१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अनियमितता भएको भन्दै उजुरी, सात लाख ५० हजारको काम ५९.३ घण्टा मात्र

रोल्पाको एक स्थानीय तहले सडक निर्माणमा भ्रष्टाचार भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी निवेदन परेको छ । लुङग्री गाउँपालिकाको वडा नं. ५ मा रहेको दहचौर, भालुमारे, तामखोला, आम्बोट मोटरबाटो योजनाका अध्यक्ष विकास सुनार र गाउँपालिकाका प्राविधिक टोलीले भ्रष्टाचार गरेको आरोप लगाउदै स्थानीयले छानबिनका लागि संयुक्त रुपमा निवेदन दिएका हुन् ।

उनिहरुका अनुसार उपभोक्ता समितिका अध्यक्ष र प्राविधिक मिलेर ठूलो रकम दुरुपयोग भएको छ । स्थानीय रेमबहादुर विष्ट, ओमबहादुर बुढाथोकी, दीपक विष्ट, बोमबहादुर के.सी., किसन विष्ट, शुक्रराज बुढाथोकी र पूर्णचन्द्र घर्तीमगरले संयुक्त निबेदन लेखि छानबिनको लागि भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गरेका छन् ।

रोल्पाको लुङग्री गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट विनियोजित सात लाख पचास हजार रुपैयाँ रकमबाट दहचौर, भालुमारे, तामखोला, आम्बोट मोटरबाटो योजना समपन्न गर्ने स्थानीय विकास सुनारको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको थियो । सोहि गाउँपालिकाका शिवराम घर्तीसँग सम्झौता गरी डोजर प्रयोग गरेर मोटरबाटो खनिएको हो ।  

सरोकारवाला उपभोक्ताहरुले अनुगमन गर्दा डोजरले ५९.३ घण्टा मात्र काम गरेको देखिएको उजुरी निबेदनमा लेखिएको छ । विनियोजित रकम भन्दा निकै कम काम भएको तर उपभोक्ता समितिको अध्यक्ष र गाउँपालिकाको प्राविधिक टिमले अनुगमन गरी कार्य सम्पन्न मूल्याङ्कन गरेको भन्दै स्थानीयहरु आक्रोसित बनेका हुन । साथै उपभोक्ता समिति अध्यक्षले बैठक पुस्तिकामा समितिका अन्य पदाधिकारीहरुलाई जानकारी नदिई किर्ते हस्ताक्षर गरी बैठकको निर्णय पेश गरी उक्त कामको रकम निकासा दिन अन्तिम तयारी गरेको समेत आरोप लगाइएको छ ।  

शतप्रतिशत अनियमितता तथा भ्रष्टाचार भएको ठहर गर्दै उक्त रकम निकासा रोक्का गरिदिनुहुन साथै सत्यतथ्य छानविन गरिदिनुहुन भन्दै उनिहरुले उजुरी गरेका हुन ।

गाउँपालिकाको दररेट यस्तो छ
गाउँपालिकाले ठूलो जोडरले खनेको ५ हजार रुपैयाँ प्रतिघण्टा र ब्रेकर लगाएको ६ हजार रुपैयाँ प्रतिघण्टा दररेट निर्धारण गरेको छ । गाउँपालिकाको यस दररेट अनुसार ५९.३ घण्टाको २ लाख ९६ हजार ५ सय हुन आउँछ । यदि सबै ठाउँ ब्रेकर लगाएको भए पनि ३ लाख ५५ हजार ८ सय हुन्छ ।

उक्त उपाभोक्ता समितिले निर्माण गरेको कार्य गाउँपालिकाको प्राविधिक टोलीले कार्य समपन्न मूल्याङ्कन गरेको छ । स्रोतका अनुसार उक्त कार्य सम्पन्न मूल्याङ्कनमा १ हजार १ एक सय ६३ घनमिटर माटो, १ सय २६ घनमिटर नरम चट्टान, १ सय २६ घनमिटर मध्यम चट्टान र २ सय ९८ घनमिटर कडा चट्टान फोरेर जम्मा २ सय ६७ मिटरको मोटरबाटो निर्माण भएको छ ।

स्थानीयहरुले गाउँपालिकामा दिएको निबेदन उपर गतिलो सुनुवाई नभएपछि जिल्ला प्रशासनमा निबेदन दिन पुगेका थिए । लुङग्री गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष भरतकुमार थापाले जिल्ला प्रसाशनमा उजुरी परेकाले उतैबाट निकास आउने बताए । ’गाउँपालिकामा निबेदन परेपछि फेरी पनि प्राबिधिक लगेर देखाउदा क्वान्टिटी पुगेको रिर्पोट आएको छ । सम्झौता नै ७ लाख ५० हजारमा भएको हो ।‘

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय रोल्पाले सहायक प्रमुख जिल्ला अधिकारीलाई छानबिनको जिम्मा दिएको छ । ’सहायक प्रमुख जिल्ला अधिकारीलाई के भएको हो हेर्न बुझ्न जिम्मा दिएको छु ।‘ प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले भने ’उहाँको प्रतिबेदनका आधारमा अगाडी बढ्ने छु ।‘ उता गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले पनि आफूकहाँ उजुरी परेको स्वीकार गर्दै भने ‘भुक्तानी रोक्न उजुरी परेको थियो अहिलेलाई भुक्तानी रोकिएको छ । फेरी प्राबिधिकलाई कन्फर्म गर्न लगाउने र दुबै पक्षलाई छलफल गराउने सोच बनाएको छु ।’

प्रकाशित: २८ असार २०७७ १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App