coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उपचार अभावमा ज्यान गुमाएका राजु र वीरेन्द्रसहित तीन परिवारलाई प्रदेश सरकारको ५ लाख

उपचार नपाएर मृत्यु भएका धनुषाका राजु सदा र वीरेन्द्र गुरमैता यादवसहित अकालमै ज्यान गुमाएका तीन परिवारलाई प्रदेश २ सरकारले राहत प्रदान गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले बिहीबार मृतक तिनै जनाको परिवारको घरमै पुगेर पाँच/पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । कोभिड अस्पताल जनकपुरमा उपचार अभावले अन्तिम समयमा प्रादेशिक अस्पतालमा ज्यान गुमाएका हंसपुर नगरपालिका-७ का राजु, भारतबाट आउने क्रममा जटही नाकामै मृत्यु भएका वीरेन्द्र र इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमै आत्महत्या गरेको भनिएको शम्भु सदाको घरमा पुगेर मुख्यमन्त्री राउतले चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री राउतसँगै चेक हस्तान्तरण गर्न प्रदेशका मुख्य न्यायधिवक्ता दिपेन्द्र झा र समाजवादी पार्टीका संदीय दलका उपनेता रामअशिष यादव समेत पुगेका थिए । मुख्यमन्त्री राउतले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गराएको बताएका थिए । उनले घटनामा संलग्न दोषी उम्किन नपाउने उल्लेख गर्दै प्रदेश सरकारले दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाए ।

प्रि-आइसोलेसन कक्षमा उपचार अभावमा मृत्यु भएको राजु सदाको घटनामा संसदीय समितीले छानविन गरिरहेको छ भने वीरेन्द्र शम्भु सदाको घटनामा उनको परिवारले किटानी जाहेरी दर्ता गराएका छन् । तर वीरेन्द्र गुमैताको घटनामा रोगले मृत्यु भएको भन्दै सरकारले कुनै कदम चालेको छैन । राजुको मृत्युको घटना छानविनका लागि संसदीय समितिले दोस्रो पटक म्याद थप गरी छानविन गरिरहेको समितिका संयोजक रबिन्द्र बैठाले जानकारी दिए ।

‘डाक्टरले हामीलाई सबै कागजात बुझाइ सकेका छन् । समाजिक विकास मन्त्रालयमाथि समेत प्रश्न उठेकाले जवाफका लागि मन्त्रालयलाई पनि पत्र काटेका छौँ,’ उनले भने, ‘प्रदेशसभा बैठक लगातार बसिरहेकाले छानविन प्रभावित भएको छ । ६/७ दिन अझै समय लाग्छ ।’ यस्तै सवैला नगरपालिका–१२ रघुनाथपुर वर्कुवाका शम्भुको गत जेठ २७ गते प्रहरी हिरासतभिकै शौचालयमा झुन्डिएको अवस्थामा शव बरामद भएको थियो थियो । प्रहरीले उक्त घटना आत्महत्या भएको बताएपनि उनको परिवारजनले हत्या भन्दै सरकारी वकिलको कार्यालय मार्फत किटानी जाहेरी दिएका छन् । 

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभूषण यादव, सबैला नगरपालिका वडा नम्बर २ का अध्यक्ष पारस साह, वडा नम्बर ३ का अध्यक्ष सन्तोष साह, वडा नम्बर ४ बस्ने राजकुमार यादव, वडा नम्बर २ बस्ने कारी यादव र सञ्जय साह तथा वडा नम्बर ३ बस्ने कालीप्रसाद साहविरुद्व जाहेरी परेको छ ।

त्यस्तै, गएको जेठ १४ गते भारतबाट घर फर्किने क्रममा बिरामी परेका सहिदनगर नगरपालिका–९ का ३० वर्षीय वीरेन्द्र यादवको उपचार र खाना अभावमा जटही नाकामै मृत्यु भएको थियो ।

प्रकाशित: १ श्रावण २०७७ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App