१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गण्डकी प्रदेशमा बाढीपहिरोको क्षति, पाँच दिनमा ५३ जनाको ज्यान गयो

स्याङजामा मंगलबार झरेको पहिरोमा हराएका गाउँलेको खोजीमा खटिएको प्रहरी र स्थानीयबासी । तस्बिर सौजन्यः गण्डकी प्रदेश प्रहरी कार्यालय

एकसाता नपुग्दै गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढिपहिरोले ५३ जनाको ज्यान लिएको छ भने अझै ६ जना बेपत्ता छन् । पछिल्लोपटक स्याङजामा मंगलबार बिहानको पहिरोले तीनजनाको ज्यान लिएको छ भने एकजना हराएका छन् । पाँचदिन अवधिमा प्रदेशले ठूलो मानवीय क्षति भोग्नु परेको हो । 

मंगलबार बिहान साढे ९ बजेतिर खसेको पहिरोले स्याङजामा बाढीको क्षति अनुगमन गर्न हिडेको टोलीलाई बगाएको थियो । स्याङजाको कालिगण्डकी गाउँपालिका–४बिर्घास्थित खहरेमा पहिरो जाँदा पुरिएका उनीहरुमध्ये तीनजनाको मृत्यु भएको र एकजना अझै बेपत्ता रहेको स्याङजाका प्रहरी प्रमुख एसपी बिमलराज कँडेलले बताए । उनका अनुसार बेपत्ता व्यक्तिको खोजी भईरहेको छ । 

कँडेलका अनुसार मृत्यु हुनेमा कालिगण्डकी–४ का ७२ वर्षीय इमानसिंह राना, ५० वर्षीय टीकाबहादुर थापा र ६० वर्षीय जिमानसिंह थापा रहेका छन् । पहिरोमा हराईरहेका ६५ वर्षीय प्रेमचन्द्र पाण्डेको खोजी भईरहेको छ । पहिरोले बगाएका उनीहरुमध्ये रानाको उपचारको क्रममा मृत्यु भएको थियो भने टीकाबहादुर र जिमानसिंहको दिउँसो अबेर मात्र शव फेला परेको उनले बताए । 

वडा अध्यक्ष चक्रबहादुर पाण्डेका अनुसार रातभर भीषण बर्षा भएपछि गाउँको बाटोघाटो, खानेपानी अवरुद्ध भएको थियो । गाउँका केही बासिन्दाको घर पनि अप्ठेरोमा परेका थिए । गाउँको अवस्था बुझन भनि बिहान निस्किएको टोली एकाएक माथिबाट झरेको पहिरोमा परेको उनले बताए । ‘स्थानीय जनप्रतिनिधि भएको हिसाबले हामीले बाढी पहिरोको क्षति अनुगमन गर्ने भनेर बाँडिएर निस्किएका थियौ । तर, एक टोली एकाएक माथिबाट झरेको पहिरोमा पर्‍यो,’ अध्यक्ष पाण्डेले भने, ‘बाटोमा हिडिरहेको बेला एकाएक माथिबाट आएको पहिरोको मारमा गाउँले परेका हुन् ।’ एकाएक माथिबाट सोहोरिएर आएको पहिरोले उनीहरुलाई बगाएको अध्यक्ष पाण्डेले बताए । 

एसपी पाण्डेका अनुसार गाउँमाथिको मोटरबाटोबाट बगेको माटो सोहोरिएर झर्ने क्रममा पहिरोको रुप लिएको र त्यसले बाटोमा हिडिरहेका गाउँलेलाइ पुरेको थियो । उनका अनुसार यो बाटोले गुल्मीको रिडिसम्म जोड्छ । नयाँ मोटरबाटो खनिएको र त्यसको माटो बग्ने क्रममा खहरेमा मिसिँदै पहिरोको रुप लिएको उनले बताए । ‘बर्षाले के कति क्षति पुर्‍याएको रहेछ भनेर टोली बुझ्नका लागि बिहानै घरबाट निस्केको रहेछ,’ उनले भने, ‘त्यही टोली चपेटामा परेको हो । बाढीले मोटरबाटो, खानेपानी क्षति पुर्‍याएको छ ।’

