coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अझैं खुलेन पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग (फोटो फिचरसहित)

चालक राजकुमार थापा, ट्रकभित्रै खाना पकाउँदै। तस्वीरः मुक्ति÷नागरिक

पहिराेले शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार (आज) पनि खुलेको छैन। तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। शनिबार दिनभर सडक खुलाउन डोजर प्रयोग गरिए पनि पहिरो खस्नेक्रम नरोकिएपछि समस्या थपिएको छ। यस्तै शनिबार राति तिनाउँ गाउँपालिका–३, पैठेडाँडाबाट ठूला ढुङ्गा सडकमा खस्दा सडक पूर्ण रुपमा बन्द भएको छ।  

शुक्रबार खसेको पहिरो सफा गर्ने क्रममा तिनाउँ खोला समेत थुनिन सक्ने सम्भावना बढेको स्थानीयले बताएका छन्। पहिरो खसेको स्थानमा पुरिएको लु २ ख ११७५ नम्बरको ट्रक निकालिएको छ। ट्रकमा रहेका चालक र सहचालकले भने भागेर ज्यान जोगाएका थिए। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले पहिरो खसेको स्थानमा पुरिएको ट्रक निकालिएको तर पहिरो पूर्णरुपमा पन्छाउन नसकिएको बताए।

पहिरो खस्ने क्रम नरोकिएकोले जोखिम भने कायमै रहेको प्रभाष प्रहरी चौकी प्रमुख एक्क बहादुर नेपालीले बताए। उनी भन्छन्, ‘दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ। पानी पर्नासाथ फेरि खस्ने जोखिम कायमै छ। पहिरो सफा गर्ने काम शनिबार दिनभर गरे पनि सफल हुन नसकेको थप पहिरो नखसे आइतबार साँझसम्म सडक सुचारु हुनसक्छ।’  

पाल्पादेखि बुटवलका लागि हिँडेका चालक गुँरास आत्रेयले डिभिजन सडक कार्यालयले सडक सुधारमा आवश्यक चासो नदेखाएको आरोप लगाए। उनले वर्षभरी कार्यालयले कहाँ के गरेर करोडौ रकम खर्च गर्छ भन्दै प्रश्न गरे। अर्का चालक राजकुमार थापाले आफूले लकडाउनका कारण बाहिर केही खान नपाएपछि ट्रकमै पकाएर खान बाध्य भएको बताए।  

राजमार्गको डुम्रे गौडेपुल नजिकैको भीरबाट शुक्रबार पनि पहिरो खसेर शुक्रबार पनि सडक अवरुद्ध भै साँझमात्र सञ्चालनमा आएको थियो। एक सय ५० मिटर मिटर माथिदेखि ढुंगा, गिट्टीसहित ५० मिटर लामो पहिरो खसेको छ।  

एक साताअघिदेखि नै पहिरो खस्न सुरु भएको हो। पहिरोको ढुंगा माटोले डुम्रे खोलालाई अवरुद्ध पार्ने भएकाले मिलाई–मिलाई पन्छाउनुपर्ने अवस्था रहेको प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए। पाल्पा, गुल्मी, अर्धाखाँची, स्याङजा, पर्वत, कास्की लगायतका जिल्लाका सयैंके संख्यामा यात्रु अलपत्र छन्। केही नारायणगण चितवन हुँदै यात्रा गरेका छन्।  

चालक राजकुमार थापा, ट्रकभित्रै खाना पकाउँदै।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेका यात्रु इश्वर काफ्लेले जतिबेला पनि पहिरो खस्ने जोखिम कायमै रहेको र पहिरो सफा गर्न २ दिन लाग्न सक्ने देखिएकोले आफूहरू बुटवलतर्फ नै फर्किएको बताए। ‘नदेखिने गरी माथिल्लो भागबाट पहिरो खसेको छ,’ उनले भने, ‘पानी पर्ने हो भने यहाँको यात्रा कठिन हुनसक्छ।’

प्रकाशित: ४ श्रावण २०७७ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App