सुनसरीको वराह क्षेत्रका दुई वडामा विभाजित श्रीलंका टापु सप्तकोशीको पूर्वी र पश्चिमी भङ्गालोको बिचमा अवस्थित छ । सप्तकोशी पूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको मुख्य भङ्गालो पार गरेर करिव ३ किलोमिटर पार गरेपछि श्रीलंका टापु आउँछ । पछिल्लो समय सुनसरीबाट उदयपुरको बेलका नगरपालिकाबाट पनि श्रीलंका टापु पुग्न सकिन्छ । आखाले देखिने क्षितिज भन्दा निकै टाढासम्म फैलिएको वस्तीमा बग्रेल्ती कच्ची घरहरु छन् । जताततैबाट हिड्न सकिन्छ । श्रीलंका टापुमा १२ हजारभन्दा बढीको बस्ती छ । यो बस्ती बराह क्षेत्र वडा नं. ६ र ९ को आधाजसो भाग पर्छ ।
मधेशको आदिवासी चन्दवंशी लगायत सबैखाले जातजाती पहाडका राई, लिम्बु, वाहुन क्षेत्री, मगरको बसोबास भएको बस्तीभन्दा पश्चिमतर्फ अहिले उदयपुरको बेलका नगरपालिकाले घेराबार गरिरहेको छ । कोशीबाट घेरिएको बस्ती सरकार भन्दा निकै टाढा छ । टापुका मतदाता चुनावका बेलामा भोट हाल्न कोशी पूर्वको बराह क्षेत्र आउँछन् । भोट हाल्छन् त्यो बाहेकको राज्यसँग अरु धेरै लेनदेन देखिदैन उनीहरुको । जसले गर्दा स्थानीय सरकारले आफ्नो नगरको नागरिकको हिसावले श्रीलंका टापुका बासीन्दालाई व्यवहार गर्नुपर्ने त्यो गर्न सकेको छैन ।
यस्तो बेला बेलका नगरपालिकाले श्रीलंका टापुको बस्तीदेखि पश्चिमतर्फ झन्डै एक हजार विघा जग्गा घेराबेरा गरिरहेको छ । श्रीलंका टापुका बासीन्दाले भने सुनसरी र उदयपुरको सीमा विवाद रहेकाले गर्दा विवाद टुंगो लगाएर मात्र गर्न माग गरेका छन् । शुक्रबार भेला भएका स्थानीयले दुई पक्षका नगर प्रमुख समक्ष सीमा विवाद टुंगो लगाएर घेराबेरा गर्न आग्रह गरेपनि अटेर गरेपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रम अन्तर्गत साउन ४ गते बराह क्षेत्र नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने, साउन ५ गते बराह क्षेत्रका राजनीतिक दलका नेतृत्वकर्तालाई आन्दोलनप्रति प्रतिबध्दता व्यक्त गराउने, साउन ६ गते नगरपालिकामा तालाबन्दी गर्ने, विवाद साम्य नहुँदासम्म घेराबेराको काम रोक्नुपर्ने र यदि कुनै अप्रिय घटना भए बराहक्षेत्र तथा बेलका नगरप्रमुखले जिम्मेवारी लिनुपर्ने बताएका छन् । आन्दोलनको नेतृत्वकर्ता प्रल्लाद चन्द्रवंशीले तल्लो स्तरका जनतालाई दुवै नगरपालिकाका तर्फबाट प्रस्ट कुरा बुझाउन नसक्दा समस्या भएको बताए ।
श्रीलंका टापुका बासीन्दाले शनिबार प्रदेश नं. १ का उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री जगदीस कुसियतसमक्ष पनि भेट गरेर समस्या राखेका छन् । मन्त्री कुसियतले बराहक्षेत्र र बेलका दुवै नगरपालिकाका मेयरलाईं राखेर विवाद सुल्झाउने वचन दिए । श्रीलंका टापुका बासीन्दाले आइतबार पुनः प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईंलाई भेटर समस्या राख्ने भएका छन् ।
कृषि र पशुपालनमा निर्भर रहेको कोशी टप्पुका बासीन्दा सवै जना ऐलानी जग्गामा बसोबास गर्छन् । ‘हाम्रो नम्बरी जग्गामा अहिले कोशी बगी रहेको छ । त्यतिबेला सरकारले हाम्रो जग्गाबाट कोशी बगेपछि पश्चिमतर्फ ऐलानी जग्गामा ल्याएर राख्यो, हामीलाई मुआब्जा वा क्षतीपूर्ति दिए भई हाल्यो नि,’ युदिष्ठिर चन्द्रवंशीले भने, ‘एकातिर हामी कोशी पीडित अनि हामीले भोगचलन गर्दै आएको जग्गा घेराबेरा गरेर हामीलाई नै निसाना ।’
