३० श्रावण २०७७ शुक्रबार
समाज

शैलेश शैली

व्यक्तिवृत्त

जागिर सुरु गर्दा अहिलेका आइजिपी शैलेश थापा क्षेत्रीको पहिलो पोस्टिङ प्रहरी प्रशिक्षण तालिम केन्द्र महाराजगन्जमा भएको थियो। त्यतिबेला उनका पिता शम्भु थापा प्रहरी डिआइजी थिए।

आमाको चाहना हुन्थ्यो– बाबुछोरा एउटै गाडीमा कार्यालय जाऊन्, फर्किंदा सँगै आऊन्।  सायद हर आमाको यस्तै चाहना हुन्छ।  आमाकै चाहनामा जसोतसो घर (भक्तपुर)बाट बाबुछोरा एउटै गाडीमा निस्के भने पनि सूर्यविनायक वा ठिमीको पुलनिर आएपछि गाडीबाट शैलेश ओर्लिन्थे। र, सार्वजनिक यातायात चढेर महाराजगन्जतिर लाग्थे।  

उनका पिताले भन्थे, ‘प्रहरीको यो नीलो गाडी मलाई चढ्न दिएको हो, मेरो परिवारका सदस्यलाई होइन। त्यसो गरियो भने दुरुपयोग हुन्छ, सरकारी सम्पत्तिको दोहन गर्नु हुँदैन।’  

बुवालाई प्राप्त सरकारी सेवा–सुविधाको उपयोग शैलेशले बिरलै गरे, त्यो पनि मेसोमेलो मिल्दा। ‘सरकारी सुविधाको दुरुपयोग गर्नु हँुदैन’ भन्ने पिताको आदर्श वाक्यबाट प्रभावित शैलेशले एआइजी हुँदासम्म आफ्नो सवारीसाधनमा कसैलाई चढाएनन्। आफ्ना लागि सुरक्षा गार्ड र सहयोगी समेत राखेनन्।  

आजकाल दुई प्रश्न एकसाथ अघि आउँछन्– मानिस किन इमानदार हुनुपर्छ ? नभए के हुन्छ वा कोही किन बेइमान हुन्छन् ?  

खैर, सत्यलाई विश्वास गर्ने केही मात्र इमानदार बन्न सक्छन् भन्ने एक पात्रको रूपमा देखिएका छन्– नेपाल प्रहरीका २८औं आइजिपी शैलेश।  

शैलेशका पिता शम्भु थापा नेपाल प्रहरीकै इमानदार प्रहरी अधिकृतका रूपमा चिनिन्थे। बाबुको सोर्सफोर्स चल्ने समयमै उनी नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भए, २०४९ वैशाख १८ मा।  

शम्भुले छोरालाई प्रहरीमा जागिरे हुन प्रेरणा त दिएका थिए, तर मेरो छोरो भर्ना हुँदै छ भनेर कसैलाई भनेका थिएनन्।

तालिमका क्रममा शैलेश पहिलो भए। शम्भुले असाध्यै खुसी हुँदै भने, ‘इमानदारपूर्व जिम्मेवारी निर्वाह गर्नू।’  

शैलेशले पिताको इमानदारीका कथा प्रहरी संगठनभित्रबाट पनि थाह पाउन थाले। घरमा मात्र होइन, प्रहरी संगठनमा पनि पिताले देखाएको बाटोबाट उनी विचलित भएनन्। यो क्रम २८ वर्षसम्म कायम रह्यो। यही बाटोले उनलाई कसैसँग नझुकी, कसैको दैलो नढुकी आइजिपीको शिखर चढायो।  

