१६ चैत्र २०८० शुक्रबार
समाज

यार्सागुम्बा जोखिममा पर्दै छः आइयुसियन

नेपालमा पाइने भएको बहुमूल्य जडीबुटी यार्सागुम्बालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले पहिलो पटक रेड लिष्टमा राखेको छ। पछिल्ला वर्षहरूको यो जडीवुटीको व्यापारिक प्रयोजन ह्वात्तै बढेकोछ। यसले गर्दा आइयुसिनले संरक्षणका हिसाबले संकटमा परेको भनेर आफ्नो रेड लिष्टमा राखेको हो।  

आइयुसिएनले जुलाई ९ मा जारी गरेको रेडलिष्टमा यो  औषधिजन्य गुण भएको महत्वपूर्ण वनस्पतीमा समावेश भएको हो। ‘अहिलेसम्म अत्याधिक संकलन भएका यार्सागुम्बाजस्ता वनस्पति प्रजाति संवेदनशील अवस्थामा पुगेको घटनामध्ये यो एक उदाहरण हो,’ आइयुसिएन फंगल कन्जर्भेसन कमिटीका अध्यक्ष प्राध्यापक ग्रेगरी मुइलरले संघद्धारा जुलाई ९ मा जारी भएको प्रतिवेदनमा भनेका छन्, ‘यार्सागुम्बा र यसमा निर्भर रहेका समुदायहरूको दिर्घकालिन आर्थिक अवस्था सुधार्न दिगो कार्यक्रम लागु गर्नु आवश्यक छ।’

नेपालको डोल्पा, मुगु, हुम्ला, दार्चुला, रुकुम, जुम्ला, मनाङ, बझाङलगायत जिल्लामा वैशाखदेखि असारसम्म यार्सागुम्बा टिप्ने गरिन्छ। समुद्री सतहबाट ३५ सयदेखि ५५ सय मिटरसम्मको उचाईमा औषधिजन्य गुण भएको बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइन्छ। यस वर्ष कोरोना भाइरस महामारीको नियन्त्रण र रोकथामको लागि यस वर्ष अधिकांश जिल्लाका स्थानीय प्रशासनले यार्सागुम्बा टिप्न रोक लगाएका छन्। यसले केही संरक्षणमा सहयोग पुग्ने बताइएको छ। यार्सागुम्बा पुतलीको लार्भा र ढुसीबाट पूरा हुने भएकोले एक वर्ष नटिप्दा अर्को वर्ष वृद्धि हुने अध्ययनबाट देखिएको छ। एउटा अध्ययनमा ढुसी परिपक्व भएर बीजनहरू माटोमा झर्न ३५ देखि ३८ दिन लागेको देखिएको छ।  

यार्सागुम्बासम्बन्धी अध्ययन गरिरहेका गोल्बल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका निर्देशक तथा वनस्पति विज्ञ उत्तमबाबु श्रेष्ठले पछिल्ला वर्षमा यार्सागुम्बाको उत्पादन ह्वात्तै घटेको हुँदा आइयुसिएनको प्रतिवेदनले खतराको संकेत गरेको तर्क गरे। ‘आइयुसिएनले यार्सागुम्बालाई संवेदनशील (जोखिमोन्मुख) सूचीमा राख्नु भनेको खतरा छ भनेको हो,’ उनले भने, ‘यही अनुपातमा यार्सागुम्बा दिप्दै गएमा लोप हुने सम्भावना हुन्छ। अब यसको संरक्षण गरेर व्यवसायिक रूपमा संकलनलाई निरुत्साहित पार्न आवश्यकता भएको छ। यसमा सरकारले ध्यान दिनु आवश्यक छ।’

आइयुसिएनले यार्सागुम्बासहित १३ हजार ८ सय ९९ प्रजातिलाई संवेदनशील सूचीमा राखेको छ। त्यस्तै ६ हजार ८ सय ११ प्रजातिलाई अत्याधिक लोपोन्मुख, ११ हजार ८ सय ९८ प्रजातिलाई लोपोन्मुख र ७ हजार २ सय ११ प्रजातिलाई संकट नजिक पुगेको उल्लेख गरेको छ।  

१५ वर्षको अवधिमा यार्सागुम्बाले उत्पादन ३० प्रतिशत घटेको आइयुसिएनले बताएको छ। नेपाल आइयुसिएनको सदस्य राष्ट्र हो। १० वर्षअघिसम्म मौसमअनुसार प्रतिव्यक्तिले १६ सय वटासम्म यार्सागुम्बा टिप्दै आएकोमा पछिल्ला वर्ष डेढ सयसम्म पाउन गाह्रो हुने गरेको संकलनकर्ताहरू बताउँछन्। विज्ञहरूको अध्ययन र अनुसन्धानका अनुसार मनपरी संकलन र जलवायु परिवर्तनले यार्सागुम्बाको उत्पादन ह्वात्तै घटेको हो। उनीहरूले सन् १९९० को दशकतिर यार्सागुम्बाको मागसँगै मूल्य पनि ह्वातै बढेको तर्क गरेका छन्।  

नेपालबाट संकलन गरिएका यार्सागुम्बा चीन र सिंगापुरमा पुग्ने गरेका छन्। ‘सरकारले तत्काल यार्सागुम्बा संकलनमा रोक लगाउँदा हजारौंको रोजगारी गुम्छ,’ उनले भने, ‘सरकारले दिर्घकालिन नीति निर्माणलाई प्रभावकारी कार्यान्वयन गर्न सकेको छैन्। यार्सागुम्बाबाट सरकारले करोडौं राजश्व संकलन गरेपनि यसबारे अनुसन्धान र अध्ययन लगानी गर्न सकेको छैन्।’ यसअघि आइयुसिएनले चिराइतो, लगुपत्र र सतिशाललाई संवेदनशील सूचीमा राखेको थियो। वन तथा वातावरण मन्त्रालयले सो प्रतिवेदनलाई सुझावका रूपमा लिएर कार्यान्वयनका लागि पहल गर्ने जनाएको छ। 

प्रकाशित: १ श्रावण २०७७ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App