प्रदेशभर पाँचदिनमा पहिरोले ५३ जनाको ज्यान लिँदा सबैभन्दा बढी म्याग्दीमा अहिलेसम्म २९ जनाको ज्यान गएको छ भने ४ जना अझै हराएका छन् । त्यस्तै तनहुँमा ११ जनाको मृत्यु भएको छ भने अझै एकजना बेपत्ता छन् । कास्कीमा ७ जनाको ज्यान गएको छ । लम्जुङ र स्याङजामा ३–३ जनाको मृत्यु भएको छ भने स्याङजामा एकजना हराएका छन् । 

यो मनसुनमा अन्यत्रको तुलनामा गण्डकी प्रदेशमा बढी बर्षा भएकोले बाढिपहिरोको क्षति पनि बढ्न गएको भूगर्भविदले बताएका छन् । भूगर्भविदका अनुसार पछिल्लो समय गाउँगाउँमा मोटरबाटो खनिएको र त्यही बाटोका कारण पहिरो निम्तिने गरेको छ । अधिकांश पहिरो मोटरबाटोकै कारण उत्पन्न हुने गरेको भूगर्भविद श्रीकमल द्विवेदीले बताए । द्विवेदीका अनुसार मोटरबाटो खन्दा निकालिएको ढुंगा माटो खोल्सा वा छेउमै थुपारिन्छ । माटो थुपार्दै जाँदा सतहको घासपात र रुखविरुवा पनि मर्न थाल्छन् । त्यसले गर्दा जमिन झनै कमजोर बनेको हुन्छ । 

‘जब भिरालो ठाउँमा पानीले काट्न थाल्छ । त्यसले एकाएक भेलबाढी निम्त्याउँछ,’ उनले भने, ‘प्राकृतिक श्रोतबाट बग्ने पानी बाटोबाट बग्न थाल्दा क्षति बढाउने हो । सबैतिरबाट बग्दै जाँदा एउटै खोल्सामा संकलन भएको भेलबाढीले आसपासको क्षेत्रलाई पनि कटान गर्दै लैजाँदा क्षति पुर्‍याउँछ ।’ माथिबाट थोरै लेदो झरेको भएपनि तल पुगिसक्दा ठुलो आकार लिने र त्यो गाउँतिर सोझिँदा बस्ती नै जोखिममा पार्ने उनले बताए । ‘कतिपय ठाउँमा मोटरबाटो बनाउँदा नाला काट्ने चलन पनि छैन, माटो खनेर छेउमा थुपार्ने गरिन्छ,’ उनले भने, ‘मोटरबाटोकै कारण धेरैतिर क्षति बढिरहेको छ ।’ कास्की, स्याङजा र म्याग्दीको पहिरोको कारण मोटरबाटो रहेको स्थानीयले बताएका छन् ।

त्यसबाहेक पानी वहावका लागि भनेर सडकका खोल्सीमा साना आकारका कल्भर्ट बनाउने गरिएको र माथिबाट सोहोरिएको आएको भेलबाढिले बगाएको काठदाउरा, ढुंगामुढा त्यही कल्भर्टमा रोकिँदा पनि जोखिम हुने उनले बताए । ‘कल्भर्टमा काठदाउरा, ढुंगामुढाले रोकेपछि लेदो र पानीले अर्काेतिर बाटो लिन्छ, त्यसले पनि क्षति गर्छ,’ उनले भने, ‘भेलबाढी निम्त्याउने काम अहिले मोटरबाटोले गरिरहेको छ । यसतर्फ ध्यान नदिने हो भने मानवीय क्षति अझै बढाउने गरि प्राकृतिक प्रकोप थपिने त्रास छ ।’

प्रकाशित: ३० असार २०७७ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App