७ वैशाख २०८१ शुक्रबार
समाज

तस्करी गर्न नपाएपछि प्रहरीलाई धम्की

तस्करी गर्न नपाएपछि मोरङका तस्करहरूले ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिन थालेका छन्। विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीमा ड्युटीमा रहेकी महिला प्रहरीलाई गालीगलौज गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  

विराटनगर–१५ का ३९ वर्षीय रामजी मण्डललाई शुक्रबार साँझ पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। ड्युटीमा  खटिएकी महिला  प्रहरीलाई गालीगलौज गरी, धम्की दिएको आरोपमा विराटनगर–१५ बाटैमण्डललाई पक्राउ गरेको हो। मण्डलले लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रमा रहेर मरिच, केराउ, रजनिगन्धालगायतका वस्तुहरूको  तस्करी गर्ने गरेको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार मरिच,केराउ भारततर्फ र रजनिगन्धाको नेपालतर्फ तस्करी हुने गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का मोरङ सरुवा भएर आएसँगै तस्करी नियन्त्रण सुरु गरेकाछन्। सीमामा हुने चोरी तस्करीमा कडाइ गर्न थालेपछि तस्करी धन्दा चलाउन नपाएका उनले ड्युटीमा रहेका प्रहरीलाई तस्करीको लाइन खुलाउनु पर्ने भन्दै अनेक धम्की र दबाब दिने गरेको सुरक्षा स्रोतको भनाइ छ।  

मण्डलविरुद्ध प्रहरीले केही दिनअघि अभद्र व्यवहार मुद्दा दर्ता गरेको थियो। फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय रानीको टोलीले शक्रबारराति पक्राउ गरेर कारबाही अघि बढाउन हिरासतमा लिएको हो। मण्डलले तस्करी नियन्त्रणमा सक्रिय रहेर अवैध सामान वारपार गर्न नदिने प्रहरीलाई अन्यत्र सरुवा गरिदिने धम्की दिएको एसपी खड्काको भनाइ छ। खड्काले भने, ‘मण्डलले ड्युटीमा रहेका प्रहरीलाई अन्यत्र सरुवा गरिदिने, जागिरै खोसिदिनेसम्मको धम्की दिने गरेको पाइएको छ।’  

तस्करी धन्दामा लामै समयदेखि मण्डल सक्रिय रहेको प्रहरीको दाबी छ। प्रहरीले नेपालबाट भारततर्फ तस्करी गर्दै गरेको अवस्थामा असार १४ गतेराति विराटनगर–१६ दरैयाबाट ठूलो परिणामको मटर बरामद गरेको थियो। त्यतिबेला एक लाख ९५ हजार मूल्य बढीको २ हजार ४ सय २५ किलो केराउ र केराउ लोड गरिएको को १ त ६२१९ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त केराउ तस्करीमा मण्डलको संलग्नता रहेको प्रहरीको दाबी छ।  

त्यही रात केराउ बरामद गरेको स्थान नजिकै सडकबाट प्रहरीले को १४ प ६८७४ नम्बरको मोटरसाइकल बेवारिसे र शंकास्पद अवस्थामा फेला पारेको थियो। अनुसन्धानका क्रममा मोटरसाइकल मण्डलकै रहेको खुलेको छ। तस्करी गर्दै गर्दा केराउ नियन्त्रणमा लिइएको थाहा पाएर मोटरसाइकल बाटैमा छाडेर उनी फरार भएका थिए। अनुसन्धानका लागि ल्याएको मोटरसाइकल मण्डलले असार १८ गते साँझ जबरजस्ती इलाका प्रहरी कार्यालय रानीबाट निकालेर लैजान पनि खोजेका थिए।  

मोटरसाइकल लैजान नदिनलाई रोक्ने क्रममा उनले ड्युटीमा रहेकी प्रहरी जवान कविता राउतमाथि अपशब्द प्रयोग गरेर गालीगलौज गर्दै हातपातसमेत गरेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो। गालीगलौज, दुव्र्यवहार र हातपात गर्दै प्रहरीलाई ड्युटीमा बाधा अवरोध गरेको भनेर राउतले किटानी जाहेरीसमेत दिएकी छन्।  

नेपाल–भारत सीमा क्षेत्र रानीमा रहेको चाइना मार्केटमा मण्डलको किराना पसल छ। त्यही पसलको आडमा उनले तस्करी धन्दा चलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: २८ असार २०७७ ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App