६ वैशाख २०८१ बिहीबार
समाज

सिमेन्ट उद्योग र स्थानीयबीच टकराब बढ्दै

महाप्रवन्धकमाथि यौन दुर्व्यवहार गरेको आरोप

रोल्पा सिमेन्ट प्रालि । रोल्पा सिमेन्ट प्रालिका कारण बिग्रीएको सडक ।

केहि समययता रोल्पा सिमेन्ट प्रालि बिबादमा तानिएको छ । झट्ट हेर्दा चुनढुङ्गा बोक्ने विषयमा असहमति देखिए पनि त्यहाँभित्र उद्योगले स्थानीय स्तरमा गर्नैपर्ने काम समेत नगरेका कारण स्थानीयहरु समेत थप आक्रोसित बनेका हुन् । रोल्पाका पहाड रित्त्याउदै दैनिक हजारौ टन चुनढुङ्गा र क्लिङ्कर खपत गर्ने रोल्पा सिमेन्टले न स्थानीयलाई रोजगारीमा महत्व दिएको छ न त उद्योगका कारणले पर्ने वातावरणीय प्रभावका बारेमा केहि सम्बोधन नै गरेको छ ।  

रोल्पाको त्रिबेणी गाउँपालिका वडा नम्बर ३ कोइला भन्ने स्थानमा स्थापना गरिएको रोल्पा सिमेन्ट प्रालिको चरम लापरबाही बढ्दै गएपछि स्थानीयहरु थप आक्रोसित बनेका हुन् । नेपाल सरकार भौतिक मन्त्रालयसँगको सम्झौता अनुसार काम सुरु गरेको सिमेन्ट प्रालिले स्थानीयहरुलाई असर नपुग्ने गरि काम गर्ने भनेको भएपनि सम्झौता अनुसार गतिबिधि नगरेको आरोप लागेको हो ।  

मापदण्ड भन्दा बढी चुनढुङ्गा र क्लिङ्कर बोकेर दैनिक दर्जनौको संख्यामा दाङ झर्ने उद्योगका टिप्परहरुले सडक तहस नहस बनाएका छन् । सडक बिग्रीएका कारण अन्य साना तथा ठूला यात्रुबाहक सवारी साधन र पैदल यात्रीलाई समेत सास्ती भएको छ । सडक नजिकै रहेका घरहरुका आगनहरु समेत रोप्नलाई ठिक्क पारिएको खेत जस्तो देखिन थालेको छ ।  

सडक मर्मत गरिदिनका लागि पटकपटक उद्योगसँग आग्रह गरे पनि सुनुवाइ नभएको स्थानीय अर्जुन वलीले बताए । ‘स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने, सडक सुधार गर्ने लगायतको सहमति हुँदै आएको भए पनि सिमेन्ट कारखानाले कार्यान्वयन गरेको छैन ।’ उनका अनुसार स्थानीयको मागलाई बेवास्ता गर्न थालेपछि उद्योगकाविरुद्ध गएका युवाहरुलाई तर्साउन उद्योगले ठूलो संख्यामा चुल्ठेमुन्द्रेहरु ल्याएर तर्साउने समेत गर्दछ । ‘स्थानीय प्रशासनले समेत उद्योगकै पक्षमा लबिङ गर्ने गर्दछ । क्लिङ्कर मात्र उत्पादन गरेर बिक्री गर्न लैजाने कारखानाले लकडाउन कै बीच चुनढुंगा समेत निर्यात गर्न थालेको छ ।’  

उद्योगले जवरजस्ती आफ्नो गतिबिधि अगाडी बढाएका कारण स्थानीय तहका जनप्रतिनिधि पनि दिक्क बनेका छन् । ‘सिमेन्ट प्रालीसंग स्थानीयहरु असन्तुष्ट हुनुहुन्छ । उद्योगलाई मन्त्रालय लगायत खानि बिभागले समेत अनुमति दिएको छ । अब अरु हाम्रो बसमा छैन ।’ स्थानीयको गुनासो सुनेका त्रिबेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वली भन्छन् ‘यहाँको समस्या र गुनासो माथि पठाएका छौ । स्थानीयको माग प्रति हाम्रो पनि सहमति छ अर्थात माग जायज छ ।’ उनका अनुसार सिमेन्ट उद्योगले स्थानीय तहलाई कुनै प्रकारको रोयल्टी दिएको छैन । जिम्मेवार निकायले बेवास्ता गरेको छ । ‘नियमन निर्देशन गर्ने हाम्रो बसमा छैन ।’  

