६ चैत्र २०८० मंगलबार
समाज

गण्डकी प्रदेशमा बाढिको वितण्डा : ११ जनाले ज्यान गुमाए, ३० बेपत्ता

उत्तरी म्याग्दी हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड अन्तगत गलेश्वरमा राहुघाट खोलाले बगाएको बेलिब्रिज । बेनी–मुस्ताङ सिधा यातायात विच्छेद भएको छ । तस्बिरः हरिकृष्ण गौतम/नागरिक

अविरल वर्षापछिको पहिरोले जनधनको व्यापक क्षति गरेको छ । पहिरोले घर पुरिँदा गण्डकी प्रदेशका तीनवटा जिल्लामा ११ जनाको ज्यान गएको र ३० जना बेपत्ता छन भने केहीँ घाईते भएका छन् । डुबानको चपेटामा परेका धैरै बासिन्दा बिस्थापित भएका छन् । केही गाउँले उद्धारको पर्खाइमा छन् । बस्तुभाउदेखि खेतीयोग्य जग्गा, घरगोठ, पशुपंक्षीको पनि क्षति पुगेको छ ।

प्रहरीका अनुसार पहिरोमा परेर सबैभन्दा बढी कास्कीमा सातजनाको ज्यान गएको छ । त्यस्तै लमजुङमा पहिरोले घर पुरिँदा एकैपरिवारका तीनजनाको मृत्यु भएको छ भने म्याग्दीमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।  

पोखरा महानगरपालिका–१८ सराङ्कोटमा पहिरो जाँदा एकैपरिवारका पाँचजनाको ज्यान गएको छ भने आठजना घाइते भएका छन् ।  शुक्रबार बिहान करिब पौने ३ बजेतिर झरेको पहिरोले स्थानीय टंकबहादुर थापाको घर पुरिदा पाँचजनाको मृत्यु भएको प्रहरीले बताएको छ । टंकीकी छोरी पिंकीको जन्मदिन मनाएर सुतेका उनीहरूको पहिरोले पुरिएर ज्यान गएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए । 

शुक्लागण्डकी नगरपालिकाको पुल्चोकमा सेती नदीमा आएको बाढी । तस्बिर सौजन्यः त्रिलोचन लम्साल

प्रहरीका अनुसार मृत्यु हुनेमा घरधनी ५० वर्षीय टंकबहादुर थापा र उनकी श्रीमती ४५ वर्षीया सोममाया थापा सहित आफन्त ६ वर्षीय सुवान थापा, ८ वर्षीय शीतल श्रेष्ठ र ११ वर्षीया ईशिका थापाको मृत्यु भएको छ । पहिरोमा परेर घाइते भएका आठजनाको मणिपाल शिक्षण र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको हमालले जानकारी दिए ।

मध्यरातमसम्म जन्मदिनको रमझममा रहेका उनीहरू राती १२ बजेपछि मात्रै सुतेका थिए । पहिरोले थिचिँदा सुतेकै ठाउँमा उनीहरूको ज्यान गएको प्र्रवक्ता हमालले बताए । ‘राती करिब पौने ३ बजेतिर गल्र्याम्म गरेको ठूलो आवाज आएको र त्यसलगत्तै पहिरोले घर पुरेको थियो,’ पहिरोमा परेर घाइते भएका अनिश तामाङले भने, ‘अबेर सुतेका थियौं । एकाएक गल्र्याम्म ठूलो आवाज आयो, मलाई त पहिरोले बगाएर कान्लामुनि पुर्याएछ, एकछिन पछि उठेर हेरेको त शरिरभरी हिलैहिलो थियो ।’ होसमा आएपछि उठेर नजिकैको घरमा पुगेर हारगुहार गरेको उनले बताए ।  

ढिस्को खसेर घर पुरियो

टंकको घरमाथि ठुलो ढिस्को थियो । अविरल वर्षाका कारण ढिस्को एक्कासी खस्दा घरमाथिको कृषि सडक पुरियो । जसका कारण सोहि सडक भएर बग्ने कुलो थुनियो । कुलो थुनिएपनि पानी आउने क्रम नरोकिदा त्यसले बाटोको तल्लो क्षेत्र खोल्दै कृषि सडककै प्लम्विङ वालको जग बगाएर घरमाथि बज्रिदा क्षति भएको वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।

पोखरा–२५ हेमजामा पनि पहिरोले घर पुरिँदा एकजनाको ज्यान गएको छ । हेमजास्थित शरदचन्द्र अधिकारीको घर राती करिब ३ बजे आएको पहिरोले पुरिदाँ अधिकारीकी आमा हिमकली अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । बृद्धा आमालाई घरमा छाडेर अधिकारी दम्पती छिमेकीकोमा बास बस्न गएकाले उनीहरू भने ज्यान जानबाट जोगिएका छन् । पहिरोले ३ वटा बाख्रासमेत पुरेको प्रहरीले बताएको छ ।

