३० श्रावण २०७७ शुक्रबार
समाज

प्रहरीको कुटाईबाट कोरोना संक्रमित युवक गम्भीर

कोरोना संक्रमित एक व्यक्तिलाई प्रहरीले मरणासन्न हुने गरेर कुटपिट गरेको छ। पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माविको क्वारेन्टिनमा राखिएका सोही गाउँपालिका–८ का युवकलाई प्रहरीले कुटपिट गरेको बताइएको छ। भारतबाट आएर दुई सातादेखि क्वारेन्टिनमा बस्दै आएका युवक सोमबारसँगै बसेका साथीहरूसँगै घर जान खोज्दा इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी सहायक निरीक्षक विजय पुनले कुटपिट गरेका पीडितको भनाइ छ। असई पुनको कुटाइबाट युवक गम्भीर घाइते छन्। पीडित युवाले आफ्नो हात भाँचिएको बताएका छन्।  

आफन्तले उपचारका लागि अस्पताल लिन माग गरेपनि स्थानीय तहलेसमेत बेवान्ता गरेर घटनालाई गुपचुप राखेको छ। गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीकै उपस्थितिमा पीडित परिवार र प्रहरीबीच ‘कोरोना सन्चो भएपछि’ उपचार गर्ने सहमति गराइएको छ।  

गाउँपालिका अध्यक्ष केसीले दुई सातादेखि क्वारेन्टिनमा रहेका युवकको सोमबार पिसिआर परीक्षण गर्दा कोरोना देखिएको बताए। भारतबाटसँगै आएका उनका साथीहरूमा कोरोना देखिएन्। उनी साथीसँगै घर जान खोज्दा क्वारेन्टिन सुरक्षामा खटिएका असई पुनले कुटपिट गरेका थिए। ‘शरीरका विभिन्न ठाउँमा चोट देखिन्छ,’ गाउँपालिका अध्यक्ष केसीले भने, ‘तपाईले सुनेजस्तो अवस्था गम्भीर भने छैन्।’  

इलाका प्रहरी कार्यालय बादेपिपलका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक नरबहादुर क्षेत्री गाउँपालिका अध्यक्षको उपस्थितिमा पीडित परिवारसँग सम्झौता भइसकेको बताए। ‘कोरोना पोजेटिभ व्यक्तिलाई उपचार गराउनका लागि बाहिर लिन अहिले सम्भव नभएकाले सामान्य उपचार गरेर आइसोलेसनमा राखेका छौं,’ उनले भने, ‘कोरोना सञ्चो भएपछि उपचार गरिदिने गरेर पीडित परिवारसँग सहमति भइसकेको छ।’ उनले क्वारेन्टिनमै मदिरा सेवन गरेर भाग्न खोजेपछि प्रहरीले लाठीले हानेको बताए।  

इलाका प्रहरी कार्यालयले कोरोना संक्रमित व्यक्तिलाई असई पुनले कुटपिट गरेको पुष्टि गरेपनि जिल्ला प्रहरी कार्यालयले भने कुटपिटनै नभएको दावी गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामकुमार घर्तीले कोरोना संक्रमित व्यक्ति घर जान खोज्दा सम्झाएर आइसोलेसनमा राखिएको बताए। ‘कुटपिट भएकै छैन्,’ उनले भने, ‘सम्झाएर आइसोलेसनमा मात्रै राखेका छौं।’

प्रकाशित: ३१ असार २०७७ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App