७ वैशाख २०८१ शुक्रबार
समाज

कास्की र लम्जुङका विभिन्न ठाउँमा पहिरोः एकै परिवारका तीनसहित ९ को ज्यान गयो (अपडेट)

खोलामा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ । फाइल तस्बीरः हरिकृष्ण गौतम

कास्की र लम्जुङमाका विभिन्न ठाउँमा गएको पहिरोमा परी ९ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। पोखराको सराङ्कोटमा गएराति आएको पहिरोले घर पुरिदा ५ जनाको ज्यान गएको छ।  

अविरल वर्षापछि गएराति आएको पहिरोले घर पुरिदा अन्य ६ जना घाइते भएका छन्। पोखरा महानगरपालिका वडा नम्बर १८ सराङ्कोटस्थित गोठादीमा राति करीब साढे २ बजे आएको पहिरोले स्थानीय टंकबहादुर थापाको घर पुरिदा ५ जनाको ज्यान गएको वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए। अहिलेसम्म ५ जनाको शव निकालिसकिएको छ,उनले भने,‘अन्यको खोजी भइरहेको छ।’ उनका अनुसार घरधनी थापा दम्पतीको शव भेटिएको छ।

पहिरोमा पुरिएर ६ जना घाइते भएका छन्। उनीहरुलाई पहिरोले पुरिएर घाइते भएका उनीहरुलाई उद्धार गरेर उपचारका लागि अस्पताल पु(याइएको छ। घाइते मध्ये ४ जनालाई मणिपाल शिक्षण अस्पताल र २ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए।

जन्म दिन मनाउने क्रममा पाहुना पनि आएकाले पहिरोले पुरिएको घरमा कति संख्यामा मान्छे थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ। पहिरो हटाएर थपको खोजी भइरहेको प्रवक्ता हमालले बताए। उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ।

यसैबीच, पोखरा–२५ हेमजामापनि गएराती पहिरो जाँदा १ जना बृद्धाको ज्यान गएको छ। हेमजास्थित शरदचन्द्र अधिकारीको घर राती करबि ३ बजे आएको पहिरोले पुरिदा अधिकारीका आमा हिमकली अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ। बृद्धा आमालाई घरमा छाडेर अधिकारी दम्पती छिमेकीकोमा बास बस्न गएकाले उनीहरु भने ज्यान जानबाट जोगिएका छन्। पहिरोले ३ वटा बाख्रासमेत पुरेको प्रहरीले बताएको छ।

त्यस्तै, पोखरा १७ छोरेपाटन सिमलटुँडामापनि पहिरोले घर पुरिदा ३ जना घाइते भएका छन्। राती आएको पहिरोले स्थानिय चन्द्रबहादुर मगरको घर पुरिदा उनकी श्रीमती शान्ति मगर र छोरा सुशन मगर घाइते भएका हुन्। उनीहरुको विरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको छ।

अविरल वर्षापछि आएको बाढीले रामघाट क्षेत्र भने डुबानमा परेको छ। रामघाट क्षेत्र डुबानमा परेपछि स्थानिय सुकुम्बासी बस्तीलाई राति नै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

त्यस्तै लम्जुङमा पहिरोले घर पुरिँदा एकैपरिवारका तीनजनाको मृत्यु भएको लम्जुङ प्रहरीले बताएको छ । लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार बेसीसहर नगरपालिका–७ सातबिसेमा पहिरो जाँदा घर पुरिएर एकैपरिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षिय दीपक तामाङ र श्रीमति २५ वर्षिय बिमाया तामाङ र छोरा ८ वर्षिय छेवाङ तामाङ रहेको डिएसपी थापाले बताए ।  भिरालो जमिनमा रहेको घरमा माथिबाट पहिरो झर्दा घर पुरेको उनले बताए ।

प्रकाशित: २६ असार २०७७ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App