त्यस्तै पोखरा महानगरपालिका–२६ पैतेडाँडामा पहिरोले घर पुरिदाँ एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । स्थानीय दुर्र्गाबहादुर सुनारको टिनले छाएको ब्लकको घर पहिरोले भत्काउँदा घरधनी अन्दाजी ३२ वर्षीय सुनारको मृत्यू भएको हो । पहिरोले बगाएको उनलाई प्रहरी र स्थानीयले विहान मृत अवस्थामा भेट्टाएका थिए । सुनारकी श्रीमति, एक छोरा र छोरीलाई भने सकुशल उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ ।

त्यस्तै, पोखरा १७ छोरेपाटन सिमलटुँडामापनि पहिरोले घर पुरिदा ३ जना घाइते भएका छन् । स्थानीय चन्द्रबहादुर मगरको घर पुरिदा उनकी श्रीमती शान्ति मगर र छोरा सुशन मगर घाइते भएका हुन् । उनीहरूको विरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको छ । पोखरा–३३ भरतपोखरीमा पनि पहिरोले बगाउँदा २ जना घाइते भएका छन् । स्थानीय ‘मीठो पानी’ कम्पनीमा काम गरिरहेका बेला विहान करीब ८ः३० बजे एक्कासी माथिबाट आएको पहिरोले बगाउँदा सुरज अधिकारी र सुदन अधिकारी घाइते भएका हुन् । 

शुक्लागण्डकी नगरपालिकाको पुल्चोकमा सेती नदीमा आएको बाढी ।

यसैबीच, पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई स्थानीय प्रशासनले सहयोग गर्ने घोषणा गरेको छ । बिपद ब्यबस्थापन समिति कास्कीको शुक्रबार बसेको बैठकले पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहत स्वरुप प्रति व्यक्ति एकलाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।  

लमजुङमा तीनजनाको मृत्यु

लमजुङमा पनि पहिरोले घर पुरिँदा एकैपरिवारका तीनजनाको मृत्यु भएको लमजुङ प्रहरीले बताएको छ । लमजुङका डिएसपी गंगाबहादुर थापाका अनुसार बेसीसहर नगरपालिका–७ सातबिसेमा पहिरो जाँदा घर पुरिएर एकैपरिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय दीपक तामाङ र उनकी श्रीमति २५ वर्षीय बिमाया तामाङ सहित छोरा ८ वर्षीय छेवाङ तामाङ रहेको डिएसपी थापाले बताए ।  भिरालो जमिनमा रहेको घरमा माथिबाट पहिरो झर्दा घर पुरेको उनले बताए । ‘ढुंगासहितको पहिरोले घर नै पुरेको थियो,’ उनले भने । त्यसबाहेक वर्षाले अरु केही ठाउँमा पहिरो समेत निम्त्याएको छ । मनाङ जाने एकमात्र सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ ।  

म्याग्दीमा ३० जना बेपत्ता

लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भु–वनावटका कारण शुक्रबार म्याग्दीमा पहिरोमा परेर ३० जना बेपत्ता भएका छन् । सुतिरहेको अवस्थामा बस्ती माथिबाट ढिस्को खसेपछि पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका २१ जना, र छिमेकी मालिका गापा–७ बिमका ८ र मालिका–६ की एक महिला गरि ३० जना बेपत्ता भएका हुन् ।  

अरुबेला पहिरोको उत्ति जोखिम नठानिएको उक्त गाउँमा पहिरोले वितण्डा मच्चाउँदा जनधनको क्षती भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । पहिरोमा परेका मध्ये मराङ कल्लेनी र आसपासका क्षेत्रमा एकजनाको शव भेटिएपनि पहिचान हुन नसकेको प्रजिअ ढकालले बताए । ‘पहिरोस्थलमा पुग्न सक्ने अवस्था छैन्, ‘स्थलमार्गबाट उद्धारको प्रयास शुक्रबार सफल भएन’ प्रजिअ ढकालले भने, ‘सदरमुकामाबाट टाढा रहेको र ठाउँठाउँमा पहिरो जाँदा स्थलमार्गबाट उद्धारमा जान समेत सकस छ ।’

