२५ श्रावण २०७७ आइतबार
समाज

मानव पाइलाले चुमेनन् शिखर

कोरोना कहर

गत वर्ष मेमा सगरमाथा आरोहण गर्दै गरेका आरोहीको लाम। फाइल तस्बीर

कोरोना महामारी सुरु नभएको भए यति बेला कीर्तिमानी आरोही कामिरिता शेर्पा २५औं पटक सगरमाथा चढेर काठमाडौं फर्किसकेका हुन्थे। आफ्नै कीर्तिमान तोड्दै ‘५० वर्षमा २५ चोटि सगरमाथाको सफल आरोहण’ गर्ने उनको लक्ष्यमा कोरोना भाइरस अवरोध बनिदियो।  

यसअघि २४ चोटि सगरमाथा र ३६ चोटि अन्य हिमाल चढेर सर्वाधिक हिमाल आरोहण गर्ने व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाएका उनी यति बेला कपनस्थित घरमै आरोहण खुल्ने समयको प्रतीक्षामा छन्।

सरकारले गत मार्च १६ मा एकाएक आरोहण बन्द गरेसँगै कामिरिताको मात्रै आरोहण तालिका परिवर्तन भएन, सन् १९५३ पछि पहिलोपटक यो वर्ष कुनै पनि हिमालको आरोहण भएन। कामिरिता आरोहणका लागि बन्दोबस्तीका सामान बोकेर लुक्ला पुगिसकेका थिए। एकाएक लकडाउन सुरु भएपछि उनले नयाँ कीर्तिमान बनाउन त सकेनन् नै, विदेशीसँग भएका सम्झौतासमेत रद्द गरेर बेरोजगार बने। राष्ट्रिय अभियानका रुपमा सरकारले आयोजना गरेको ‘भ्रमण वर्ष २०२०’ ले हौसिएका आफूलगायत पर्यटन व्यवसायसँग सम्बन्धित दुई लाखभन्दा बढी व्यक्तिको दैनिकी परिवर्तन भइसकेको उनले बताए।

मजबुत अर्थतन्त्र भएका मुलुकहरू पर्यटन व्यवसायबाट नै समृद्ध बनेका हुन्। नेपालले पनि पछिल्लो समय पर्यटन उद्योगमार्फत गतिलै विदेशी मुद्रा आर्जन गर्दै आएको छ। तर २०२० भने कोभिड १९ का कारण नेपाली आरोहण क्षेत्रका लागि कालो वर्ष बनेको कामिरिताको भनाइ छ।

अवस्था नबिग्रेको भए यति बेला भ्रमण वर्ष २०२० आधा भइसकेको हुन्थ्यो। देशभरका होटल विदेशी पाहुुनाले भरिभराउ हुन्थे। विमानस्थलमा आन्तरिक तथा बाह्य उडानबाट आएका पाहुनाको घुइँचो हुन्थ्यो। पदमार्ग र आरोहण क्षेत्रमा विदेशी पाहुनाको चहलपहल भइरहेको हुन्थ्यो। तर कोरोना भाइरसले पर्यटन व्यवसाय नै धराशयी बनाएको छ। त्यसमध्ये खर्चालु पर्यटक भित्र्याउने पर्वतारोहण क्षेत्र लकडाउनमा पर्दा मुखमा राख्न खोजेको गाँस खोसिएको भान भइरहेको सुनाउँछन् कामिरिता।

एक्कासि लकडाउन हुँदा आफ्नो मात्रै नभएर आरोहणसँग सम्बन्धित हजारौंको जागिर गुमेको र सरकारले आरोहण खोल्ने निर्णय नगर्दा विदेशीले सोेध्दा जवाफ दिने शब्द नै नभएको उनले सुनाए। ‘दैनिकजसो विदेशीले फोन गर्छन्। पहिले सम्झौता भएका विदेशी आरोहीलाई चुचुरोमा पु¥याउने जिम्मेवारी लिन नपाउँदा गह्रुँगो महसुस भएको छु,’ उनले भने, ‘आरोहणसँग सम्बन्धित हजारौं दक्ष जनशक्तिलाई यो समय हिमाल सफाइमा मात्रै लगाउन सकेको भए पनि नेपालका हिमालबारे विश्वमा सकारात्मक सन्देश दिन सकिन्थ्यो। तर त्यो काम गर्ने तयारी पनि शून्य छ।’

आर्थिक सर्वेक्षणअनुसार नेपाल आउने पर्यटकमध्ये १७ प्रतिशत पदयात्रा र पर्वतारोहणमा जान्छन्। तर सन् २०२० मा अहिलेसम्म नेपालका कुनै पनि हिमालको चुचुरोमा मानव पाइला पुग्न सकेको छैन।

