७ वैशाख २०८१ शुक्रबार
समाज

सिसुवा पहिरोमा चारको जीवितै उद्धार,हराइरहेकाको पहिचान

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ। पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन्। चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन्। प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेका छन्।  

स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरामा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ। गाउँलेहरुको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो। अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको छ। दमका बिरामी मदन राईको हृदयघात भएर मृत्यु भएको पनि प्रहरी नायब उपरीक्षक मल्लले बताए।  

पहिराले राममान राई, जुद्धबहादुर राई, माने राई, जुद्धबहादुर राई, गैरी राई, नगमाया राई, सन्दीप राई, भीमबहादुर राई, शिवधन राई र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ। अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बासिन्दा गाउँ पहिराले बगाएको हो। घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी परिचालन गरिसकिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए। घटनास्थल विकट र सडक सञ्जालसमेत नभएको स्थानमा भएकाले प्रहरी पुग्न समय लाग्ने उनले बताए।

सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन्। उनीहरुलाई घटनास्थल पुग्न कम्तीमा १२ घण्टाभन्दा बढी लाग्छ।  त्यस्तै, ताम्कुबाट पनि नेपाली सेनाको टोली र स्वास्थ्यकर्मीको टोली औषधिसहित घटनास्थलतर्फ लागेका छन्। घटनाको थप विवरण आउन बाँकी छ। मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान तयारी अवस्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन टाढा पर्छ। यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थल गइरहेका छन्। 

प्रकाशित: २८ असार २०७७ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App