६ चैत्र २०८० मंगलबार
समाज

म्याग्दीमा बाढीपहिरोमा २७ जनाको मृत्यु, चारजना अझै बेपत्ता

घाइते १२ जनाको हेलिकप्टरमार्फत उद्धार

म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये अहिलेसम्म २६ जनाको शव भेटिएको छ । मराङमा बेपत्ता भएकामध्ये १८ जना र विममा ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

मराङको पहिरोमा परेर बेपत्ता भएकाहरूमध्ये सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुसा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र प्रकाश केसीको मृत अवस्थामा शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए । यसैगरी ३३ वर्षीया हिरामति जुग्जाली, ७ वर्षीया करिश्मा जुग्जाली, ५ वर्षीया कन्चन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २० वर्षीया दिमा जुग्जाली, उहाँको ४ वर्षीया छोरी दिप्ती जुग्जाली र १ वर्षीय छोरा दिवान जुग्जालीको पनि शव भेटिएको छ ।

त्यस्तै मालिका–७, विमको पहिरोमा बेपत्ता ४० वर्षीय विष्णु पौडेल, ४ वर्षीया इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विरबहादुर नेपाली, उहाँको ३ महिनाको छोरी निशा नेपाली, विष्णु नेपाली र सन्दिप नेपालीको मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । रघुगंगा गाउँपालिका–६, पाखापानीस्थित ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको खोलाले बगाउँदा मृत अवस्थामा शव भेटिएको छ । मराङमा गएको पहिरोमा परी घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । 

पहिरोमा परेर गम्भीर घाइते मराङको २२ वर्षीया मन्जिता श्रीपाली, ८ वर्षीय सफल श्रीपाली र मालिका–७, विमका ४० वर्षीय पूर्ण परियारलाई बेनी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा रिफर गरिएको हो । मालिका–६, दरबाङका बालसिंह रोकालाई भने थप उपचारका लागि नेपाल मेडिसिटी हस्पिटल काठमाडौंमा रिफर गरिएको छ , त्यसैगरी मराङकै ८७ वर्षीया गौमती सुनार र ६३ वर्षीया सतदेवी बिटाुललाई पनि बेनी अस्पतालबाट पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । 

मराङका ४३ वर्षीय धनबहादुर जुग्जाली, ३५ वर्षीय कुशल पुन, २२ वर्षीय दिपक श्रीपाली, १६ वर्षीय बिर्सना जुग्जाली, १२ वर्षीय अंकित जुग्जाली र ७२ वर्षीय हरिबहादुर बिटालु भने बेनी अस्पतालमा उपचार गरी घर फर्किएका छन् । मराङ र विममा आएको पहिरोमा परेकामध्ये तीनजना जीवितै सम्पर्कमा आएको भए पनि अझै चारजना बेपत्ता भएका छन् । बेपत्तामध्ये ५१ वर्षीया जनिमा केसी, १६ वर्षीय सविन पुन, मालिका–७, विमको एलिसा केसी र खोलाले बगाउँदा मालिका–६, दरबाङका ४१ वर्षीय गीता रोका नभेटिएको प्रहरीले जनाएको छ । 

पहिरोमा परेर घाइते भएका सबैको प्रभु एअरको हेलिकप्टर र नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि बेनी अस्पतालमा ल्याइएको थियो । घाइतेहरुको टाउको, मेरुदण्ड, हातखुट्टा र शरिरका विभिन्न भागमा चोटपटक लागेको उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् । यता  खोजीकार्य र उद्धार तथा पुनस्थापनालाई आइतबार विहानैबाट सुरु गरिने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । ‘बेपत्ताको खोजीकार्यलाई निरन्तरता दिएका छौ,‘अब अस्थायी बासस्थान बनाउने कार्यमा जुट्छौ’ उनले भने । बाढीपहिरोबाट क्षती भएका र जोखिमपूर्ण स्थानबाट करिब ९ सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

प्रकाशित: २७ असार २०७७ १६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App