coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तस्करी गर्न नपाएपछि प्रहरीलाई धम्की

तस्करी गर्न नपाएपछि मोरङका तस्करहरूले ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिन थालेका छन् । विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीमा ड्युटीमा रहेकी महिला प्रहरीलाई गालीगलौज गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

विराटनगर–१५ का ३९ वर्षीय रामजी मण्डललाई शुक्रबार साँझ पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । ड्युटीमा  खटिएकी महिला  प्रहरीलाई गालीगलौज गरी, धम्की दिएको आरोपमा विराटनगर–१५ बाटै मण्डललाई पक्राउ गरेको हो । मण्डलले लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रमा रहेर मरिच, मटर, रजनिगन्धालगायतका वस्तुहरूको  तस्करी गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मरिच, मटरको भारततर्फ र रजनिगन्धाको नेपालतर्फ तस्करी हुने गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का मोरङ सरुवा भएर आएसँगै तस्करी नियन्त्रण सुरु गरेका छन् । सीमामा हुने चोरी तस्करीमा कडाइ गर्न थालेपछि तस्करी धन्दा चलाउन नपाएका उनले ड्युटीमा रहेका प्रहरीलाई तस्करीको लाइन खुलाउनु पर्ने भन्दै अनेक धम्की र दबाब दिने गरेको सुरक्षा स्रोतको भनाइ छ ।  

मण्डलविरुद्ध प्रहरीले केही दिनअघि अभद्र व्यवहार मुद्दा दर्ता गरेको थियो । फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय रानीको टोलीले शक्रबार राति पक्राउ गरेर कारबाही अघि बढाउन हिरासतमा लिएको हो । मण्डलले तस्करी नियन्त्रणमा सक्रिय रहेर अवैध सामान वारपार गर्न नदिने प्रहरीलाई अन्यत्र सरुवा गरिदिने धम्की दिएको एसपी खड्काको भनाइ छ । खड्काले भने, ‘मण्डलले ड्युटीमा रहेका प्रहरीलाई अन्यत्र सरुवा गरिदिने, जागिरै खोसिदिनेसम्मको धम्की दिने गरेको पाइएको छ ।’  

तस्करी धन्दामा लामै समयदेखि मण्डल सक्रिय रहेको प्रहरीको दाबी छ । प्रहरीले नेपालबाट भारततर्फ तस्करी गर्दै गरेको अवस्थामा असार १४ गते राति विराटनगर–१६ दरैयाबाट ठूलो परिणामको मटर बरामद गरेको थियो । त्यतिबेला एक लाख ९५ हजार मूल्य बढीको दुई हजार चार सय २५ किलो मटर र मटर लोड गरिएको को १ त ६२१९ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त मटर तस्करीमा मण्डलको संलग्नता रहेको प्रहरीको दाबी छ ।  

त्यही रात मटर बरामद गरेको स्थान नजिकै सडकबाट प्रहरीले को १४ प ६८७४ नम्बरको मोटरसाइकल बेवारिसे र शंकास्पद अवस्थामा फेला पारेको थियो । अनुसन्धानका क्रममा मोटरसाइकल मण्डलकै रहेको खुलेको छ । तस्करी गर्दै गर्दा मटर नियन्त्रणमा लिइएको थाहा पाएर मोटरसाइकल बाटैमा छाडेर उनी फरार भएका थिए । अनुसन्धानका लागि ल्याएको मोटरसाइकल मण्डलले असार १८ गते साँझ जबरजस्ती इलाका प्रहरी कार्यालय रानीबाट निकालेर लैजान पनि खोजेका थिए ।  

मोटरसाइकल लैजान नदिनलाई रोक्ने क्रममा उनले ड्युटीमा रहेकी प्रहरी जवान कविता राउतमाथि अपशब्द प्रयोग गरेर गालीगलौज गर्दै हातपातसमेत गरेको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । गालीगलौज, दुव्र्यवहार र हातपात गर्दै प्रहरीलाई ड्युटीमा बाधा अवरोध गरेको भनेर राउतले किटानी जाहेरीसमेत दिएकी छन् ।  

नेपाल–भारत सीमा क्षेत्र रानीमा रहेको चाइना मार्केटमा मण्डलको किराना पसल छ । त्यही पसलको आडमा उनले तस्करी धन्दा चलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित: २७ असार २०७७ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App