१५ चैत्र २०८० बिहीबार
समाज

बुद्धचोकमा चिण्डोको प्रतिमा अनावरण

तस्बिर : रोहित राई

धरानको महत्वपूर्ण चोकमध्येको एक वडा नं १८ स्थित बुद्धचोकमा किरातीहरुको महत्वपूर्ण साँस्कृतिक सामग्री वाबु(चिण्डो)को प्रतिमा स्थापना गरिएको छ । धरान–चतरा सडकखण्डसँगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने सडकमा रहेको बुद्ध चोकमा बुधबार एक कार्यक्रमबीच भाषाविद् प्रा.डा.टंक न्यौपानेले चिण्डोको प्रतिमा अनावरण गरे । करिब १४ लाख लागतमा स्थानीय दाता र वडा कार्यालयको बजेटबाट प्रतिमा बनेको हो । कलाकार महेन्द्र राईले फाइबरबाट कलात्मक वाबु बनाएका हुन् । पाँच फिट ४ इञ्चको बेसमाथि ९ फिट अग्लो चिण्डो राखिएको छ ।  

चिण्डोको बेसमा किराती सँस्कृती झल्काउने रिलिफ आर्ट कुँदिएको छ । त्यहाँ यलम्बर, एउटामा सुम्निमा पारुहाङ, एउटामा साकेला नाच, एउटामा च्याब्रुङ नाच, एउटामा ढोल झ्याम्टा, सिलिमा पोमीलगायत सँस्कृति झल्काउने कला छन् । चिण्डो किरातीहरुको सम्पूर्ण कार्यहरुमा आवश्यक पर्ने महत्वपूर्ण सामग्री हो । किरातीहरुले चिण्डोभित्र रक्सी राखेर महत्वपूर्ण संस्कारमा प्रयोग गर्छन् । चिण्डोको अनावरण अघि विधिवतरुपमा किरात संस्कार अनुसार मुन्धुम विधि गरिएको थियो । मुन्धुम विधि गर्ने नाक्छोङ(धामी)लाई किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव शुभचन्द्र राईले फेटा गुथेर सम्मान गरिएको थियो ।  

प्रमुख अतिथि डा.न्यौपानेले चिण्डो प्राचीन सँस्कृति भएको धारणा प्रतिमा बनाएर सँस्कृतिको संरक्षण भएको साथै संस्मरण पनि गराएको बताए । बहुसंस्कृतिमा मात्र राष्ट्रियता झल्कने डा.न्यौपानेको भनाई थियो । ‘साँस्कृतिक चेतना र साँस्कृतिक विकासको उदाहरणको रुपमा अनावरण भएको चिण्डोलाई लिन सकिन्छ,’उनले भने ।

धरानका मेयर तिलक राईले पनि सबैको संस्कार, सँस्कृतिलाई समानरुपमा सम्मान गरिने बताए । विगतमा बुद्धचोकमा बुद्धको मुर्ति राख्ने भन्दा बौद्ध धर्मावलम्बीबाट नै फोहोर मैला र अशुद्ध हुने भएको कारण राख्न नहुने सल्लाह आएकोले पछि हटेको उनको भनाई थियो । ‘म पनि यही बुद्धचोकमा जन्मिए, हुर्किए । मलाई अगाध माया, स्नेह छ,’चोकको नाममा भएको विवादबारे लक्षित हुदै उनले भने,‘बुद्धको मुर्ति हटाएर वाबु राखिएको होइन । सबैको संस्कार, सँस्कृतिलाई उतिकै मान, सम्मान गर्नुपर्छ, र गछौं ।’

प्रतिमा निर्माण समितिका अध्यक्ष बृष चाम्लिङ राईका अनुसार चोकमा वाबु(चिण्डो) निर्माण स्थापना गर्नेबारे २०७० सालदेति नै स्थानीयबासीहरुमा छलफल भएको थियो । स्थानीय दाता स्वर्गीय नरप्रसाद राईको परिवारबाट पनि सहयोग भएको उनले बताए ।

प्रकाशित: १ श्रावण २०७७ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App