१६ चैत्र २०८० शुक्रबार
समाज

थप एक जनाकाे शव भेटियो, एक जना अझै बेपत्ता

तनहुँको ऋषिङ गाउँपालिका ८ भैसिकिलीमा एकै परिवारका ५ जना बेपत्ता भएपछि खोजी गर्दै प्रहरी एवं स्थानीय । तस्बिर : श्रीहरि/नागरिक

सोमबारको पहिरोले पुरेर बेपत्ता भएका पुरुष मृत अवस्थामा भेटिएका छन् । मंगलबार विहानैदेखि खोजी गर्ने क्रममा हराइरहेका व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदम भुजेल मृत अवस्थामा भेटिएका हुन् । 

बेपत्ता भएका व्यास–११ ओडारेका भुजेललाई मृत अवस्थाामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । सोमबार नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उनको खोजी गरेपनि भेटाउन सकेका थिएनन् । ‘मंगलबार प्रहरी र स्थानीयले भुजेललाई खोजी गर्ने क्रममा साढे तीन बजेतिर भुजेलको शव भेटिएको हो,’ डिएसपी तिमिल्सिनाले भने ।

अविरल बर्षासंगै आएको पहिरोका कारण तनहुँमा ११ जनाको मृत्यु भएको छ । पहिरोका कारण अझै एक जना बेपत्ता छन् । सोमबार बिहान गएको बाढीपहिरोका व्यास नगरपालिकामा ५ जना, ऋषिङ गाउँपालिकामा ५ जना र म्याग्दे गाउँपालिकामा १ को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए ।  

पहिरोमा पुरिएर ऋषिङमा एकै परिवारका ५ को मृत्यु भएको हो । रिसिङ गाउँपालिका–८ भैसीकिलीका अनबहादुरका छोरा ३० वर्षिय भेषबहादुर र बुहारी २९ वर्षीया नानुमाया, नातिनी ५ वर्षीया अमिषा, छोरा २२ वर्षीय महादेव, र बुहारी १९ वर्षीया मनिसरा थापा खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन् । अनबहादुरकी श्रीमती ६० वर्षीया ज्योतीमाया थापा घाइते भएकी छन् ।  

व्यास नगरपालिका–९ माँझफाटमा केशर थापाको घरमा पहिरो जाँदा पुरिएर ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा र छोरी २१ वर्षीया अन्जना थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख पौडेलले जानकारी दिए । सोही पहिरोमा परी २० वर्षीय राजेश थापा बेपत्ता भएका छन् भने घरधनी केशर थापा घाइते भएका थिए । घाइते थापाको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।  

त्यस्तै, सोही स्थानकी ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराले पुरिएर मृत्यु भएको थियो । पहिरोमा बेपत्ता भएका राजेश थापाको स्थानीय, प्रहरीद्धारा खोजी कार्य भएपनि अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ३० असार २०७७ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App