१६ चैत्र २०८० शुक्रबार
समाज

उपेक्षामा भानु जन्मस्थल

भानु जन्मस्थल विकास समिति परिसरमा रहेको भानु प्रतिमा। तस्बिर: श्रीहरि/नागरिक

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घा उपेक्षामा परेको छ। नेपाली भाषिक आन्दोलनमा अतुलनीय योगदान पु¥याएका भानुभक्तको जन्मगाउँ अझै अविकासले थलिएको छ। भानुभक्त जन्मस्थल विकास समितिलाई स्थानीय सरकारमातहत राखिएपछि विकासमा पछाडि पर्ने भन्दै स्थानीय चिन्तित बनेका छन्।  

साहित्यिक धरोहर भानुभक्तको घर जलेर ध्वस्त भएको डेढ दशक भइसक्यो। पुनर्निर्माण गर्ने भनिए पनि त्यसले व्यावहारिक रूप लिन बाँकी छ। त्यसकारण अवलोकनका लागि स्वेदश तथा विदेशबाट आएका पर्यटकहरू भानु जन्मस्थलको हविगत देखेर निरास बन्ने गरेका छन्।  

भानुभक्तको घर निर्माणको जिम्मा पश्चिमाञ्चल विकास मञ्चले लिए पनि हालसम्म सुरु भएको छैन। भानु जन्मस्थलमा पुग्ने सडकको प्रबन्ध राम्रो नभएको, पानीको अभाव र असुरक्षा रहेको भन्दै पुनर्निर्माणमा ढिलाइ भएको मञ्चका संस्थापक अध्यक्ष रामकाजी कोनेले बताए। ‘ती समस्या समाधान हुनेबित्तिकै निर्माण थालिहाल्छौं,’ उनले भने। संरचना बनाए पनि सही उपयोग र संरक्षण नहुने भन्ने चिन्ता रहेको कोनेको भनाइ छ।

भानु शिखर कटेरी गुरुयोजनाअन्तर्गत रामायण घर, भानु स्मृति पार्क र भानु ग्राम निर्माण गर्ने भनी ११ रोपनी जग्गा खरिद गरिएको छ। गुरुयोजना निर्माण गरेको आठ वर्षमा रामायण घरको निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने अन्य संरचना भने निर्माण हुन सकेको छैन। पश्चिामाञ्चल विकास मञ्चका संस्थापक अध्यक्ष कोनेले एक करोड १४ लाखको लागतमा भानु गृह निर्माण गरिने बताए। ‘भानु गृह निर्माणकोे जिम्मा हामीले लिएका हौं,’ उनले भने, ‘भानु गृह निर्माणका लागि निजी क्षेत्रका उद्योगी एवं व्यावसायीसँग सहयोग संकलन गरी निर्माण गर्न लागिएको हो।’  

रामायण घर निर्माणको लागि दुई करोड ६५ लाख बजेट आएको र सोहीअनुसार निर्माण अन्तिम चरणमा पुगेको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी अधिकृत शंकर रानाभाटले बताए। ‘यस क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण पूर्ण छैन। पर्याप्त बजेटसमेत आउँदैन,’ उनले भने, ‘सरकारले यस क्षेत्रको महत्व बुझेर बजेट विनियोजनमा कन्जुस्याइँ गर्नुहँुदैन।’ राज्यले केन्द्र सरकारमातहत राखेर भानु क्षेत्रको संरक्षण गर्नुको सट्टा त्यसलाई भंग गरिनु दुःखद भएको उनको भनाइ छ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागमा रहेर काम गरिरहेको भानु जन्मस्थल विकास समिति हाल स्थानीय तहमा राखिएको छ। उक्त समितिलाई केन्द्र सरकारमातहतै राख्नुपर्ने भनेर आफूहरूले भन्दै आएको र यसलाई केन्द्र सरकारले सुन्नुपर्ने भानु नगरपालिकाका उपप्रमुख आशा थापाले बताइन्। 

भानुभक्त जन्मघर हेर्ने चाहाना राखेर चुँदीरम्घा पुग्ने साहित्यिक मनहरू जलेको भर देख्दा चिन्तित हुने गरेको गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष सागर उदासको भनाइ छ। भानु–४ का स्थानीय एवं भानुभक्तका पुस्ता सीताप्रसाद आर्चायका अनुसार जन्मस्थलमा राजनीतीकरणका कारण विकास भएका छैन। भानु जन्मस्थल निर्माणकोे जिम्मा लिएको संघसंस्थाले भानुको जन्मघर चाँडै निर्माण गर्नुपर्नेमा उनले जोड दिए।  

२०५५ सालमा आदिकवि भानुभक्त नामक नेपाली चलचित्र बनाउने क्रममा भानु जन्मस्थल विकास समितिले भानुको घरको  पुनर्निर्माण गरेको थियो। २०६० वैशाखमा  जंगलमा लागेको आगो पैmलिँदा उक्त घर जलेर ध्वस्त भयो। भानुको घरनजिक बस्ती नभएकाले अहिले त्यो ठाउँ जंगलले घेरिएको छ। भानु जयन्तीमा बर्सेनि चँुदी रम्घा बेंसीमा रामायण वाचन, कविता वचन प्रतियोगिता तथा विभिन्न कार्यक्रम आयोजना गरिँदै आएको छ। तर यस वर्ष कोभिड–१९ का कारण सामान्य रामयण वाचन बाहेकका कार्यक्रम नगरिने भानु नगरपालिकाले जनाएको छ।  

भानु जन्मस्थल चुँदी रम्घामा उनको जन्मजयन्तीको समयमा मात्रै कार्यक्रम हँुदै आएका छन्। चुँदी रम्घालाई साहित्यक पर्यटकीय केन्द्र बनाउन आवश्यक रहेको चुँदीका स्थानीय लक्ष्मी आचार्यले बताए। ‘चुँदी रम्घालाई सरकारले उपेक्षा ग¥यो,’ उनले भने, ‘केन्द्र सरकारमातहत राखेर यसको विकास गरिनुपर्छ।’ भानु–४ का स्थानीय हृदयनाथ आचार्यले सरकारले भानु जन्मस्थल विकास समितिलाई जुन हिसाबले विकास गर्नुपर्ने हो, त्यो हुन नसकेको बताए।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागमा रहेर काम गरिरहेको भानु जन्मस्थल विकास समिति हाल स्थानीय तहमा राखिएको छ। उक्त समितिलाई केन्द्र सरकारमातहतै राख्नुपर्ने भनेर आफूहरूले भन्दै आएको र यसलाई केन्द्र सरकारले सुन्नुपर्ने भानु नगरपालिकाका उपप्रमुख आशा थापाले बताइन्।

प्रकाशित: २९ असार २०७७ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App