उनका अनुसार पहिरोस्थलमा पुग्ने सबै पदैलमार्ग खोलाले बगाएको छ । छिमेकी गाउँबाट समेत उद्धारको प्रयास असफल भएको उनले बताए । ‘म्याग्दीमा ठूलो क्षती भएको छ, राहत र उद्धारमा निरन्तर खट्नुपर्ने अवस्था छ’ प्रजिअ ढकालले भने । बाढीपहिरोले पश्चिम म्याग्दीमा मात्रै करिब २ सय ६० जनालाई सुरक्षित स्थानमा लैजानुपर्ने देखिएको उनले बताए । पहिरोस्थल आसपासको जमिन समेत चर्किएको अवस्थामा थप मानवीय क्षतीको जोखिमलाई मध्यनजर गरी सुरक्षित स्थानमा स्थानान्तर गर्ने तयारी भइरहेको प्रजिअ ढकालले बताए । प्रतिकुल मौसमका कारण पोखरा र काठमाडौबाट हेलिकप्टर मगाएर उद्धारको प्रयास गरिएपनि सहज नभएको उनले बताए । पहिरोमा पुरिएका अधिकांश एकै घरका छन् । बेपत्ता मध्ये मराङको कल्लेनीमा दुईशव भेटिएपनि पहिचान भएको छैन ।  

बेपत्ताको खोजीलाई तिब्रता दिइएको उनले बताए । पश्चिम म्याग्दीमा ठाडो खोलाले सधै बितण्डा मच्चाउने गरेको छ । यसैबीच उत्तरी म्याग्दी  हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडकखण्ड अन्तरगत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ पिप्ले जोड्ने बेलिब्रिज समेत राहुघाट नदीको कटानले क्षती पुगेको छ । पुल भत्किएपछि बेनी–जोमसोम सिधा सम्पर्क विच्छेद भएको छ ।  

खोलाले बगाएर एकको मृत्यु, एक बेपत्ता  

जिल्लाका विभिन्न ठाडाखोलामा फसेका चारजनाई उद्धार गरिएको छ भने एक महिला बेपत्ता भएकी छिन् भने एकजना पुरुषको ज्यान गएको छ । रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा गोठ जादै गरेका ५० बर्षिय ललिमान पुराने छन्त्याललाई विहान खोलाले बगाएर मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । खोलाले बगाएका छन्त्यालको शव भेटिएको छ । ठाडोखोला र्ने क्रममा उनी चिप्लिएर खोलामा बगेका थिए । मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको दुखु खोला तर्ने क्रममा स्थानीय ४१ बर्षिया गिता रोकालाई खोलाले बगाएको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताए । उनका अनुसार खोला तर्ने क्रममा फँसेकालाई समेत उद्धार गरिएको थियो ।  

रघुगंगा गाउँपालिका, ८ कुईने मंगलेमा राहुघाट खोलामा आएको बाढी पसेर क्षति पुर्याएको छ । मंगलेका आठघरमा क्षति पुगेको छ । मराङको पहिरोमा फँसेका १५० जनाजतिको उद्धार हुन सकेको छैन । उनीहरूको उद्धार प्रयास जारी रहेको प्रहरीले बताएको छ । त्यस्तै बिमका २० जना पनि उद्धारको पर्खाइमा रहेको प्रहरीले बताए ।  

पोखरामा पहिरोमा परेकी महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचार गरिँदै । तस्बिरः उमेश पुन/नागरिक

तनहुँमा सेतीको त्रास, ४३ घर जोखिममा  

अविरल बर्षाका कारण सेती नदीमा आएको बाढीले शुक्लागण्डकी नगरपालिकाका ४३ घरपरिवार जोखिममा परेका छन् । वर्षाले तनहुँको शुक्लागण्डकी  नगरपालिका– ४ र ८ मा पर्ने पुल्चोकमा रहेको बस्ती डुबानमा परेको हो । बाढी बस्तीमा पसेपछि शुक्लागण्डकी नगरपालिका दुईवटा वडाका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले जानकारी दिए ।  

लगातारको वर्षाले  सेतीनदी बढेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४३ घर डुबानको जोखिमका परेको ईलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख जददिश रेग्मीले जानकारी दिए । शुक्लागण्डकी ८ का १४ मध्ये अधिकांश घरमा पानी पसेको र वडा नम्बर ४ को २९ घरमध्ये ५ घरमा पानी पसेको रेग्मीको भनाई छ । 

‘शुल्लागण्डकी–८ का १४ परिवारका ६० जना र शुक्लागण्डकी–४ का एक सय ५३ जना सहित दुई सय १३ जनालाई तत्कालका लागि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ,’ उनले भने ।  केही घरमा डुवानमा परेको र केही घरमा पानी पस्ने सम्भावना बढेपछि दुई सय १३ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरी निरिक्षक रेग्मीले बताए ।  स्थानीयलाई सामुदायिक भवनमा खाने, बस्ने प्रबन्ध मिलाइएको शुक्लागण्डकी–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीको भनाई छ ।

शुक्लागण्डकी नगरपालिकाको पुल्चोकमा सेती नदीमा आएको बाढी ।

प्रकाशित: २६ असार २०७७ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App