४ वैशाख २०८१ मंगलबार
समाज

बुटवल–पाल्पा सडक तीनदेखि अवरुद्ध

सोमबार साँझदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक तीन दिनदेखि अवरुद्ध छ । सो सडकको दोभान नजिकै झरेको पहिरो पन्छाउन नसक्दा बाटो अवरुद्ध भएको हो । पाल्पाको तिनाउ गाउँपालिका ३ दोभान बजार नजिकै सोमबार ५ बजेतिर ठूला ढुङ्गासहितको पहिरो झरेको थियो । 

सोमबार रातभर पानी परेकाले मंगलबार बिहानदेखि पहिरो पन्छाउने काम सुरु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए । सडकमा झरेको ठूलो ढुङ्गा ब्रेकरले काटेर पहिरो हटाउने प्रयास जारी रहेको डिएसपि पाण्डेले बताए । पहिरो क्षेत्रमा डिभिजन सडक कार्यालय बुटवलको एउटा ब्रेकर, डोजर र पाल्पाको एउटा डोजरले पहिरो पन्छाउने प्रयास गरीरहेका छन् । सडक कार्यालयले समयमै ब्रेकर र डोजर उपलब्ध नगराउदा मंगलबार सबेरैदेखि काम हुन नसकेको दोभान प्रहरीले जनाएको छ । प्रदेश ट्राफिकका डिएसपि पाण्डेले डिभिजन सडक कार्यालय बुटवलको ब्रेकरले ढुङ्गा काट्ने काम भइरहेकाले आज दिउँसोदेखि बाटो सुचारु हुने बताए । 

तीन दिनदेखि सडक अवरुद्ध हुँदा सयौ सवारी साधन बाटोमा अलपत्र छन् । पाल्पाबाट बुटवल तर्फ आउने सवारी साधनहरु दोभान–पाल्पा सडकमा लाम लागेका छन् । प्रहरीका अनुसार पाल्पा तर्फ ३ सय बढी सवारी साधन बाटोमा छन् । माथि भिर तल उर्लेको तिनाउ नदीको बिचमा तीन दिनसम्म सयौं यात्रुहरु भोकै प्यासै अलपत्र छन् । लकडाउन र बर्षाका कारण दोभान क्षेत्रमा होटल तथा पसलहरु कम खुलेकाले अलपत्र यात्रुहरु भोकभोकै बस्न बाध्य छन् । 

बुटवल तर्फ पनि त्यत्तिकै संख्यामा सवारी साधनहरु रोकीएका छन् । पहिरोका कारण बिरामी बोकेका एम्बुलेन्स पनि रोकिएपछि इस्टेचरको व्यवस्था गरी बिरामीलाई बुटवल पठाउने व्यवस्था गरेको दोभान ट्राफिकका प्रहरी सहायक निरीक्षक बिक्रम भुसालले बताए ।

प्रकाशित: ३१ असार २०७७ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App