coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

७ हजार लाभग्राहीलाई तेस्रो किस्ता

अनुदान पाएपछि आवास निर्माण गर्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थानीय। तस्बिर: दमन राई/नागरिक

भूकम्पका कारण घरवास बिहिन बनेका खोटाङका करिब ७ हजार परिवारले तेस्रो किस्ता बापतको अनुदान बुझेका छन्। आर्थिक वर्ष २०६७/०७७ को अन्तिम दिनसम्म ६ हजार ९ सय ७८ घरपरिवारले निजी आवास अनुदान बापतको तेस्रोत किस्ता बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालयका खोटाङले जानकारी दिएको छ।  

पुनर्निर्माणतर्फ ८ हजार ४ सय ६६ घर र प्रवलीकरणतर्फ ३ सय ६१ लाभग्राही रहेको जिल्लामा हालसम्म ७ हजार ८ सय ७७ परिवारले दोस्रो किस्ता र ८ हजार ३ सय ३२ परिवारले पहिलो किस्ता बुझेको कार्यालयको तथ्यांक छ। यस्तै, प्रवलीकरण तर्फका लाभग्राही मध्ये २ सय ३३ परिवारले पहिलो किस्ताको अनुदान पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका नासु मणीराम ढकाले जानकारी दिए।  

आर्थिक वर्ष २०७६÷०७७ मा निजीआवास अनुदान बापत ५४ करोड ६७ लाख ५० हजार रुपैयाँ अनुदान वितरण गरिएको उनले बताए। खोटाङमा २०७४ वैसाख ३ गतेदेखि सम्झौता सुरु गरेको पुनर्निर्माण प्राधिकरणले २०७४ जेठ १९ गतेदेखि पहिलो किस्ता, २०७५ वैसाख ३० गतेदेखि दोस्रो किस्ता र २०७५ असोजदेखि तेस्रो किस्ता बितरण थालेको थियो।  

आर्थिक वर्ष २०७६/०७७ मा निजीआवास अनुदान बापत ५४ करोड ६७ लाख ५० हजार अनुदान वितरण गरिएको कार्यालयले जानकारी दिएको छ।  

किस्ता बुझेर आवास निर्माणको काममा ढिलासुस्ती गर्ने लाभग्राही पनि रहेको कार्यालयले बताएको छ। भूकम्पका कारण खोटाङमा १३ हजार ७ सय ९९ घरमा क्षती पुगेको तथ्यांक थियो। भूकम्पका कारण जिल्ला १८ सरकारी भवन पूर्ण रूपमा र ५५ भवनमा आंशिक रूपमा क्षती भएका थिए।  

यस्तै, आर्थिक वर्ष २०७५÷०७६ मा जिल्लामा गुनासो सर्वेक्षण गरिएका ८ हजार ६ सय दुई मध्ये एक हजार ४ सय ४५ लाभग्राही कायम भएको नासु ढकालले बताए। गुनासो सर्वेक्षणकाक्रममा प्रवलीकरणमा छनौट भएका ६ सय एक जना र पुनर्निर्माणमा परेका ८ सय ४४ जनामध्ये ७ सय ३४ लाभग्राहीले पहिलो किस्ता बुझिसकेको उनको भनाइ छ।  

गुम्बाको पुनर्निर्माण  

जिल्लामा १८ वटा गुम्बा पुनर्निर्माण एवम् मर्मत गर्नुपर्ने भए पनि अहिलेसम्म आठ वटाको मात्र पुनर्निर्माण र मर्मतको काम सम्पन्न भएको छ। ऐसेलुखर्क र केपीलासगढी गाउँपालिकामा ३÷३ वटा तथा साकेला गाउँपालिकामा २ वटाको पुनर्निर्माण तथा मर्मतको काम भएको कार्यालयले जानकारी दिएको छ।  

गुम्बा पुनर्निर्माण र मर्मतको क्रममा ६२ लाख रुपैयाँ खर्च भएको नासु ढकालले बताए। दाताबाट रकम नआएपछि आठ वटा गुम्बाको मात्रै पुनर्निर्माण र मर्मतको काम भएको र बाँकी काम रोकिएको उनले बताए। यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार रुपैयाँमा निर्माण सुरु गरिएको दिक्तेल–खानीडाँडा–आहाले सडक मध्ये १०.७९ किलोमिटर कालोपत्रे कामको ३२ प्रतिशत मात्रै वित्तिय प्रगति भएको बताइएको छ। यो सडक योजना २०७५ मंसिर १ गतेबाट सुरु भएको थियो। 

प्रकाशित: १ श्रावण २०७७ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App