१६ चैत्र २०८० शुक्रबार
समाज

पोखरामा दशकपछि ठूलो बर्षा

पोखरामा शुक्रबार बिहान झरेको पहिरोले पुरिएको घर । घर पुरिँदा ७ जनाको ज्यान गएको छ । तस्बिरः उमेश/नागरिक

पोखरामा एकदशकपछि शुक्रबार ठूलो बर्षा भएको छ । पोखरामा पछिल्लो २४ घण्टामा २७९ मिलिमिटर बर्षा भएको हो । पोखराको मालेपाटनमा सबैभन्दा बढी २७९ मिलिमिटर बर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले बताएको छ ।  

कार्यालयका मौसम विज्ञान सहायक सरोज अधिकारीका अनुसार यसअघि २०१० जुलाई २२ मा पोखरामा एकैदिन २६२ मिलिमिटर बर्षा भएको थियो । ‘एकदशकपछि पोखरामा ठूलो पानी परेको छ,’ अधिकारीले भने, ‘भीषण बर्षा हुँदा डुबान र क्षति निम्त्याएको छ ।’ पोखरामा सबैभन्दा बढी २००१ अगष्ट १८ मा एकैदिन सबैभन्दा बढी ३५७ मिलिमिटर बर्षा भएको थियो । यो नै सर्वाधिक बढी बर्षाको रेकर्ड भएको अधिकारीले बताए । त्यस्तै अधिकारीका अनुसार २०१३ जुलाई २२ मा पोखरामा २२३, २०१४ अगष्ट २० मा २१८, २०१५ जुलाई १६ मा २२४, २०१६ जुलाई २६ मा २२३ मिलिमिटर बर्षा पोखरामा भएको थियो ।  

कार्यालयका अनुसार पोखरा विमानस्थलमा शुक्रबार २५१ मिलिमिटर बर्षाको रेकर्ड रहेको छ । त्यस्तै लामाचौरमा १६१ मिलमिटिर बर्षा भएको छ । नेपालमै सबैभन्दा बढी पानी पर्ने ठाउँ कास्कीको लुम्लेमा भने केही कमी ८५ मिलिमिटर बर्षा भएको छ । कार्यालयले २४ घण्टाको रेकर्ड राखेपनि बिहीबार बेलुकी ७ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मात्र पोखरामा पानी परेको थियो । बाढीले क्षति पुर्‍याएको लम्जुङमा पनि अधिक बर्षा भएको छ । लम्जुङको खुदीमा १६७ मिलिमिटर र सदरमुकाम बेसीसहरमा १६९ मिलिमिटर बर्षा भएको छ ।  

भूगर्वबिद श्रीकमल द्विवेदी पोखरामा भएको बर्षालाई भीषण भन्न सकिने बताउँछन् । यस्तो बर्षाले सतही पहिरो निम्त्याउने जोखिम रहेको उनले बताए । असारको सुरुदेखि नै पानी पर्दा जमिन गलेर कमजोर भईसकेकोले यस्तो अवस्थामा जमिनले पानी सोस्ने भन्दा पनि सतहमा बढी बग्ने उनले बताए ।  

यसै बर्षाका कारण पछिल्लो समय जथाभावि खनिएको मोटरबाटोमा पहिरो झर्ने गरेको उनले बताए । मोटरबाटो खनेको ठाउँबाट फ्याकिएको माटोले लेदोको रुप लिएर पहिरो ल्याउने जोखिम हुने उनले बताए । ‘बाटो खन्दा पहिरोको जोखिम बढिरहेको छ । सडक खन्दा नाला नबनाएपछि पानी सडकबाटै बगेर जाँदा फ्याकिएको माटोसँगै पहिरो निम्तिन्छ,’ उनले भने, ‘धेरैजसो पहिरो योजनाविहीन बनेका सडकले निम्त्याएको छ । विकासको गलत अभ्यासले गर्दा पहिरो निम्त्याएको छ ।’

शुक्रबार मानवीय क्षति हुने गरि झरेको पोखरामा झरेको पहिरो मोटरबाटोकै कारण रहेको पोखरा–१८ का अध्यक्ष रणबहादुर थापाले बताए । अविरल बर्षाका कारण ढिस्को एक्कासी खस्दा घर माथिको कृषि सडक पुरियो । जसका कारण सोहि सडक भएर बग्ने कुलो थुनियो । कुलो थुनिएपनि पानी आउने क्रम नरोकिदा त्यसले बाटोको तल्लो क्षेत्र खोल्दै कृषि सडककै प्लम्विङ वालको जग बगाएर घरमाथि बज्रिदा ठूलो क्षति भएको वडाध्यक्ष थापाले जानकारी दिए । गुन्टेचौर हुँदै अन्नपुर्ण गाउँपालिका पुग्ने यो कृषि सडक १७ करोढ रुपैयाँमा निर्माणाधिन रहेको उनले बताए ।

प्रकाशित: २६ असार २०७७ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App