२०२५ मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका– ५ (साविक कटुन्जे गाविस–९) मा जन्मेका शैलेश बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्। उनले भक्तपुरको सरकारी स्कुल शारदा माध्यमिक विद्यालय व्यासीबाट २०४० मा एसएलसी गरे। त्यस्तै, नेपाल कमर्स क्याम्पस मीनभवनबाट स्नातक तह र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरे। उनका साथीहरूका अनुसार थापाको स्कुले र क्याम्पस स्तरको पढाइ औसत थियो। तर, जब यिनी नेपाल प्रहरीको सेवामा प्रवेश गरे, उनले आफूलाई अब्बल बनाउँदै लगे। नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) र आर्मी स्टाफ कलेजबाट पनि ग्राजुयसन गरे।  

०००
शैलेश कलेज पढ्दै थिए। कामविशेषले उनी एकपटक बुवालाई भेट्न नेपालगन्ज पुगे, जहाँ उनका पिता क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख थिए। नेपालगन्ज कहिल्यै नगएका शैलेशले पितालाई टेलिफोनमार्फत आफू नेपालगन्ज बसपार्क आइपुगेको जानकारी गराए। उनको मनमा लागेको थियो– बुबाले गाडी पठाउनुहुन्छ, म त्यसैमा चढेर जान्छु।  

तर पिताको जवाफ आयो, ‘रिक्सा चढेर आइज।’  

उनी रिक्सा चढेर क्षेत्रीय प्रहरी कार्यालय पुगे। बुबाले सोधे, ‘कसरी आइस् ?’ शैलेशले ‘क्षेत्रीय प्रहरी कार्यालय कता छ भन्दै सोध्दै आएको’ बताए।

शम्भुले भने, ‘हो, छोरो भएपछि यसरी नै आउने हो। सबै ठाउँ थाह पाउनुपर्छ। एक्लै हिँड्न जान्नुपर्छ।’  

यसरी शैलेशले पिताबाट हर पाइलामा ज्ञान पाइरहे। बुवाकै आदर्श र ज्ञानलाई पछ्याएरै उनले आफ्नो इमानमा दाग लाग्न दिएनन्। उनलाई चिन्ने–जान्नेहरू भन्छन्– शैलेशको स्वभाव पनि बुबाकै जस्तो छ। धेरै आशावादी छन्– नेपाल प्रहरीको संगठनात्मक छवि थप राम्रो बनाउन शैलेशले भूमिका खेल्ने छन्।  

राजनीतिक शक्ति केन्द्रबाट टाढा  
२८ वर्षको अवधिमा शैलेशले खासै आकर्षक पोस्टिङ पाएनन्। उनले जान पनि चाहेनन्। अरुले जस्तो उनले ‘मलाई यो ठाउँमा पोस्टिङ चाहियो’ भनेर कसैलाई भनेनन्। कहिल्यै राजनीतिक शक्तिकेन्द्र धाएनन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख हुँदा गृह मन्त्रालयमा हुने बैठकबाहेक गृहमन्त्रीलाई छुट्टै भेट्न कहिल्यै मन्त्रालय गएनन्। नेपाल प्रहरीभित्र शैलेश राजनीतिक शक्ति केन्द्र र नेताहरूसँग कम सम्बन्ध भएका एक मात्र प्रहरी अधिकारी हुन् भन्दा अतिशयोक्ति नहोला। उनी डिआइजीका रूपमा महानगरीय प्रहरी आयुक्त कार्यालय पुगेपछि दर्जाविनाको यो ‘आयुक्त’ शब्द ठीक भएन भनेर हटाइदिए। उनी जानुभन्दा अगाडि रानीपोखरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी थियो। डिआइजीको दरबन्दी कायम भएपछि उनले दर्जाविनाको पद आवश्यक ठानेनन्। लामो समय आइजिपी सचिवालयमा बस्दा राजनीतिक शक्तिकेन्द्रले प्रहरी संगठनलाई कसरी दुरुपयोग गर्छ ? प्रहरी कर्मचारीहरू शक्तिको आडमा आफ्नै संगठनभित्र कसरी प्रयोग हुन्छन् भन्ने राम्रोसँग नियालेका शैलेशले आफूलाई भने निरन्तर टाढा राखे। प्रहरी महानिरीक्षक सिफारिस हुनु अघिसम्म राजनीतिक पहँुचबाट आफू टाढा रहेको सन्देश दिन उनी सफल भए। उनी नियम–कानुनबाहिर जान सकिँदैन भन्ने मान्यता राख्छन्। कसैकसैले उनको यस्तो स्वभावलाई अव्यावहारिक पनि भन्ने गरेका छन्। तर, उनी आफैँ भन्ने गर्छन्, ‘कानुनले दिएको अधिकारबाहेक म अर्को अधिकार प्रयोग गर्न सक्दिनँ, यसबाट साथीहरू रिसाउनु पनि भएको छ। थाह छैन मैले गलत गरेँ कि सही !’  