कोरोना भाइरसकै कारण यो वर्ष आधार शिविर सुनसान बन्यो। आर्थिक सर्वेक्षणअनुसार नेपाल आउने पर्यटकमध्ये १७ प्रतिशत पदयात्रा र पर्वतारोहणमा जान्छन्। तर सन् २०२० मा अहिलेसम्म नेपालका कुनै पनि हिमालको चुचुरोमा मानव पाइला पुग्न सकेको छैन। हिमाल आरोहण हुन नसक्दा हरेक वर्ष यसबाट सरकारलाई प्राप्त हुने ६० करोड हाराहारी राजस्व यसपालि घाटा लागेको छ।

यो वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न पर्यटन विभागबाट पाँच समूहले अनुमति लिएका थिए। उनीहरु कसैले पनि चुचुरो टेक्न नपाउँदा सन् २०२० अनुमति लिएर पनि आरोहण नभएको वर्षमा दर्ता भएको छ। यसअघि सन् २०१५ मा पनि नेपालका कुनै पनि हिमालको चुचुरोमा मानव पाइला परेको थिएन। त्यस वर्ष भने आरोहण नै नखुलेका कारण कसैले चढ्न नपाएका हुन्।

पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार यो वर्ष आरोहण शुल्क (हिमाली दस्तुर) बापत १३ जनाबाट सरकारलाई चार लाख ७५ हजार सात सय पाँच रुपैयाँ प्राप्त भएको छ। उनका अनुसार विभागले पर्वतारोहणबाटसन् २०१६ मा २५ करोड ५७ लाख, २०१७ मा ४१ करोड ५८ लाख, २०१८ मा ४६ करोड ९२ लाख र २०१९ मा ६८ करोड ६० लाख हिमाली दस्तुर प्राप्त गरेको थियो।

सन् २०१८ मा आठ हजार ६ सय ४१ जना र सन् २०१९ मा एक हजार नौ सय २१ आरोहण दलका आठ हजार दुई सय ५४ जनाले हिमाल आरोहणको अनुमति लिएका थिए। यो वर्ष एकजना महिला र १२ पुरुषले आरोहण अनुमति लिएका थिए।

निर्देशक आचार्यले पनि आरोहण क्षेत्र सुनसान बन्दा हजारौं मजदुर प्रभावित भएको बताइन्। आन्तरिक तथा बाह्य हवाई उडान बन्द रहेकाले आरोहण क्षेत्रले कहिलेसम्म क्षति बेहोर्ने भनेर अनुमान लगाउन अप्ठेरो परेको उनको भनाइ छ। ‘वर्षभरि नै आरोहणका लागि खुला हुने नेपालका चार सय १४ हिमाल चढ्न विशेषतः वसन्त र शरद् ऋतुमा विदेशी आरोही आउँथे,’ उनले भनिन्, ‘यो वर्ष सुरुदेखि नै आधार शिविरहरुमा कोभिडको प्रभाव बढ्दै गएकाले आरोहण गतिविधि शून्य भयो। जसले गर्दा हिमालमा आश्रित व्यक्तिहरु सबैभन्दा बढी मारमा परेका छन्।’

नेपालमा झन्डै तीन हजार हिमाल छन्। विश्वका आठ हजार मिटरमाथिका १४ हिमालमध्ये आठवटा नेपालमा छन्। त्यस्तै ६ हजार मिटरमाथिका एक हजार तीन सय १० हिमाल नेपालमा छन्। ‘कोभिड १९ का कारण कुनै पनि हिमाल आरोहण हुन नसक्दा सरकारले राजस्व र मजदुरले रोजगारी गुमाए,’ आचार्यले भनिन्।

नेपालको हिमाल आरोहण कहिलेदेखि सुचारु हुन्छ भन्दै विदेशीले चासो राखे पनि आन्तरिक तथा बाह्य विमान सेवा नखुल्दा आरोहणको सम्भावना कम छ। यद्यपि आउने सिजनसम्म यही अवस्था नरहने आचार्यको अपेक्षा छ। गत वर्षको शरद् ऋतुमा मात्रै पाँचवटा भर्जिन हिमाल आरोहण भएको विभागले जनाएको छ।

सन् २०१८ सम्ममा पाँच हजार आठ सय ६४ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। तीमध्ये चार सय आठजना महिला छन्। तथ्यांकअनुसार सन् २०१० मा एक सय ७०, २०११ मा एक सय ६५, २०१२ मा एक सय ७४, २०१३ मा दुई सय ४२, २०१४ मा एक, २०१५ मा शून्य, २०१६ मा एक सय ९७, २०१७ मा एक सय ९९ र २०१८ मा दुई सय ६२ जनाले सगरमाथाको आरोहण गरेका थिए।

प्रकाशित: २९ असार २०७७ ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App