१५ चैत्र २०८० बिहीबार
समाज

माटोले बनेको झ्याले घरको पुनर्निर्माण सुरु

भक्तपुरको तुछिमलास्थित माटोले बनेको झ्याल भएको आगँछें । ऐतिहासिक यो आगँंछेंको पुनर्निर्माण सुरु भएको छ ।

सामान्यता घरका झ्यालहरु काठले बनेका हुन्छन् तर भक्तपुरमा माटोले बनेको झ्यालको घरको पुनर्निर्माण सुरु भएको छ । भक्तपुर नगरपालिका वडा नं. ६ तुछिमलास्थित ऐतिहासिक तेलिकोटा झ्याल भएको आगंछेँ (स्थानीय टोलछिमेकको सामूहिक घर) को पुनर्निर्माण सुरु भएको हो ।  

२०७२ सालको महाभूकम्पमा परी क्षतिग्रस्त भएको तीन सय १८ वर्ष पुरानो आगँछेँ पुनर्निर्माण कार्य सुरु भएको हो । आँगछेंको शिलान्यास भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार एक समारोहबीच गरे । भक्तपुर नगरपालिकाको बजेटमा बन्न लागेको प्रस्तावित श्री विश्वकर्मा आँगछेँ (तेलिकोटा झ्याल) पुनर्निर्माण उपभोक्ता समितिमार्फत् लगत इस्टिमेट ९९ लाख ६८ हजार ५ सय २६ रुपैयाँ रहेको जनाइएको छ ।

श्री विश्वकर्मा आँगछे पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिशरण अवालले आगंछें पुनर्निर्माणका लागि २०७७ साल ३ महिना १५ गतेबाट भत्काउने काम सुरु गरेको सुनाए । अहिले काम सुरु गर्नको लागि पेश्की ३० लाख दिएको उनले जानकारी गराए । तीन तल्ले आगछेंलाई अहिले पनि पहिलाकै स्वरुपमा बनाउने योजना राखिएको छ । 

संस्कृतिविद् ओम धौभडेलका अनुसार यो विश्वकर्मा आँगछे भक्तपुरको पाचँतल्ले मन्दिर बनाइसकेपछि बनाइएको इतिहास छ । पाँंचतल्ले मन्दिरको सबै काम यही तछिमलाका अवालहरुले बनाएको इतिहास रहेको जानकारी उनले गराए । साथै उनले पाँंचतल्ले मन्दिर बनाएको ज्यालाले नै यो आँगछे बनाइएको इतिहास रहेको बताए । पाँचतल्ले मन्दिर बनाएको पाँंच वर्षपछि यो आँगछे बनाइएको इतिहास रहेको धौभडेलले बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले एक वर्षको अवधिभित्र आगछें निर्माण सम्पन्न हुने योजना रहेको बताए । तथापि पछिल्लो पटक पाँंचतल्ले मन्दिरमा जनश्रमदान भएजस्तै यहाँं पनि हुने भएकाले ६ महिनाभित्रै सकिने विश्वास उनले गरे ।  

कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले सम्पदा पुनर्निर्माण ठेक्कापटाबाट नभई उपभोक्ता समितिमार्फत गरिरहेको जनाए । भक्तपुर नपा कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले २०७२ सालको भूकम्पबाट क्षति पुगेको तेलिकोटा झ्यालसहितको आगँछेँ पुनर्निर्माणमा स्थानीयहरुको अगुवाई र सहभागिता भए निर्धारित भन्दा कम समय र लागतमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरिन् । भक्तपुर नपा वडा नं. ६ का वडा सदस्यद्वय गोविन्द दुवाल र सिद्धिराम अवालले भक्तपुरको ऐतिहासिक सम्पदाहरुमध्येकै पुरानो आगँछेँको पुनर्निर्माणमा भक्तपुर नपाको अगुवाई र सहयोगप्रति आभार प्रकट गरे ।

प्रकाशित: ३० असार २०७७ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App