७ वैशाख २०८१ शुक्रबार
समाज

खुल्यो अवरुद्ध सिद्धार्थ राजमार्ग

सद्धार्थ राजमार्गको पहिरो खसेको स्थान । तस्बिरः मुक्ति/नागरिक

पहिरो र ढुङ्गा खसेका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार साँझबाट सुचारु भएको छ । तानसेन नगरपालिका–८ गौडेपुलनजिकै शुक्रबार राती पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । यस्तै शनिबार राती तिनाउँ गाउँपालिका–३, पैठेडाँडाबाट ठूला ढुङ्गा सडकमा खस्दा सडकपूर्ण रुपमा बन्द भएको थियो ।

पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले पहिरो खसेको स्थानमा एकतर्फी रुपमा बाटो सुचारु गरिएको बताए । उनी भन्छन्, ‘एकतर्फी रुपमा साँझ ५ बजेदेखि बाटो सञ्चालनमा आएको छ । केही समय मौसमले साथ दिए पूर्ण रुपमा राजमार्ग सुचारु हुनेछ ।’ शुक्रबार रातीदेखि रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । पैठेडाँडामा खसेका ढुङ्गा पनि हटाई बाटो पूर्ण रुपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तानसेन–बुटवल सडकखण्डको गौडेपुलमा पहिरो खसेको स्थानमा पुरिएको लु २ ख ११७५ नम्बरको ट्रक शनिबार नै निकालिएको थियो । पहिरो सफा गर्ने काम शनिबार दिनभर गरे पनि सफल हुन सकेको थिएन । आइतबार बुटवलबाट थप हेभीइक्युपमेन्ट झिकाएर बाटो सुचारु गरिएको हो ।

एक सय ५० मिटर मिटर माथिदेखि ढुंगा, गिट्टीसहित ५० मिटर लामो पहिरो खसेका कारण सयौं यात्रु बाटोमै अलपत्र थिए । गौडेपुल नजिक एक साताअघिदेखि नै पहिरो खस्न सुरु भएको थियो । बाटो सुचारु भएपनि पानी पर्नासाथ फेरि खस्ने जोखिम कायमै रहेकोले सावधानी अपनाएर यात्रा गर्न जिल्ला ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित: ४ श्रावण २०७७ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App