८ वैशाख २०८१ शनिबार
समाज

खोटाङमा ८० प्रतिशत रोपाइँ सकियो

खोटाङको खार्मीस्थित तापखोला किनारमा रहेको खेतमा धान रोप्दै महिला । तस्बिर : दमन/नागरिक

खोटाङमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएकामा आइतबारसम्ममा ८० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो । 

यस वर्ष बेलैदेखि पर्याप्त बर्षा भएका कारण तीव्र गतिमा रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले बताए । जिल्लामा कुल १४ हजार १५९ हेक्टर खेत भए पनि १२ हजार ८९८ हेक्टरमा धान लगाउने गरिएको छ । लकडाउन नै भए पनि हाल किसानलाई आ–आफ्नो खेतमा धान रोप्न भ्याइ–नभ्याइ छ ।

बेँसी क्षेत्रमा लगाइएको चैते धान र मकै भित्र्याउन बाँकी भएकाले बेँसी क्षेत्रमा भने रोपाइँ हुन बाँकी छ । चैते धान र मकै भित्र्याएपछि बेँसी क्षेत्रमा रोपाइँ हुने ज्ञान केन्द्रका प्रमुख राईले बताए । तर जिल्लाका स्थानीय तहबाट हालसम्म रोपाइँ भएको प्रतिशत बारे तथ्यांक उपलब्ध नभएको ज्ञान केन्द्रले जनाएको छ । ‘आजसम्ममा ८० प्रतिशत रोपाइँ सकिएको अनुमान गरिएको छ,’ ज्ञान केन्द्रका प्रमुख राईले भने, ‘तर कुन पालिकामा कति प्रतिशत रोपाइँ भए भन्ने जानकारी भने पाउन सकिएको छैन ।’

सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाइँ हुने गरे पनि सिञ्चित र असिञ्चित प्रकारको खेतमा बर्षा भएपछि मात्र रोपाइँ हुने गरेको छ । सिञ्चित खेतमा जुनसुकै समयमा रोपाइँ गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाइँ हुने असिञ्चित खेतमा बर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् । जिल्लाको दिक्तेल, नेर्पा, खार्पा, हौंचुर, दोर्पाचिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछितापोखरी, सिमपानी, ईन्द्रेणीपोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावाकटहरे लगायतका ठाउँमा सबैभन्दा बढि धान खेती हुने गरेको छ । सिञ्चित ११ हजार ४०० हेक्टर र आकाशे पानीको भरमा रोपाइँ हुने ३ हजार ८०२ हेक्टर असिञ्चित जग्गामा धान रोपाइँ हुने गरेको छ ।

प्रकाशित: ४ श्रावण २०७७ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App