८ वैशाख २०८१ शनिबार
समाज

उदयपुरमा बलात्कार अभियुक्त ६ वर्षपछि पक्राउ

जवरजस्ती करणी आरोपमा सजाय पाए पनि ५ वर्षदेखि फरार रहेका उदयपुरका एक अभियुक्त पक्राउ परेका छन्। स्थानीय एक महिलामाथि जवरजस्ती गरेको आरोपमा जिल्ला अदालतले ६ वर्षअघि ५ वर्ष कैद सजायको फैसला सुनाए पनि फरार रहेका त्रियगा नगरपालिका–६ जलजलेका ३३ वर्षीय देव राई शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीका अनुसार जवरजस्ती मुद्धामा उनलाई अदालतको ०७१ साउन १७ गतेको इजालसले दोषी प्रमाणित गरी कैद सजाय तोकेको थियो। तर, त्यसबेलादेखि नै फरार उनी घरमै रहेको भन्ने विशेष सुराकीको आधारमा टोली खटाएर पक्राउ गरिएको हो। पक्राउ परेलगत्तै उनलाई सजाय भुक्तानका लागि जिल्ला अदालत पठाइएको डिएसपी पुरीले बताए।  

३ दिनअघि मात्र अर्का फरार अभियुक्त १० वर्षपछि प्रहरी फन्दामा परेका थिए। त्रियुगा नगरपालिका ६ कै ३२ वर्षीय टंकबहादुर विश्वकमाई सवारी ज्यान मुद्धामा ०६७ असोज १४ गते बसेको जिल्ला अदालतको फैसलाले दोषी प्रमाणित गरेको थियो। २० दिन कैद र २ हजार जरिवानको फैसला सुनाइएका उनी त्यसबेलादेखि नै फरार थिए। उनलाई पनि घरबाटै पक्राउ गरिएको र अदालती कारबाहीका लागि जिम्मा दिइएको प्रहरीले जनाएको छ।  

आर्थिक वर्ष सुरुको साउन लाग्दै २ जना फरार पक्राउ परिसकेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहाल बताउँछन्। उनका अनुसार पछिल्लो समय अपराधी प्रमाणित भए पनि अदालत र प्रहरीको नजरमा फरार रहेकाहरुको धमाधम खोजी गर्दै पक्राउ गर्ने क्रमलाई अभियानको रुपमा चलाइएको छ। यस अन्तर्गत दैनिक एकजनाका दरले फरार अभियुक्तहरु पक्राउ पर्ने गरेको एसपी दाहालले बताएका छन्।  

सर्वोच्च अदालतले अपराधी करार भईसकेका तर, अदालत र प्रहरीको नजरमा ‘फरार’ सूचीमा रहेर गाउँघरमै लुकि बस्नेहरुलाई नियन्त्रणमा लिएर कैद र जरिवाना रकम असुल्न गृह मन्त्रालयलाई गरेको आग्रह अनुसार प्रहरीले अभियान चलाएको जनाइएको छ। दुईवर्षयता देशभर चलाइएको अभियानले फैसला भएको वर्षौं कैद बक्यौता र करोडौंबराबरको विगो जरिवाना रकम संकलन भईरहेको जिल्ला अदालत उदयपुरले जनाएको छ।  

प्रकाशित: ३ श्रावण २०७७ ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App