coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्दु खोलाले बगाएर एकको मृत्यु, निर्माणाधिन पार्कमा क्षति

सर्दुको बाढीले क्षति पुगेको तारा सुब्बा स्मृति पार्क । तस्बिरः नागरिक

तीन दिनदेखिको निरन्तरको बर्षासँगै धरानको सर्दु खोलामा आएको बाढीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ भने निर्माणाधिन तारा सुब्बा स्मृति पार्कमा क्षति पुर्‍याएको छ ।

सर्दु खोलाले हिजो शनिबार धरान १३ स्थित राई टोल नजिकबाट ६० वर्षीय रामबहादुर बस्नेतलाई बगाएर बेपत्ता पारेको थियो । खोलामा बाढी आएको बेला तर्न खोजेका बस्नेतलाई बगाएको थियो । उनको शव आज बिहान धरान ११ स्थित सर्दु खोलामा भेटिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

यस्तै, सर्दु खोलामा राती आएको बाढीले निर्माणाधिन धरान १६, नौलो बस्तीस्थित तारा सुब्बा स्मृति पार्कमा पनि कटान गरेर क्षति पुगेको छ । निर्माणाधिन पार्कको जग्गा संरक्षण गर्न बनाइएको वालको ४ वटा सेट भत्काएको वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । यो पार्क २०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी मेयर तारा सुब्बाको स्मृतिमा निर्माण भइरहेको हो । मेयरमा निवार्चित भएको वर्ष दिनपछि उनको निधन भएको थियो ।  

वडा अध्यक्ष दिलकुमार गिरीका अनुसार ३ वटा वालको सेट भत्किसकेको छ भने एउटा पनि भत्काउन लागेको छ । ‘३ वटा वाल भत्किसकेको छ, एउटा भत्कनै लागेको छ,’उनले भने,‘पार्कको जग्गा जोगाउन ३ वर्षअघि वाल निर्माण गरिएको थियो ।’वाल ९ फिट गहिरो खनेर उठाइएको भए पनि खोला वर्षेनी गहिरिदै गएको र रातीको बाढीले कटान गरेर भत्काएको गिरीले बताए । उनका अनुसार वालको एउटा सेटको मूल्य १ लाख ४३ हजार बराबर भएको थियो ।  

यसैगरि, धरानको वडा नं ३ र १५ को सिमानामा पर्ने निराजन बस्ती नजिकै पहिरो खस्दा एउटा टहरा पुरिएको छ भने छिन्छिङ भोटेको घर जोखिममा परेको छ । वडा नं ३ का अध्यक्ष आशाकुमार श्रेष्ठका अनुसार सोही ठाउँमा विगतमा पनि पहिरो गएको कारण वाल उठाइएको थियो । अहिले सोही ठाउँमा पहिरो गएर वाल पनि भत्काएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार भोटेको घर पनि पहिरोले लड्नै लागेको छ ।  

यस्तै, सेउती खोलामा आएको बाढीले राती धरान ५ स्थित सुन्दरबस्तीमा २ घरमा क्षति पुगेको छ । प्रहरीका अनुसार तिलक बस्नेतको बाँसको टाटी लगाएको घर बगाउदा करिब २ लाख बराबर क्षति पुगेको छ भने मन्दिरा जोगरीको टिनको बार भएकै घर बगाउदा थप २ लाख बराबर क्षति पुगेको छ । सोही ठाउमा अन्य ८ घरहरु बाढीको जोखिममा रहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित: २८ असार २०७७ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App