एसएसपी हुँदासम्म टोलमै भेटिन्थे  
एसएपी हुँदासम्म उनी हरेक बिहान दुई घन्टा हिँड्थे र टोलकै चिया पसलमा साथीभाइसँग गफिन्थे। आफ्नो टोल छिमेकमा उनले प्रहरीका बारेमा कहिल्यै कुरा गर्दैनथे। छिमेकीले पनि प्रहरीमा केही काम पर्दा शैलेशलाई भनेनन्। उनीहरुलाई थाहा थियो– शैलेशले सोर्सफोर्सको काम गर्दैन।  

टोलमा उनी प्रहरीभन्दा अलग भएर बस्न चाहन्थे। उनी र उनको बाबुको सोर्स लगाएर भक्तपुर र टोल छरछिमेकमा कोही पनि प्रहरी सेवामा प्रवेश गरेको रेकर्ड छैन।  

शैलेश डिआइजी भएपछि भने सातामा एक दिन मात्रै टोलमा देखिन थालेका थिए।

टोल छरछिमेकीका अनुसार, अहिले पनि शैलेशका बुबाले बिहान आफैँ तरकारी किनेर घर लैजान्छन्। घरमा आमा र पत्नीले पकाएको सादा खाना खाएपछि शैलेसको दैनिकी सुरु हुन्छ। सातामा एक दिन भने उनी मजैले मासुभात खान्छन्।

आफू जतिकै पढेलेखेकी र क्षमतावान् पत्नीलाई घरबाट बाहिर निकाल्न नसकेकामा बेलाबेला आत्मग्लानि गर्ने शैलेशको बानी छ। घरमा बुबाआमा, छोरीको हेरचाहको जिम्मा उनकी पत्नीले सम्हालेकी छिन्।  

आफ्नो कार्यकक्षमा आउनेलाई पनि उनी खाजा खुवाउन जान्दैनन् वा चाहँदैनन्, कालो चियाले बिदा गर्छन्।  

विनम्र स्वभावका उनी कार्यालयमा खाजा खानुप¥यो भने ब्याचमेटसँगै हुन्छन्। ब्याचमेटसँगको हार्दिकताले पनि कोही कसैलाई चिढ्याइहाल्ने स्वभाव उनको छैन भन्ने प्रस्ट हुन्छ। केटाकेटीहरूसँग खुबै रमाउन चाहन्छन् तर उनीसँग फुर्सद छैन। आलोचक भने उनलाई झन्झटमा नफस्ने र ‘बोल्ड डिसिजन’ गर्न नसक्नेका रूपमा अथ्र्याउँछन्। प्रहरी नेतृत्वसँग नजिक बसेर काम गरेको, अनुभवले खारिएको र इन्स्पेक्टरदेखि डिआइजी हुँदासम्म प्रहरी महानिरीक्षकको सचिवालयमा काम गरेका कारण उनलाई निर्णय गर्न अप्ठेरो छैन भन्नेहरू पनि उत्तिकै छन्।  

