coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जुरे पहिरोपीडित भन्छन्, सरकार हाम्रा लागि रहेनछ

सिन्धुपाल्चोकको जुरेमा २०७१ साउनमा गएको पहिरो। फाइल तस्बिरः नागरिक

घडीमा रातको २ बजेको हुँदो हो, उनी मस्त निद्रामा  थिए। अचानक घरको छानोमा बडेमानको ढुंगा बजारियो। निद्रामा मस्त कुमार पौडेल झसंग भए। घरको करेसामा ढुंगा र माटो खसिरहेकोे आवाज आयो। उनी हतारहतार बाहिर निस्किए। घरको छेउछाउ भेलपहिरो बगिरहेको थियो। पहिरो आएको पत्तो पाएपछि उनले छोराछोरी र बुवाआमालाई जंगलतर्फ दौडाए। भारी वर्षामा भिज्दै उनीहरु दुई किलोमिटर पर पुगे। करिब ३ बजे पानी रोकियो। पौडेलेसहित पाँचजनाको परिवार घरतर्फ फर्किन लाग्यो। घरजनिक पुग्नै लाग्दा पहिरोबाहेक केही देखिएन। पहिराले उनको गाउँ नै बगाइसकेको थियो। पौडेल परिवार जंगलतर्फ भागेर बच्यो।  

सिन्धुपाल्चोकको जुरेका पौडेललाई २०७१ साल साउन १६ गतेको यो घटनाले अहिले पनि बेलाबेलामा झस्काउँछ। कहिले निको नहुने शूल बनेको यो घाउले उनलाई घरी भावुक बनाउँछ त घरी रुवाउँछ। पहिरोमा उनले २३ रोपनी जग्गा र दुईवटा घर गुमाएका थिए। तर उनलाई राहत दिन सरकारले कुनै चासो देखाएको छैन। घरबार बगेर उठिबास हुँदा उनले सरकारबाट पाएको अनुदान एकदुई महिनालाई पुग्ने खानेकुरामात्रै हो।  

अहिले उनी चावहिलमा बस्छन्। उनी भन्छन्, ‘सम्झेर कति रुनु, आफ्नो जग्गा कहाँ थियो भन्ने नामोनिसानसमेत छैन, पहिरो गएको ठाउँमा सरकारले बाटो बनाएको छ। मेरो २३ रोपनी जग्गा कहाँ गयो थाहा छैन। हाम्रो लागि सरकार म-यो।’

जुरेका पहिरोपीडितका लागि भनेर प्रवासी दाजुभाइले २ करोड २४ लाख ६६ हजार रुपैयाँ संकलन गरी जिल्ला दैवी प्रकोप उद्धार समितिको खातामा राखिदिएका थिए। त्यो रकम अझै त्यही खातामै थन्किएको छ।

सोही पहिरोमा जुरे क्षेत्रको तामाङ समदुाय पनि नराम्ररी प्रभावित बनेको थियो। पहिरोले गाउँमा भएका अधिकांशको ज्यान गएको थियो। सोही घटनामा सम्पूर्ण सहारा गुमाएर एक्लो बनेका व्यक्ति हुन् कालु तामाङ। उनी पहिरो जाँदा घरमा नभएर बाँचेका थिए। भाग्यले बाँचेका तामाङ भन्छन्, ‘त्यो दिन घर जाने निर्णय गरेको थिएँ, काम गर्ने ठाउँमा साथीलाई पालो दिँदा घर जान पाइनँ, घर गएको भए म पनि बाँच्ने थिइनँ।’  

पहिरोमा छोराछोरी, पत्नी र बाबुआमा गुमाएका उनी अहिले ज्याला मजदुरी गर्छन्। ‘सम्पत्ति त गुम्यो नै, आफन्त कोही नहुँदा एक्लो भइँदोरहेछ,’ उनले सुनाए, ‘दुःख पर्दा रोइदिने समेत कोही छैन मेरो त।’

