७ वैशाख २०८१ शुक्रबार
समाज

सोमबारदेखि गाडी चलाउने निर्णय भएको छैन : महासंघ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म निर्णयमा नपुगिएको महासंघको भनाइ छ ।

सरकारले गत असार २३ गते छोटो दूरीमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेपछि व्यवसायी र मजदुर संगठन नियमित रूपमा विभागसँग छलफल गरिरहेका छन् । मजदुरको कोरोना बिमा र चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा अहिले विभागमा सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल भइरहेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

केही दिन पहिले मात्रै काठमाडौँ उपत्यकाका केही स्थानीय तहका प्रमुखसँग सवारीसाधन चढ्नु पहिले हात धुन साबुनपानीको व्यवस्था कसले गर्ने भनी छलफल भएको थियो । उनले भने, ‘सार्वजनिक सवारीसाधनबाट संक्रमण नफैलियोस् भनेर तयारी गरेर मात्रै चलाउने गरी हामी नियमित छलफलमा छौं ।’

केही दिन पहिलेदेखि काठमाडौँ उपत्यकालगायत सहरमा केही सार्वजनिक सवारीसाधन चलिरहेका छन् । तर धेरैजसो सवारीसाधन चलाइएका छैनन् । कोभिड–१९ को संक्रमण फैलिएका बेला सवारीसाधन सञ्चालनका लागि विभागले गत महिना निर्देशिका बनाए पनि त्यसमा स्वास्थ्यका विषय नसमेटिएको महासंघले बताइरहेको छ ।  

कार्यविधिमा परिमार्जन नभएसम्म अहिले नै सवारीसाधन सञ्चालन गर्ने वातावरण नबनेको महासंघका महासचिव सिटौलाको भनाइ छ । मजदुरको स्वास्थ्य बिमा, कुन कुन ठाउँबाट यात्रु चढ्ने, हात धुने ठाउँको व्यवस्थालगायत विषयमा बृहत् तयारी गरिरहेको उनले बताए ।  

उनले भने, ‘सार्वजनिक सवारीसाधन सञ्चालन कसरी हुनेछ भनी हामी चाँडोभन्दा चाँडो पत्रकार सम्मेलनमार्फत जानकारी गराउनेछौँ ।’ काठमाडौँ उपत्यकामा साझा यातायात, सुन्दर यातायात, संयुक्त यातायातलगायत केही कम्पनीले भने थोरै संख्यामा बस सञ्चालन गर्न थालेका छन् ।

प्रकाशित: ४ श्रावण २०७७ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App