८ वैशाख २०८१ शनिबार
समाज

उद्वारका लागि गएको बोट दुर्घटना

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गको गेट खुल्दा बेपत्ता कर्मचारीको खोजीमा बिहीबार  इन्द्रावती नदीमा छिरेको सशस्त्र प्रहरीको उद्धार टोली दुर्घटनामा परेको छ। दुर्घटनामा एक जवान घाइते भएका छन्।  

मेलम्ची बजार पुल छेउबाट ¥याफ्टिङ बोटमा चढेर बेपत्ताको खोजीमा निस्केको सात सदस्यीय उद्धार टोली दुर्घटनामा परेको हो। सय मिटर अघि बढेपछि खोल्सामा परेर ¥याफ्टिङ बोट पल्टिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर फलबहादुर तामाङले जानकारी दिए। नदीमा पानी खाएर उद्धारकर्ता सशस्त्र प्रहरी जवान रामजी भण्डारी घाइते भएका छन्। उनको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको तामाङले बताए।  

सशस्त्र प्रहरीको उद्धार गण नं. २० बाट इन्स्पेक्टर नन्दकिशोर महतो नेतृत्वको टोलीको ¥याफ्टिङ बोट बिहान साढे ८ बजेतिर पल्टिएको हो। पानी खाए पनि घाइते भण्डारी आफैँ खोलाबाट उत्रिएका थिए। अरु चार जना पनि तत्काल उत्रिएका थिए। दुई उद्धारकर्ता र बोट भने बाहुनेपाटी बजारस्थित इन्द्रावती किनारमा भेटिएका थिए। साढे तीन घण्टा लगार उद्धार टोलीको सुुरक्षाकर्मीले उद्धार गरेको इन्स्पेक्टर तामाङले जानकारी दिए।  

मेलम्ची आयोजनाको अम्बाथानस्थित सुरुङको गेट खुल्दा मंगलबार निरीक्षणमा रहेका चार प्राविधिकसहितका कर्मचारीलाई बगाएको थियो। दुईलाई त्यसै दिन तत्काल घाइते अवस्थामा उद्धार गरिएको थियो। दुई बेपत्ता भएकोमा बुधबार आयोजनामा कार्यरत जनकपुर घर भएका २६ वर्षीय इन्जिनियर शतिष गोइत इन्द्रावतीमा मृत फेला परेका परेका थिए। चालक राधाकृष्ण थापा अझै बेपत्ता छन्।

तालिम प्राप्त सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी बुधबारदेखि बेपत्ताको खोजीमा जुटिरहेको छ। बोट पल्टिएपछि सशस्त्र प्रहरीको उद्धार कार्य बिथोलिएको छ। अरु सुरक्षाकर्मीले भने खोजी जारी राखेका छन्। गत असार २१ गते मेलम्ची सुरुङ परीक्षण गर्न पानी प्रवेश गराइएको थियो। परीक्षणको १० औँ दिन अकस्मात गेट खुलेर दुर्घटना भएको थियो।

प्रकाशित: १ श्रावण २०७७ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App