सुरुमा वातावरणीय प्रभाव मूल्याङ्कन गरेको प्रालिले त्यसपछिका दिनमा वातावरण बचाउने वा उद्योगका कारण उत्पन्न हुने प्रदुषण रोकथामका लागि कुनै गतिबिधि समेत गर्ने गरेको छैन । बिशुद्ध ब्यापार बाहेक जनस्वास्थ्यका विषयमा उद्योग मौन जस्तै छ । ‘लफडा धेरै रैछ । अहिले टिप्परहरुले ढुङ्गा बोक्ने विषयमा बिवाद हो ।’ रोल्पा प्रहरी प्रमुख डिएसपि चित्रबहादुर गुरुङले भने ‘पहिला ढुङ्गा बोकिरहेका टिप्परलाई नदिएर पछिल्लो समय अर्को टोलीसंग उद्योगले सम्झौता गरेपछि बिवादको सुरुवात भएको देखिन्छ ।’ त्योसंगै अरु पनि मुद्धा मिसिएको हुन सक्ने उनको अनुमान छ ।  

उद्योग संचालकले भने खासै समस्या नै नभएको जस्तो गरि प्रतिकृया दिएको छ । ‘असन्तुष्ट पक्षसंग छलफल भईरहेको छ । एकदुई दिन मै निस्कर्षमा पुग्छौ ।’ उद्योगका एचआर म्यानेजर पंकज मल्लीकले भने ‘समय समयमा सडक मर्मत गरिरहेका छौ । सडक र पानीको जिम्मा राज्यको हो हामिले राज्यलाई कर तिरेका छौ ।’ उनले भने हामिलाई चाहिने क्वालिटीका जनशक्ति बाहिरबाट ल्याउछौ बाँकी स्थानीय प्राथमिकता दिएका छौ । आबेदन खोल्दा स्थानीयको निबेदन नै पर्दैन तर पनि अहिले ५० प्रतिशत स्थानीय कर्मचारी छन् ।

त्यसो त समय समयमा उद्योगविरुद्ध हुने बिरोधहरु अन्तत आर्थिक लेनदेनमा मिल्ने गरेको गुनासो पनि सुनिने गर्दछ । स्थानीय प्रहरी, प्रशासनलाई पनि यस्ता आन्दोलनले आर्थिक लाभ हुने गरेको आरोप समेत लाग्ने गर्दछ । जे भए पनि उद्योगले गर्नै पर्ने न्युनतम सर्तहरु समेत पुरा गर्न चासो भने दिएको छैन । वातावरणीय प्रभाव, स्थानीयलाई रोजगार र सडक मर्मतमा रोल्पा सिमेन्ट प्रालि चुकेको देखिन्छ ।  

महाप्रवन्धक माथि दुर्व्यवहार गरेको आरोप

रोल्पा सिमेन्ट उद्योग प्रालिका महाप्रवन्धक रविलालकान्त कर्णमाथि उद्योगमै कार्यरत एक महिलाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन । उद्योगमा खाने पकाउने काम गर्दै आएकी त्रिवेणी गाउँपालिका वडा नं. ३ निवासी २३ वर्षीया ती महिलाले महाप्रवन्धक कर्णले आफूमाथि केहि दिन अगाडि दिउँसै भान्सामा जवरजस्ती हातपात गर्नुको साथै बलात्कारको प्रयास गरेको आरोप लगाएकी हुन ।

घटनाबारे पीडित महिलाले त्रिवेणी ३ स्थित अस्थायी प्रहरी पोष्ट कोइलामा जाहेरी दिएको बताइन । प्रहरी पोष्टका प्रमुख इश्वरीप्रशाद भण्डारीले पीडित महिला आफन्तसहित चौकीमा आएर आफूमाथि उद्योगका महाप्रवन्धक कर्णले दुर्व्यवहार तथा जवरजस्ती हातपात गरेको भन्ने ठाडो उजुरी दिएको जानकारी दिए । यसैबीच स्थानीयले दोषी महाप्रवन्धक कर्णमाथि कारवाहीको माग गर्दै मंगलबार उद्योग परिसरमा नाराबाजी गरेका थिए ।

उद्योगका एचआर म्यानेजर पंकज मल्लीकले दुर्व्यवहारको आरोप कपोकल्पीत भएको बताए । ‘यो आरोप मात्र हो । तै पनि आन्तरी अनुसन्धान जारी छ । प्रहरीले पनि चासो दिईरहेको छ ।’ रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले अस्थायी प्रहरी पोष्टमा महिलाले ठाडो निबेदन दिएको बताए ।

प्रकाशित: ३१ असार २०७७ १०:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App