६ चैत्र २०८० मंगलबार
समाज

जम्बु बाढी पीडित : गाँस न वास

जम्बु र बुल्कुटे बाढीपहिरो घटनाका पीडित सम्बन्धित निकायको बेवास्ताको सिकार बनेका छन् । उनीहरुले अहिलेसम्म कुनै निकायबाट राहत पाएका छैनन् । पीडित सुरक्षित स्थानमा रहेका आफन्तकोमा बास मागेर बस्न बाध्य छन् । कति जना बिस्थापित भए, राहत दिनुपर्नेको संख्या कति हो भन्ने तथ्यांक कुनै निकायसम्म छैन । पीडितको तथ्यांक संकलन गर्ने कामसम्म शुक्रबार हुन सकेन ।  

जम्बुमा ११ घर बगेका थिए । त्यस्तै बस्न मिल्ने भए पनि झण्डै १० घर सम्भावित पहिरोको जोखिममा छन् । जम्बु बजार घटनाको दिनदेखि नै खाली छ । पीडित उच्च स्थानमा बास खोज्दै उक्लिएका छन् । पीडित साईँला अधिकारीले आफूहरुको खाना र बसाईँबारे कसैले ध्यान नदिएको गुनासो गरे । ‘कहाँ बस्ने टुंगो छैन । राशनको व्यवस्था पनि गरिएको छैन,’ परिवारका ६ सदस्यसहित आफन्तकोमा आश्रित उनले टेलिफोनमा भने । बाढीले उनको जम्बुस्थित घर बस्नै नहुने गरी क्षतिग्रस्त छ । बाढीको समयमा भागेर ज्यान जोगाएको अधिकारीले सुनाए ।  

‘सबै पीडितको बेहाल छ । गाँस, वास खोज्दै लाखापाखा लागेका छन्,’ छिमेकीको हालखबर सुनाउँदै उनले भने । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पीडित सुरक्षितस्थल खोज्दै अन्यत्रै हिँडिसकेकाले राहत बितरणका लागि तथ्यांक नै सुरु गर्न नसकेको बताए । ‘दिनभरि मौसम खराब रह्यो । प्रभावित क्षेत्र पुग्ने बाटाघाटा पनि छैनन्,’ राहत वितरणको प्रयास भइरहेको दाबी गर्दै उनले भने ।  

घटनाको दिन प्रभावित क्षेत्रको निरीक्षणमा आएका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री अरुण नेपालले पीडितसँग भेटघाट गर्दै उद्धार र राहतमा कञ्जुस्याईँ र ढिलाइ नहुने आश्वासन दिएका थिए ।  

बिहीबार बिहान याल्बो खोल्सीले बाढीपहिरो ल्याउँदा बाह्रविसे नगरपालिका–५ को जम्बुका दुईको ज्यान गएको थियो । १६ बेपत्ता भएका थिए । त्यस्तै सोही समयमा भोटेकोसी गाउँपालिका–५ बुल्कुटेमा स्थानीय खोल्सीको बाढीले बगाएर चार बेपत्ता बनाएको थियो । बाढीपहिरोमा भोटेकोसी करिडोर क्षेत्रका तीन बस्तीका ३३ घर बगेका थिए ।

प्रकाशित: २६ असार २०७७ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App