coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डुब्यो ‘गोबरगाढा’ गाउँ, डुबान पीडितको उद्धारका लागि हाइअलर्टमा उद्धारकर्मी

कोसी नदीको पानी गाउँ पस्ता ढुबानामा गोबरगाढा गाउँ । तस्बिरः नागरिक

मनसुनसँगै निरन्तरको बर्षापछि कोसी नदीमा बढेको पानीको बहाव हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा गाउँ पसेपछि ढुबान भएको छ । चारैतिरबाट कोसी नदीले घेरिएको टापु गाउँ ‘गोबरगाढा’ सँग सहरको सम्पर्क विच्छेद भएको छ ।

गोबरगाढाका ७० घरधुरीका करिब १ सय जना घर छोडेर आधारभूत विद्यालय(राप्रावि)मा आश्रय लिएका छन । उनीहरु शनिबार दिउँसो चामल भुटेर भोक भेटेका छन । हुनमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले चामल, दाल, चिउरा लगायतका खाद्यान्न शनिबार राती गोबरगाढा पठाएको वडा अध्यक्ष विन्देश्वरी यादवले बताए ।

खाद्यान्न सामग्री, ग्यास चुलो, ग्यास सिलिन्डर मेयर साबले पठाइदिनुभएको छ अध्यक्ष यादवले भने,‘आइतबारबाट स्कुलमा मेस संचालन गरेर यहाँका वाढी पीडितलाई खाना खुवाउँछौं ।’ चारैतिरबाट कोसी नदीको बाढीले गाउँ घेरिएपछि विजोग भएको छ । मानिसको घरघरमा पानी पसेर ढुबान भएको छ । चुलो, अन्न, लताकपडा, दाउरा सबै डुबेको वडाध्यक्ष यादवले बताए । नाउमा चढेर डुबान बस्तीबाट मानिसहरुलाई उद्धार गरेर आश्रय स्थलमा ल्याएको राखेको यादवले बताए ।  

बस्तीका सर्वसाधारणहरु गाउँ छोडेर जान मानिरहेका छैनन् । गाईबस्तु, घर, घरमा भएका सामान छोडेर उनीहरु हनुमाननगर जान मान्दैनन अध्यक्ष यादवले भने,‘आफूहरु गइहाले गाइबस्तु, सरसामान चोरी भैहाल्छ कि भनेर उनीहरु जानै मान्दैन । नजीकै भारतीय गाउँ भएकाले उताका मान्छे आएर घरका सामान, गाइबस्तु लगिहाल्ने हो कि डरले उनीहरु बाढीको विपद् सामना गरेरै भएपनि गाउँ छोड्न चाहदैनन्, उनले भने ।

मेयर शैलेशकुमार साहले डुबान पीडितहरुलाई त्यहावाट निकालेर हनुमान नगर ल्याउन वडा अध्यक्षलाई भन्दै आएका छन । तर, गाउँले मानिरहेका छैनन् । घर डुबेर गाउँकै स्कुलमा आश्रय लिएर बसेका गोबरगाढाका महेन्द्र सादाले नागरिकसँग भने,‘डुबान र विस्थापनको पीडा हाम्रालागि नौलो होइन । बाजेको पालादेखि यो पीडा भोग्दै आएका छौं उनले भने,‘छाप्रो भएपनि घर त घरै हो नि, छाडेर कसरी गैहालौं । घामपानीमा ओत दिने छाप्रो छोडेर सहर जान सक्दैनौ ।’ वर्षौदेखि वर्खामा बाच्नका लागि संघर्ष गर्दै आएका दीलिप राजककालागि डुबान नौलो होइन । टापुमा बसेपछि बाढी र डुबानसँग संघर्ष चलिरहन्छ उनले भने,‘अन्नपता डुबेपछि भोकभोकै बस्नुपर्दा कष्ट लाग्छ । भोक मेट्ने उपाय भैदिए जसोतसो जीवन बाँचिहाल्थे ।’

७५० उद्धारकर्मी सुरक्षाकर्मी तयार
मनुसुनसँगै अविरल बर्षाले बाढी र डुबानको जोखिम बढ्न थालेपछि प्रदेश २ का तीनवटै सुरक्षा निकायका साढे सात सय सुरक्षा उद्धारकर्मी तयारी अवस्था तायनाथ गरिएको छ । प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवका अनुसार तीनवटा सुरक्षा निकायका एड्भान्स तालिमप्राप्त करिब साढे सातसय सुरक्षाकर्मीलाई बाढीमा फसेकाहरुलाई उद्दार गर्न तायनाथ गरिएको छ । उनका अनुसार नेपाल प्रहरीका तीनसय जना, सशस्त्र प्रहरीका डेढ सय जना र नेपाली सेनाका करिब तीन सय जनालाई सम्बन्धित सुरक्षा निकायले नै प्रशिक्षण दिएर उद्धाररका लागि तयार पारेको छ ।  

बाढीले डुबान र कटान गर्न सक्ने सम्भावित नदी तथा बस्ती को नक्शांकन गरी बाढीको संकेत आउनासाथ सम्बन्धित क्षेत्रका बासिन्दालाई अलर्ट गराउने व्यवस्था गरिएको छ’ मन्त्री यादवले नागरिकसँग भने,‘ बाढीमा फसेकालाई तत्कालै उद्दार गर्न दुइवटा हेलिकोप्टर पनि स्टेन्डवाइ राखिएको छ ।’ संघीय सरकारसँग समन्वय गरी एउटा हेलिकोप्टर काठमाडौंमा र अर्को विराटनगरमा प्रदेश २ का लागि तयारी अवस्थामा राखिएको उनले बताए ।  

यस बाहेक उद्दारपछि आवश्यक पर्ने राहतका सामग्री समयमै प्रभावकारी ढंगले पीडित परिवारसम्म पुर्याउन स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको छ । प्रदेश २ मा सर्लाही र रौतहट जिल्लाको सीमा नदीको रुपमा रहेको बागमती, रौतहट र बाराको बीचमा रहेको बकैया, धनुषा र सिरहाको बीचमा रहेको कमला तथा सप्तरी र सुनसरीको बीचमा पर्ने कोसी नदीमा आउने बाढीले डुबान र कटानको समस्या निम्त्याउँदै आएको छ । त्यस्तै, बलान, रातु, घुर्मी, जलाद लगायत खोलाले पनि गाउँबस्ती डुबानमा पर्ने र खेतियोग्य जग्गा कटान गर्दै आएको छ ।

प्रकाशित: २७ असार २०७७ १४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App