१५ चैत्र २०८० बिहीबार
समाज

आरोपित खड्कालाई नेपाल ल्याइयो

३३ किलो सुन प्रकरण

३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका एक आरोपित हरिशरण खड्कालाई शनिबार नेपाल ल्याइएको छ। उनलाई नेपाल ल्याइएसँगै सो तस्करीको थप रहस्य खुल्ने अनुमान गरिएको छ। हिमालय ऐयरलायन्समार्फत् खड्कालाई नेपाल ल्याइएकोे हो।  

३३ केजी सुन अनुसन्धान गर्न बनेको विषेश अनुसन्धान टोलीले बनाएको प्रतिवेदन लामो समयसम्म प्रधानमन्त्री कार्यालयै थन्किएको छ। सो प्रतिवेदनअनुसार सरकारले तस्करीमा संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाउन भने सकेको छैन।  

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले आरोपित व्यक्तिलाई नेपाल ल्याएपछि थप रहस्य खोज्नउक्त प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए। प्रतिवेदनमा लेखिएको कुरा बाहिर सार्वजनिक गरेपछि मात्रै थप रहस्य खुल्नसक्ने उनको भनाइ छ। ‘प्रकरणका मुछिएका व्यक्तिलाई नेपाल ल्याएर अनुसन्धान गर्दा थप रहस्य त खल्छ नै, तर, त्योभन्दा पहिले उच्चस्तरीय सुन अनुसन्धान समितिले बनाएको प्रतिवेदन सार्वजनिक हुनुपर्छ।’  

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगेको बताए। प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले भने प्रतिवेदनबारेआफूलाई जानकारी नै नभएको बताए। उनले पुरानो प्रकरण भएकाले उक्त विषयमा आफूलाई थाहा नभएको जानकारी दिए। ‘मलाई यसबारेमा जानकारी छैन, कसले के–के गरे भन्नेबारमा मैले बुझेको छैन,’ उनले भने।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेपछि खड्का प्रहरीको खोजीमा थिए। उनी युएईमा पक्राउ परेका थिए। उनलाई युएईबाट कानुनी प्रक्रिया पूरा गरी इन्टरपोलमार्फत नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका एसएसपी रामकृपाल साहले जानकारी दिए। उनका अनुसार फरार प्रतिवादीका रूपमा रहेका उनको मोरङमा जिल्ला प्रहरी कार्यालय मुद्दा छ। प्रहरीले उनलाई आइतबार मोरङ लगेर जिल्ला अदालतसमक्ष पेस गर्नेछ। ‘रेडकर्नरका आधारमा खड्कामाथि हत्या र अपहरणको मुद्दा पनि परेको छ, उनी सुन प्रकरणमा मुछिएका व्यक्ति थिए,’ एसएसपी शाहले भने, ‘यसबारेमा अन्य जानकारी प्रहरीको अध्ययनपछि मात्रै थाहा होला।’  

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले २०७३ पुस २१ गते बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा उनी जोडिएका थिए।त्यसयता उनी युएइमा बस्दै आएका थिए। त्यहाँ बसेर उनले नेपालमा रहेका सुन व्यवसायीको मिलोमतोमा दुबईबाट सुन पठाउने कार्य गर्दै आएको तथ्य प्रहरीले फेला पारेको थियो। उनी नेपाल बाहिर लुकीछिपी बस्दै आएका कारण उनमाथि रेडकर्नर जारी भएको थियो। सोही आधारमा युएई प्रहरीले उनलाई पक्राउ गरेको थियो।

प्रहरी प्रधान कार्यालयका अनुसार उनी २०७५ माघमा युएईमा पक्राउ परेका थिए। उनीमाथि इन्टरपोलले अनुसन्धान गर्दै आएको थियो। उनी १० वर्षदेखि युएइमा बस्दै आएका थिए।नेपाल प्रहरीका प्रवक्ता निरज शाहीलेरोजगारका लागि युएई गएका खड्का विभिन्न तस्करीमा संलग्न हुँदै आएका थिए। उनी सुन तस्करको जालोसँग जोडिएको र इन्टरपोलमार्फत नेपाल प्रहरीले उनको धन्दाबारे अनुसन्धान थालेको छ।

 ‘हामीकहाँ इन्टरपोलले पत्र पठाएको थियो, सोही आधारमा हामीले विमानस्थलबाट पक्राउ गरेका हौं,’ प्रवक्ता शाहीले भने, ‘नेपालमा ल्याएपछिको कानुनी र अनुसन्धान पक्रिया सुरु भएको छ।’उनले युएईमै बसेर मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ सँग मिलेर सुन तस्कर गर्दै आएका थिए। यसबारेमा उक्त प्रकरणको अनुसन्धानको लागि बनेको उच्चस्तरीय सुन अनुसन्धान समितिले रिर्पोट पनि सार्वजनिक गरेको थियो।

प्रकाशित: २८ असार २०७७ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App