८ वैशाख २०८१ शनिबार
समाज

एक सय एक वर्षीय भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १०१ वर्षीयलाई दुई लाख रुपैयाँबाट खरीद गरिएको जग्गाको धनी प्रमाणपूर्जा प्रदान गरेको छ । कास्की, मादी गाउँपालिका–९ मुग्राीबेंसीका १०१ वर्षीय भूमिहीन लाभग्राही जसबहादुर थापालाई दुई लाख रुपैयाँमा जग्गा खरीद गरी पूर्जा उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कास्कीका प्रमुख नवराज शर्माले लाभग्राही थापालाई जग्गाधनी पूर्जा प्रदान गरेका हुन् । आवास निर्माणका लागि जग्गाधनी पूर्जा पाएपछि थापाले साह्रै खुशी लागेको बताए । 'बाजेदेखि नै हाम्रो नाममा जग्गा थिएन, ऐलानी जग्गामा बस्दै आइरहेको थिएँ, बुढेसकालमा जग्गाको पूर्जा पाउँदा साह्रै खुशी भएको छु', उनले भने ।

थापाले प्राधिकरणबाट प्राप्त दुई लाख रुपैयाँबाट सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र दिगो समाधान परियोजनाको सहयोगमा स्थानीयवासी नारायणी अधिकारीको १९० वर्गमिटर क्षेत्रफल बराबरको जग्गा खरीद गरेका हुन् । विसं २०७२ को भूकम्पबाट सरकारी तथा वन क्षेत्रमा बसेका भूमिहीन लाभग्राहीलाई आवास निर्माण गर्ने प्रयोजनका लागि घडेरी खरीद गर्न प्राधिकरणले दुई लाख रुपैयाँ दिँदै आएको छ । यस्ता लाभग्राहीले घर निर्माणका लागि अन्य लाभग्राही सरह तीन लाख रुपैयाँ पनि पाउँछन् ।

प्रकाशित: ३१ असार २०७७ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App