६ वैशाख २०८१ बिहीबार
समाज

सहकारीको ४३ करोड रकम अपचलन मुद्दाका फरार अध्यक्ष पक्राउ

पक्राउ परेका संस्थाका अध्यक्ष हरदेव बक्स चौधरी। तस्बिर : नागरिक

नेपालगन्जस्थित सहकारी वित्तिय विकास संस्था लिमिटेडका संस्थापक अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। संस्थाको ४३ करोड रुपैयाँ अपचलन गरेको मुद्दामा अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) ओम रानाले ४३ करोड रकम अपचलन गरेको मुद्दाका फरार प्रतिवादी चौधरीलाई पक्राउ गरिएको जानकारी दिए।  

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ भवानीयापुर निवासी संस्थापक अध्यक्ष चौधरीले पटक–पटक सहकारीको नेतृत्व सम्हाल्दै आएका थिए। उनलाई शनिबार विहान साढे ९ बजेतिर विशेष सूचनाको आधारमा जमुनाहाबाट पक्राउ गरिएको रानाले बताए। उनका अनुसार सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको ४३ करोड २ लाख ५३ हजार ९५ रुपैयाँ अपचलन गरेको, ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमती जारी भएपछि चौधरी फरार भएका थिए। उनी नेपालगन्ज तथा भारतीय भुमीमा लुकिछिपी बस्दै आएका थिए।  

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ५२ करोड कुल पुँजी भएको उक्त सहकारीबाट ४३ करोड अपचलन भएको पुष्टी भएको थियो। लामो अनुसन्धान पश्चात प्रहरीले एक वर्षअघि संस्थापक अध्यक्ष चौधरीसहित ४१ जना विरुद्ध बाँके जिल्ला अदालतमा मुद्दा चलाएको थियो। सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गंगाधर सुवेदी, बैंङिक प्रबन्धक अरुणकुमार पाठक, शाखा प्रबन्धक सुर्यबहादुर विश्वकर्मा र उप–सहायक बलराम यादवलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ।  

यस्तै संस्थाका उपाध्यक्ष रबिन्द्र थापा, गौरवकुमार श्रेष्ठ र किरण श्रेष्ठ पक्राउ परेपनि अदालतको आदेशमा किरण धरौटीमा छुटिसकेका छन्। गौरव र रबिन्द्र पनि थुनामै रहेको प्रहरी स्रोतले जनाएको छ। उक्त प्रकरणमा मुद्दा दायर गरिएका मध्ये नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष अजयकुमार पाठक र वडा नम्बर १८ का वडाअध्यक्ष दीपककुमार बर्मासहित २५ जना अदालतमा उपस्थित भएर धरौटी बुझाएका थिए, भने अन्य ७ जना अझै फरार रहेको बताइएको छ। उक्त सहकारीका करिव १२ हजार निक्षेपकर्ता र एक हजार ८ सय बढी शेयरधनी छन्। संस्थामा एक व्यक्तिले पाँच सय रुपैयाँदेखी ५० लाख रुपैयाँसम्म रकम जम्मा गरेका थिए।  

सहकारीका निक्षेपकर्ता र शेयरधनीले रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा यसअघि नै निवेदन दिइसकेका छन्। सहकारीको रकम अपचलन गर्नेलाई कानुनी कारबाही र रकम फिर्ता गर्नुपर्ने माग राख्दै यसअघि आन्दोलन भएका थिए। नेपाल राष्ट्र बैंकले सिमित वित्तीय कारोबार गर्ने अनुमति दिएको जिल्लाकै पहिलो सहकारी बैंकका रुपमा रहेको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले सहकारीको रकम अपचलन प्रकरणका आरोपी चौधरी पक्राउ परेको बताए। प्रहरीले पक्राउ गरेपछि चौधरीलाई कानुनी कारबाही हुने उनको भनाई छ।  

प्रकाशित: २७ असार २०७७ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App