संगठन प्रमुख भएपछि उनको आजसम्म निर्माण भएको ‘इमानदार छवि’मा दाग लाग्ला कि भन्ने प्रश्न पनि उठिरहेको छ। राजनीतिक शक्ति र संगठनभित्रको शक्तिलाई ‘मिलाएर’ हिँड्ने बाटो कुनै पनि प्रहरी प्रमुखका लागि चुनौतीपूर्ण छ। यत्तिका वर्ष लगाएका निर्माण गरेको ‘इमानदार छवि’ धमिलिएला कि भन्ने चिन्ता आफन्तजन र शुभचिन्तकमा लाग्नु स्वाभाविकै हो। त्यसैले शैलेशको परीक्षणकाल सुरु भएको छ।  

आइजिपीका चुनौती  
लामो समय आइजिपी सचिवालयमा काम गरेका शैलेश त्यो उच्चासनको चुनौतीबारे जानकार छन्। राजनीतिक शक्तिकेन्द्रदेखि व्यापारिक झमेला, ठेक्का–पट्टाका बिचौलियालाई समेत उनले निकटबाट नियालेका छन्। बिचौलियामुक्त प्रहरी संगठन बनाउनु उनको पहिलो दायित्व हुनेछ।

उनका लागि अर्को चुनौती छ– अघिल्ला दुई आइजिपीले पत्ता लगाउन नसकेका फरार अपराधी पक्रनु। यसमध्ये प्रमुख हो– निर्मला पन्तको हत्या प्रकरण सुल्झाउनु।

कुमार पौडेलको इन्काउन्टर प्रकरण पनि चुनौतीका रूपमा देखिएको छ। राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन नेतृत्व र इन्काउन्टरमा संलग्न भनिएका प्रहरीलाई कारबाही गर्न निर्देशन दिएको भए पनि अहिलेसम्म कारबाहीको प्रक्रिया अघि बढेको छैन।  

प्रहरीमा राजनीतिक शक्तिको आडमा सरुवा–बढुवा हुने गरेको छ। विशेषगरी राजनीतिक पहुँच भएका प्रहरीहरू अगाडि जाने, राम्रो ठाउँमा सरुवा हुने प्रवृत्ति छ। यसलाई संगठनबाटै टुंगो लगाउने जिम्मेवारी पनि शैलशको काँधमा छ। पहिलो त उनकै ब्याची प्रद्युम्न कार्की र निरजकुमार शाहीलाई एआइजीमा बढुवा गर्नुछ। विगतमा आइजिपी हुनेहरूले प्रतिस्पर्धीलाई साथ लिन नसक्दा विवादित भएका थिए। अहिले शैलेशको नीति देखिन्छ– आफ्ना प्रतिस्पर्धीसँग मिलेर जाने र साथ सहयोग लिने। संगठनमा काम गर्ने प्रहरी अधिकृतलाई व्यक्तिगत रिस र कुण्ठाका आधारमा कारबाही गर्ने परिपाटी देखिन्छ। यसलाई अन्त्य गर्ने दायित्व पनि उनीमाथि छ।  

प्रहरी संगठनमा हुने गरेका भ्रष्टाचारलाई शून्यमा झार्ने, कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका प्रहरीलाई जोखिमबाट मुक्त गर्ने, खरिद प्रक्रियामा देखिएको अनियमितताको जालोलाई तोड्ने लगायत चुनौती उनको अगाडि छ। प्रहरी महानिरीक्षक हुनु भनेको कुशल व्यवस्थापक हुनु पनि हो। करिब ८० हजारको संगठित फौजलाई परिचालन गर्ने जिम्मेवारी एकातिर छ, त्यसमाथि प्रदेश प्रहरी समायोजनको अर्को चुनौती पनि उनको काँधमा आइलागेको छ। त्यस्तै, अघिल्ला आइजिपीले गर्न नसकेका काम पूरा गर्नुछ। योभन्दा धेरै प्रहरीको गिरेको साख जोगाउने कठिन उकालोबाटो हिँड्न तयार हुनुपर्छ। 

प्रकाशित: २७ असार २०७७ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App