तत्कालीन राम्चे गाविस वडा ५ जुरेका मंगल तामाङले पनि पहिरोका कारण आफन्त र सम्पत्ति गुमाए। पहिरोले उठिबास हुनुपूर्व उनको जीवन सुखी थियो। गाउँको टन्न जग्गाजमिन थियो। तर दुई घण्टाको पहिरोले उनको जिन्दगीलाई सडकमा ल्याइदियो। एक दिनअघि टन्न सम्पत्ति र ठूलो परिवारमा रमाएका मंगले भोलिपल्ट घरबार र सम्पत्तिविहीन बने। शुक्रबार नागरिककर्मीसँग उनले भने, ‘मैले १३ जना आफन्त गुमाएँ, दुई छोरीको बिहे भएर अन्तै गएकाले बाँचे। पहिरो जाने बेला म बाह्रबिसे किस्टोन अस्पतालमा गार्डको रुपमा काम गर्थें, त्यो समयमा घरमा हुन्थें भने म पनि पुरिन्थें।’ अहिले उनी राजधानीको नारायणटारमा एक सरकारी कार्यायलमा आश्रय लिएर बस्दै आएका छन्।  

सबै आफन्त र सम्पत्ति गुमाएका यी पीडितका लागि सरकारले भने केही पनि गरेको छैन। अवस्था हेर्दा सरकार उनीहरुजस्ता पीडितका लागि होइन भनेजस्तै देखिन्छ। त्यति बेला जिल्ला प्रशासन कार्यालयले किरिया खर्च भनेर केही पीडितलाई ५० हजारका दरले रकम दिएको थियो। जुरेका ६ परिवारले मात्रै यो राहत पाएका छन्। अन्य पीडितले सरकारको तर्फबाट कुनै राहत नपाएको जुरे पहिरोकी पीडित सीता पौडेलले बताइन्। उनले ठूलो क्षति हुँदा पनि सरकारले पीडितलाई सम्बोधन नगर्दा कतिपयको बिचल्ली भएको सुनाइन्।

जुरेकै पहिरोपीडितका लागि भनेर प्रवासी दाजुभाइले २ करोड २४ लाख ६६ हजार संकलन गरेका थिए। उक्त रकम जिल्ला दैवी प्रकोप उद्धार समितिको खातामा राखिदिएका थिए। त्यो त्यही खातामै थन्किएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पीडितलाई राहत दिन प्रतिवेदन तयार पारी एक वर्षअघि नै गृह मन्त्रालयमा पठाएको बताए। उनले फाइल गृहमै अड्किएकाले काम गर्न कठिन भएको जानकारी दिए। ‘पहिले नै यो प्रक्रिया सुरु भएको थियो। माथिल्लो निकायले काम गरिरहेकाले हामीले यसमा चासो नदिएका हौं,’ उनले भने।

बाढीपीडितको पीडा सम्बोधन गर्न सरकारले ६ महिनाअअघि गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालय सञ्चालनमा ल्याएको थियो। यो कार्यालयलाई विपद्सम्बन्धी गतिविधि सञ्चालन गर्ने जिम्मा दिइएको छ। तर पीडितका सवालमा प्राधिकरणले तथ्यांकसमेत तयार पार्न सकिरहेको छैन। देशभरि कति पीडितले राहत पाए र कतिलाई राहतको खाँचो छ भन्नेसम्बन्धमा तथ्यांक संकलन गर्न पनि सकिरहेको छैन। गृहको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा ७३ हजार ८ सय १८ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन्। तर यी परिवारलाई बाढीपहिरो पीडित भनेर राहत वितरण गरिएको छैन। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढीपहिरो र अन्य विपद्लाई फरक तरिकाले व्याख्या गरेर राहतको व्यवस्था नगरिएको बताए। उनले भने, ‘तत्काल आवश्यकता पर्नेलाई सरकारले राहत वितरण पनि गरेको छ तर राहत पाउनेहरुको तथ्यांक हामीसँग छैन।’

प्रकाशित: २७ असार २०७७ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App