१६ चैत्र २०८० शुक्रबार
समाज

‘इलाम दरबार’मा सजाइँदै संस्कृति

इलाम सदरमुकामस्थित अरनिको सांस्कृतिक संग्रहालयको प्राङ्गणमा पञ्चैबाजा बजाउँदैगरेको व्यक्तिको सालिक सालिक स्थापना गरिँदै। तस्बिरः भीम/नागरिक

सदरमुकामस्थित ऐतिहासिक र पुरातात्विक महत्वको ‘इलाम दरबार’लाई संग्रहालयका रूपमा विकास गरिँदैछ। सय वर्षभन्दा पुरानो यो भवनबाट जिल्ला प्रशासन कार्यालय सरेपछि यहाँ ‘अरनिको सांस्कृतिक संग्रहालय’ स्थापना गर्न लागिएको हो। पुरातत्व विभागको सिफारिस र नेपाल सरकारको स्वीकृतिमा इलाम नगरपालिकाले संग्रहालयको पूर्वाधार तयार गर्दैछ। इलाम साहित्य, कला, संगीत प्रतिष्ठानमार्फत् पूर्वाधार निर्माणको काम धमाधम सञ्चालन भइरहेको छ।  

इलाम बजारको अग्लो स्थानमा रहेको जीर्ण भवनको पुरानो संरचना पनि संरक्षण हुनेगरी पूर्वाधार व्यवस्थित गरिँदैछ। गतवर्ष सुरु भएको काम करिब अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ। २० कोठा रहेको इलाम दरबारका विभिन्न स्थानलाई साँस्कृतिक, ऐतिहासिक सम्पदा संगृहीत गर्नेगरी व्यवस्थापन गरिएको प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले बताए।  

‘भवनको बाहिर र भित्रको पूर्वाधारलाई त्यसको विशेषता नमेटिनेगरी पुनर्संरचना गरिँदैछ,’ उनले भने, ‘यही वर्ष पूर्वाधारको काम सकिन्छ र यहाँ राखिने सांस्कृतिक वस्तु संकलनको काम भइरहेको छ।’ अबको १ वर्षपछि संग्रहालय पूर्णतः अवलोकनयोग्य बनाउने लक्ष्य निर्माण कर्ताको छ।  इलाम जिल्लामा ५५ जातजातिको बसोबास छ। यिनीहरूको संस्कृति, इतिहास झल्किने वस्तुहरू संग्रहालयमा राखिँदैछ।  

त्यतिमात्र होइन, गाउँघरमा वर्षाैंअघि प्रयोग भएपनि बढ्दो आधुनिकताका कारण लोप भइसकेका, लोपोन्मुख वस्तुहरू संग्रहालयमा देख्न पाइनेछ। ढुंगाका खम्बासहितको ढिकी, जाँतो, हलो, जुवा, फाली, हल्लुणदेखि घरायसी प्रयोगका सामग्रीहरू हर्पे, गरियो, मकल, पेचा, ओखल, कोल, माली, टोलङ, लाजिम, दुध्यारोलगायतका वस्तु संग्रहालयमा संकलन गरिँदैछ। ‘कतिपय लोप भइसकेका सामग्री गाउँ–गाउँबाट ल्याएर सजाइँदैछ,’ सचिव भण्डारीले भने, ‘गाउँमा वर्षाैं प्रयोग भएर लोप र लोपोन्मुख ऐतिहासिक सामग्री कतै भए सूचना दिनुहोला, हामी यहाँ संरक्षण गर्छौं।’  

उनले यहाँका विभिन्न जातीय संघ–संस्थासँगको समन्वयमा संग्रहालयमा आवश्यक सामग्री संकलनको काम गरिने पनि जनाए। भवनको बाहिरपट्टि इलामको सांस्कृतिक गहनाका रूपमा रहेको पञ्चैबाजा बजाउँदैगरेका व्यक्तिको मूर्ति राखिँदैछ। दमाहा, ट्याम्को, नरसिंगा, सनई र झ्याम्टा बजाउँदैगरेका व्यक्तिको अलग–अलग मूर्ति इलाम दरबारको प्राङ्गणमा राखिने प्रतिष्ठानले जनाएको छ। ‘इलाम जिल्लाकै पर्यटन प्रवद्र्धनमा सांस्कृतिक संग्रहालयले महŒवपूर्ण सहयोग गर्ने नगरपालिकाको आशा छ,’ नगर प्रवक्ता ठाकुरनारायण श्रेष्ठले भने, ‘इलामको कला, संस्कृति संरक्षण गर्दै पर्यटकीय गन्तव्य थप्ने नगरको लक्ष्य हो।’  

राणाकालीन समयमा निर्माण गरिएको यो भवन आफैंमा पनि ऐतिहासिक छ। इतिहासदेखि इलामको सम्पूर्ण प्रशासनिक कामको नेतृत्व यही भवनबाट भएकाले इलामे नागरिक यसलाई ‘इलाम दरबार’का रूपमा चिन्छन्। नगरले चालु वर्ष संग्रहालयका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ। गतवर्ष १५ लाख रुपैयाँ विनियोजन गरिएकामा ३ लाख १२ हजार रुपैयाँमात्रै खर्च भएको थियो। ‘यो वर्ष निर्माणको काम सकेर संग्रहालय तयार पार्छाैं,’ सचिव भण्डारीले भने।

प्रकाशित: २९ असार २०७७ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App