६ चैत्र २०८० मंगलबार
समाज

बाढीपहिरोको वितण्डा : भोटेकोसी करिडोरमा थप जनधन क्षति, एक बेपत्ता

भोटेकोसी नदीको उच्च जोखिममा रहेको बाह्रविसे बजार । तस्बिर : ध्रुव/नागरिक

तीन दिनदेखिको अबिरल बर्षाले भोटेकोसी नदी करिडोरमा शुक्रबार थप क्षति पुर्‍याएको छ । भोटेकासी गाउँपालिका–३ लार्चामा बाढीले बस्ती बगाउँदा एक जना बेपत्ता भएका छन् । दुई घाइते भएका छन् । 

भैरवकुण्ड (लार्चा) खोलाको बाढीले १५ घर बगाएको भोटेकोसी–३ का वडाध्यक्ष कैलाश थापाले बताए । तीन जनालाई पहिरोले पुरेकोमा स्थानीयले दुई जनालाई तत्कालै सकुशल उद्धार गरेका थिए । उद्धार गर्न नसकी बेपत्ता एक पुरुषको पहिचान खुल्न सकेको छैन । 

‘घटनापछि बाढी पीडित सुरक्षितस्थल गएकाले बेपत्ताको पहिचान हुन नसकेको हो,’ थापाले भने । छिमेकीलेसँगै लगेकाले घाइतले उपचार पाउन सकेका छैनन् । बाढीले लार्चाकै अरु १० घर क्षतिग्रस्त बनाएको छ । २५ घरको लार्चागाउँवासी पूर्णरुपमा बिस्थापित भएको उनले जानकारी दिए । बिस्थापित सुख्खा भन्दरगाह भन्सार र आथिल्लो स्थानका गाउँमा आश्रय लिइ बसेका छन् । बन्दरगाहमा बसेका १७ लाई त्यहीँबाट आएको सशस्त्र प्रहरीले उद्धार गरेको थियो । 

भोटेकोसी–४ बोलेपाका झण्डै १५ घरका करिब ८० सदस्य नजिकैकै खुला चौरमा बिस्थापित भएका छन् । भोटेकोसीले बस्ती कटान गर्न थालेपछि गाउँ छोडेको बिस्थापित ३७ वर्षीया जाङमु शेर्पाले भनिन् । ‘तीन घर पहिरोले बगाइ सक्यो । नदी बस्तीतिर सोझिएको छ,’ कटानमा घर गुमाएकी उनले टेलिफोनमा भनिन् । भोटेकोसी जलविद्युत आयोजनाले बिहान ४ बजे बाँध खोलिदिएपछि नदीले बस्ती कटान सुरु गरेको उनले जानकारी दिइन् । ‘खुला चौरमा भोकै बसिरहेका छौँ । यहाँ पनि माथि पहरोबाट ढुंगा खसिरहेको छ,’ स्वर कमाउँदै उनले भनिन्, ‘कतै जाने ठाउँ छैन । भोटेकोसी र पहिरोले घेरिएर बसेका छौँ ।’

स्थानीय कुमार श्रेष्ठका अनुसार माथिबाट खसेको चट्टाने पहरोले तातोपानीका पाँच घरमा क्षति पुर्‍याएको छ । पहिल्यै घर खाली गराइएकाले मानवीय क्षति नभएको उनले जनाए । बाह्रविसे–तातोपानीसम्मको २६ किमी दुुरीमा अनगिन्ती पहिरो गएका छन् । अरनिको राजमार्ग क्षतविक्षत छ । बाह्रविसे र भोटेकोसीबीच भौतिक सम्पर्क विच्छेद भएको छ । सडक र सञ्चार सम्पर्क टुटेको छ । जिल्ला प्रहरी प्रमुख एसपी प्रज्जवल महर्जनले घटनाबारे जानकारी आए पनि तातोपानी क्षेत्रमा सुरक्षाकर्मी पुग्न नसकेको बताए । ‘त्यही प्रहरी युनिट भए पनि पहिरोले हिँड्ने बाटो नहुँदा पुग्न नसकेको हो,’ उनले भने ।

बाह्रविसे बजार खाली गराइयो, तल्लो क्षेत्रमा त्रास
भोटेकोसीमा पानीको बहाव उच्च भएपछि पूरानो बाह्रविसे बजार खाली गराइएको छ । नदी सतह भरिएर बजारमा छिर्ने खतरा बढेपछि प्रशासनले स्थानीयलाई सुरक्षित स्थल पठाएको हो । खुर्सानीबारी बजारदेखि बाह्रविसे पुल मुखसम्मको बजारमा खतरा बढेको प्रजिअ ढकालले जानकारी दिए । ‘माइकिङ गरेर बजारवासीलाई सुरक्षितस्थलमा पठायौँ,’ उनले भने । 

नदी बहाव बढ्नुका साथै स्थानीय ठाडा खहरेले बाढीपहिरो ल्याउन थालेपछि भोटेकोसी तल्लो तटीय क्षेत्रमा त्रास बढेको छ । तातोपानी, बाह्रविसे, लामोसाँघु, खाडीचौर बजारवासी त्रसित छन् । त्रासले रातभर सुत्न नसक्ने स्थानीयको गुनासो छ । जलविज्ञान तथा मौसम पूर्वानुमान शाखाको शुक्रबारको अपटेडमा मध्याह्नतिर भोटेकोसी र सुनकोसी नदीमा पानी सतहले चेतावनी तह भेट्न खोजेको थियो ।

प्रकाशित: २६ असार २०७७ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App