श्रीलंका टापुका बासीन्दालाई घेराबेरा गर्नुको उद्देश्यबारे प्रस्ट नपार्दा विस्तारै विस्तारै आफूले उपभोग गर्दै आएको जग्गा पनि घेराबेरा हुने होइन ? भन्ने कुराले त्रास सृजना भएको छ। ‘नम्बरी जग्गा कोशीले बगाएको छ अहिले अहिले उपभोग गरेको जग्गा बिस्तारै नियन्त्रणमा लिने स्थानीयमा त्रास हो,’ रामकुमार चन्द्रवंशीले भने ।
बराहक्षेत्र नेकपाकी नेतृ संगीता किरातीले सीमा विवाद टुंगो नलगाईकन किन ? जनतालाई आतंकित पारेर विकास गर्न परेको त्यसलाई साम्य पार्नुपर्ने बताइन् । ‘हाम्रो भूमिमा बेलकाको किन हस्तक्षेप?’ उनले भनिन् ‘विकास गर्ने हो भने जनतालाई भनेर गर्न पर्यो ।’ नेकपाकै अर्का नेता नरेन्द्र बस्नेतले पनि दुई पक्षीय विवाद टुग्यउनुपर्ने बताए । बेलका नगरपालिका वडा नं. २ का धुब्र कोइरालाले भने दुई पक्षीय सहमति अनुसार काम अघि बढेको जिकिर गरे ।
बेलका नगरपालिकाका मेयर दुर्गा थापाले पनि बराहक्षेत्र र बेलका नगरपालिकाकाबीच असार १४ गते बैठक बसेर सहमतिमै काम अघि बढाएको बताए । ‘प्रदेश सरकारले ७० लाख रुपैयाँ लगानी लगाएपछि कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको सरकारी जग्गा झन्डै एक हजार विघा घेराबेरा गर्न थालिएको हो,’ उनले भने, ‘आरक्षकै सहमतिमा सार्वजनिक जग्गा संरक्षण गर्ने नीति अनुसार घेराबेरा गर्न थालिएको हो । यसमा राष्ट्रिय अनुसन्धान केन्द्र बनाउने योजना छ ।’ सीमा विवादको टुंगो प्रदेशले लगाउनुपर्ने भएपनि त्यसमा पनि ढिलाई भएको मेयर थापाले बताए । बेलका नगरपालिकाले अघिल्लो वर्ष श्रीलंका टापुकै सार्वजनिक एक सय ६० विगाहा जग्गा घेराबेरा गरेको थियो । ‘रातरात सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा बनाउने क्रम बढेकाले गर्दा संरक्षण गर्न बेराबेरा गरेपनि यदि सीमांकन गर्ने क्रममा सुनसरीको भूभाग सुनसरीलाई दिनेछ,’ मेयर थापाले प्रस्ट्याए ।
बराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगरले भने श्रीलंका टापुका बासीन्दाले उठाएको माग जायज भएको बताइन् । ‘श्रीलंका टापुकको सीमा विवाद पहिलेदेखि नै हो, यसलाई बेलकाले सामान्य रुपमा लिएको छ,’ उनले भनिन्, ‘जनताको हितका निम्ति हामी जनप्रतितिनिधि भएका हौं । श्रीलंका टापुका बासीन्दाले राखेका माग जायज छन् । ती माग पुरा हुनैपर्छ ।’ उनले दुई पक्षीय मेयरबीच सहमति भएपनि चितबुझ्दो नभएको बताइन् । उपप्रमुख मगरले सीमा विवादीत रहेको स्थानमा बेलकाले कृषिको बजेट बराहक्षेत्रसँग समन्वय नै नगरिकन लगानी गर्ने गरेकाले गर्दा हेपाहा व्यवहार गरेको पनि दुखेसो गरिन् ।
टापुमा धान कमै फल्छ, गहुँ, मकै कोदो मुख्य उत्पादन हो । यहाँका बासीन्दाले पशुपालन र तरकारीबाट मनग्ये आम्दानी गर्छन् । गोठबाट दाम्लो फूकालेर छोडेपछि एकै पटक साँझपख बस्तुभाउ खोज्दा हुने चरनको प्रचुर सम्भावना देखिन्छ ।
पाँच दशक अघि कोशीका दुबै किनारामा तटबन्ध थिएनन् । कोशी पश्चिमबाट बग्थ्यो । त्यसबेला श्रीलंका टापु थिएन । अहिले कोशी पूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बिचमा टापु बन्न पुगेको हो ।
प्रकाशित: ३ श्रावण २०७७ १३:१३ शनिबार