६ वैशाख २०८१ बिहीबार
समाज

बाढीबाट विस्थापितलाई सुरक्षित स्थानमा सार्न थालियो

मोरङको सुनवर्षी–३ स्थित कैमी टोलमा बाँध नाघेर बस्तीमा पसेको बक्राहा खोला । तस्बिरः नागरिक

केही दिनदेखि परेको अविरल बर्षाका कारण जिल्लाको विभिन्न स्थानमा बाढीले धान खेत कटान र पानीको सतह बढेपछि विस्थापितलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । लगातारको बर्षाले मोरङको बक्राहा, चिसाङ, केसलियालगायतको खोलामा आएको बाढीले धान खेत, घर बस्ती कटान गरेको छ भने कयौं घर डुबानमा परेपछि मानिस र चौपायलाई सुरक्षित स्थानमा सार्न थालेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोरङमा अहिलेसम्म बाढी र डुबानले मानवीय र चौपाय क्षति नभएको बताएको छ । 

विराटनगर महानगरपालिकाको पश्चिमतर्फ रहेको केसलिया खोला आएको बाढी विराटनगर वडा नम्बर ६ र १२ केही घर डुबानमा परेका छन् । ६ नम्बर वडाको ब्रम्हपुराको केही घर र १२ नम्बर वडाको सिमराइ बस्तीमा बाढी पसेपछि ३० घरपरिवार विस्थापित भएका छन् । डुबानबाट विस्थापित भएका ३० घरपरिवारका करिब १ सय ५० जनालाई उद्वार गरी बखरी स्कुलमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।

कानेपोखरी गाउँपालिका–५ स्थित दुखी टोलबाट चिसाङ खोलाले कटान सुरु गरेपछि जोखिममा रहेका ७ घरका ३२ जना परिवारलाई रमाइलो प्रहरी चौकीको टोलीले भंसाबारी विद्यालयमामा सार्ने काम गरेको जनाएको छ । त्यहाँ खोलाले २ विघा जग्गा कटान गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । कानेपोखरी–२ चिसाङ बस्तीका पाण्डव ऋषिदेव र सलाङ ऋषिदेवका दुई वटा घर बगाउँदा दुई लाख रुपैयाँ बराबरको क्षति भएको राईले बताए । 

त्यसैगरी, उर्लाबारी नगरपालिका भएर बग्ने बक्राहा खोलामा आएको बाढीले धान खेती गरिएको ११ विघा १४ कठ्ठा जग्गा कटान गरिसकेको छ । प्रहरीका अनुसार मानवीय क्षति नभएको भए पनि कटानबाट ६४ जना प्रभावित भएका छन् । उर्लाबारी–३ स्थित रामनगर चोकमा तेली खोलाले एक जनाको घर कटान गरे पनि मानवीय क्षति नभएको र घरका सम्पूर्ण सामग्री सुरक्षित स्थानमा प्रहरीले पुर्‍याइ दिएको बताइएको छ । 

त्यस्तै, रंगेली–८ नहर चोक छेउ र मैनाबारीमा चिसाङ खोलामा आएको बाढीले ४० विघा धान खेत डुबानमा परेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाको १५ स्थानलाई बाढीको उच्च जोखिमा रहेको छ । बक्राहा खोलाबाट मिक्लाजुङ– ६, ७ र ९, उर्लाबारी–१ र ४, पथरीशनिश्चरे–५, सुनवर्षी–३ र रतुवामाई–१, ५ र ९ नम्बर वडा जोखिममा रहेको जनाएको छ । लोहन्द्रा खोलाबाट बेलबारी–१, ग्रामथान–४, कटहरी–६ जोखिममा छ भने चिसाङ खोलाबाट लेटाङ–२, गछिया खोलाले सुन्दरहरैंचा–६ र ९ नम्बर वडा उच्च जोखिममा विपद् व्यवस्थापन समितिले राखेको छ । विराटनगरको ४,५,६ र ११ मा केसलिया खोला र १, ८, १०, ११ र १९ नम्बर वडामा सिंघिया खोलाको बाढीको जोखिम रहेको जनाएको छ ।

प्रकाशित: २८ असार २०७७ ११:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App