वर्ष २४ का रिमबहादुर बस्नेत, वर्ष २५ का कबिराम बस्नेत, वर्ष १९ का बिरेन्द्र बाठा मगर, वर्ष १९ का थमन बाठा मगर, उमेर नखुलेका गोर्बधन बुढामगर र रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक वर्ष २५ कमल कुँवरले शनिबार राती भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाए ।

१९ देखि २५ वर्ष उमेरका ति युवाको मृत्युले यतिबेला रुमाले गाउँ शोकमा डुबेको छ । अब मृतकको घर परिवार, श्रीमती र बालबच्चाको बिचल्ली हुनेछ । आइतबार दिनभर प्युठानको भिङग्री प्राथमिक स्वास्थ्य केन्द्र वरपर शवको पोष्टमार्टम र राहतका विषयमा छलफलका लागि बसेका परिवारजनको आखा बगिरहेको थियो । ठूलो संख्यामा प्युठानको भिङग्री पुगेका मृतकका आखा रसाईरहदा रोल्पाली जनप्रतिनिधिहरुलाई घरछेउमा रोजगारी सृजना नगर्नुको पीडाबोध भने भएको थिएन ।

सडक निर्माणको काम गर्ने ति मजदुरहरु साउने संक्रान्ति मनाएर काममा फर्कने क्रममा ट्याक्टर दुर्घटनमा परेको थियो । रोल्पामा अलि बिशेष महत्व दिईने साउने संक्रान्ति मनाएर परिवारसंग छुट्टिएका युवाहरु अब कहिल्यै घर फर्किने छैनन् । लामो समय चलेको लकडाउनको समयमा गतिलो आम्दानी गर्न नसकेका युवाहरु आउदै गरेका तिज, दशै, तिहार जस्ता चाड अनि परिवारको पेटको जोहो गर्ने आशामा प्युठान झरेका थिए ।

चरम गरिबी र चर्को बेरोजगारीका कारण रोल्पाका धेरै युवाहरु देशभित्र र बाहिर मजदुरीका लागि जाने गर्दछन् । उपत्यका तिरका ईट्टाभट्टा, रसुवा, गोरखा, मुस्ताङ, पोखरा लगायतका जिल्ला पुग्ने रोल्पाली जहिले पनि जोखिममा रहन्छन् । परिवारको लालनपालन गर्ने जिम्मेवारी बोकेका युवाहरुको मृत्युले रुमालेसंगै सिंगो रोल्पा दुखेको छ । बिगतको शसस्त्र द्धन्द्धमा दशकसम्म रोएको रोल्पा समय समयमा घट्ने यस्ता दुःखद घटनाले रोईरहने गर्दछ ।

आइतबार ५ न. प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसिले समबेदना दिन बिज्ञप्ती निकाले पनि उनिहरुलाई राहत वा सहयोग दिने विषयमा केहि उल्लेख गरेका छैनन् । त्यस्तै रुन्टीगढी गाउँपालिकाले पनि सहयोग वा राहत विषयमा केहि बोलेको छैन । मृतक युवा र उनका परिवारको भोटले चुनाब जितेका जनप्रतिनिधिहरु संकटमा काम नआएको भन्दै स्थानीयले चित्त दुखाएका छन् ।

प्रकाशित: ४ श्रावण २०७७ १३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App