८ वैशाख २०८१ शनिबार
समाज

काफल टिप्न युवायुवती पाटनमा, काफल खाएर असारलाई विदा गरिदैँ

जुम्ला सिँजा गाउँपालिकाका युवती पाटनमा काफल टिप्न गएका छन् । उनीहरु संगै युवाहरु पनि पाटनमा पुग्छन् । एक आपसमा रमाईलो गर्छन् । काफल ल्याएर घर फर्कन्छन् । काफल खाएर असारलाई विदा गर्ने प्रचलन अनुसार हरेक असारको अन्तिम दिन यहाँका काफल टिप्ने गरिन्छ । यो दिन काफल टिप्ने र खाने दिन हो । हरेक वर्ष असार मसान्तमा काफल खाएर असार महिनालाई विदाई गरिने परम्परा छ ।

जुम्लाको क्षेत्र नम्बर (ख) अर्थात सिँजा क्षेत्रमा पर्ने स्थानीय तहमा काफल टिपेर खाने चलन छ । पाटनमा गएर काफल टिप्ने र खाने चलन पहिलेदेखि चलिआएको बुढापाकाहरु बताउँछन् । युवायुवती वनमा गएर युवतीहरुले काफल टिप्ने र युवाहरुले वनमा गएर एक आपसमा रमाइलो गर्ने गर्दछन् । युवतीहरुले टिपेका काफलहरु युवाहरुले मागेर खाने गर्दछन् । काफल टिप्नको लागि प्लाष्टिक र निकालोबाट बुनेका बस्तु लिने गर्छन् ।

यो दिनबाट काफल पनि विस्तारै हराउछन् । जेठ महिनाको १५ गतेबाट काफल पाक्न सुरु हुन्छ । यो दिन मनपरेका युवायुवती भेटघाट गर्ने दिनको रुपमा पनि परिचित छ । काफल टिप्न गएका युवायुवतीले मायाप्रितिका देउडा खेल्ने गर्छन् । यो दिनमा बाबु आमाको अगाडी देउडा खेल्दा पनि लाज मानिदैन ।

काफल टिप्न जाँदा छाता, प्लाष्टिक ओढेर जाने गरिन्छ । यो दिनमा अनिवार्य बर्षा हुनुपर्छ । पानी पर्न सुरु गरेपछि साउन महिना सुरु भयो । गाईगोरु लेकतिर लैजानु पर्ने मान्यता छ । यो पटक कोरोना भाइरसका कारण काफल टिप्न जाँदा मास्क लगाएर वनतीर गएको स्थानीय मानवहादुर बुढा बताउँछन् । उनले भने,‘काफल टिपेर असारको विदाई गर्छौँ । पानी परेपछि साउन महिनाको स्वागत गरेर फर्कन्छौँ ।’ पाटनमै दहि, खिर, दूध, मासु, पुरी, तरकारी खाने चल्ती रहेको छ । पुराना पटुका चोलो, धोती लगाउने र गलामा माला पहिरिने गरिन्छ । यो दिनबाट गाईको गलामा घाँडो लगाउने गरिन्छ ।  हरियो पाटनको चौरमा गाईलाई घाँडो लगाउने संस्कार छ ।

घरमा गाई नहुनेले बजारबाट पाउडरको दूध लिएर पनि खीर खानुपर्छ । यतिबेला जंगलहरुमा केही चराचुरुङ्गी कराएको आवाजले काफल पाकेको संकेत गर्छ । काफल पाकेपछि वनजंगल राताम्मे हुन्छ । चराहरुले चारोको लागि अन्यत्र जानुपर्दैन ।  

काफललाई पवित्र फल मानिन्छ । तराईमा जतिजति गर्मीको राप चढ्दै जान्छ । पहाडका जंगलमा काफलको रंग पनि गाढा बन्दै जान्छ । काफल जंगली फल हो । जंगली फल भनेपछि यसमा पूर्णत जैविक हुने नै भयो । काफललाई फलाउन, बढाउन र भण्डारण गर्न कुनै रसायनिक पदार्थको प्रयोग गर्नुपर्दैन । त्यही कारण काफल खान डराउनु पर्दैन ।  

स्वस्थ्यका लागि मौसमी फल अनिवार्य मानिन्छ । जुन मौसममा जे फल्छ त्यही फल खानुपर्छ । काफल अहिलेको मौसमी फल भएकोले असारको अन्तिम दिन सबैले चाख्नैपर्छ । यतिबेला वनजंगलबाट टिपेर ल्याइएको यो फल स्वादिष्ट मात्र होइन, स्वस्थ्यकर पनि हुन्छ । काफल अमिलो गुलियो एवं रसिलो फल हो । यो फलले जिब्रो मात्र लोभ्याउँदैन, यसमा औषधिय गुण पनि भएको स्थानीय बताउँछन् ।

ज्वरो आएमा, घाँटीको समस्या भएमा, दम बढेमा, रगतको कमी भएमा काफलको सेवन उपयोगी हुन्छ । खाना अरुची भएमा काफलको सेवनले लाभ मिल्ने बुढापाका बताउँछन् । काफलको सेवनले मुटु लगायत क्यान्सर रोगको जोखिम कम गर्ने सिँजा गाउँपालिका ६ जोडुका स्थानीय ८६ वर्षीय बीरवहादुर बुढाको भनाई छ ।

यहाँका गाउने थुप्रै गीतमा काफलको प्रसंग जोडिएको छ । स्थानीय काली बुढा असारको अन्तिम दिन काफल खाने दिनको रुपमा परिचित भएको बताउँछिन् । मार्सी धान र गाई भैँसीको दूधबाट खिर बनाइ खाने चलन समेत हट्दै गएको उनी बताउँछिन् ।

काफल टिप्न गएका युवायुवती साँझ मात्र घर फर्कन्छन् । त्यो पाटमा प्रदेश क्षेत्र (ख)का हिमा, सिँजा र कनकासुन्दरी सम्मका स्थानीय सहभागी हुने गरेका छन् । यो दिनले काफलको महत्व बढाउनुका साथै एक आपसमा अन्यानोस्रित सम्बन्ध स्थापित गर्ने गरेको स्थानीय बताउँछन् । तर पछिल्लो समयमा काफल टिप्न गएको समयमा झै झगडा र विवाद भने भइरहन्छ । यो दिन सिँजाली क्षेत्रका लागि निकै महत्वपूर्ण दिन हो ।

प्रकाशित: ३१ असार २०७७ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App