६ चैत्र २०८० मंगलबार
समाज

३६ हजार भन्दा बढी घरधुरी बाढीको जोखिममा

बर्षायाममा पानी पर्दा नदीहरुमा बाढी आउनु स्वभाविक मानिन्छ । तर, पूर्वमा सप्तकोशी, बुढी खोला, सुनसरी खोला, सेरालगायतका नदीमा पानीको बहाव बढ्नासाथ आसपासका बासीन्दालाई भने ठूलै चिन्ताले सताउने गर्छ ।  

सप्तकोशी छेउछाउका बासीन्दालाई सालिन्दा बर्षा लागेर पानी पर्नासाथ गास, बास र कपासको भन्दा आफ्नो सुरक्षाले बढी पिरोल्छ । सप्तकोशी बाहेक मोरङ–सुनसरीको सीमावर्ती भएर बग्ने बुढीखोला, सुनसरी खोला, सेरा खोलालगायतमा आएको बाढीले स्थानीय बासीन्दा त्राहीमाम हुने गर्छन् । यी नदीहरुमा पानीको बहाव बढ्दा वा बाढीले सुनसरी जिल्लाभरका ३६ हजार भन्दा बढी घरधुरी जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।  

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीले तयार गरेको विपद् पूर्व तयारीका लागि सार्वजनिक गरिएको तथ्याङ्कमा धरान उपमहानगरपालिकामा बाढीले गर्दा १४ हजार ९२१ घरधुरी जोखिमा रहेको उल्लेख गरिएको छ । धरानमा वडा नं. ४, ५, ८, ९, ११, १२, १३, १५, १६ र १७ का घरधुरी बढी जोखिममा रहेका छन् ।  

इटहरी उपमहानगरपालिकामा सात हजार ४१७ घरघुरी बाढीको जोखिममा रहेको रेडक्रसकी कार्यक्रम संयोजक करुण विष्टको संयोजकत्वमा तयार गरिएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार इटहरीमा वडा नं. २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३, १५, १९ र २० बढी जोखिममा रहने उल्लेख छ ।

इटहरीमा २०७४ साउन २७ गते राति आएको बाढीले इटहरी वडा नं. ३, ४, ९ र १० मा तहसनहस पारेको थियो । नदीमा आएको बाढीले इटहरी क्षेत्रमा मात्र नौ जनाको मृत्यु भएको थियो । त्यो वर्ष बाढीले विनास निम्त्यिाउँदा सुनसरीमा दुई अर्ब भन्दा बढीको क्षति पुगेको थियो ।  

बर्खा लागेसँगै बाढीले इनरुवामा चार हजार एक सय घरधुरी जोखिममा रहने उल्लेख छ । इनरुवाको वडा नं. १, २, ३, ४, ५, ७, ८, ९ र १० घरधुरी बढी जोखिमा रहने गरेको सार्वजनिक गरिएको छ । यस्तै, रामधुनीमा प्रायः सबै वडाका गरि एक सय ४५ घरधुरी बाढीबाट बढी मात्रमा प्रभावित हुने गरेको उल्लेख छ । बुढी खोला नदीले दुहवीमा एक हजार ५५० घरधुरी जोखिममा रहने गरेको जानकारी दिइयो । यहाँका वडा नं. १, ३, ४, ५, ६, ८, ९, १०, ११, १२ बढी प्रभावित हुने गरेको उल्लेख छ ।

कोशी पूर्वको बराहक्षेत्रमा पाँच हजार ६८१ घरधुरी बाढीको जोखिममा हुने गरेको छ । बराहक्षेत्रको वडा नं. १, २, ६, ७, ९, १० र ११ वडाका घरधुरी जोखिममा रहने गरेको रेडक्रसको तथ्याङ्कमा सार्वजनिक गरिएको छ । बराह क्षेत्रभरीका २०२२ सालदेखि ०४५ सालसम्म बिस्थापित भएका बासीन्दालाई ०३९ सालमा १८ परिवारलाई डेढ कट्ठाका दरले, सोही वर्ष अञ्चालधीस ललितबहादुर बमको निर्णय अनुसार ८४ घरलाई आठ धुरका दरले र ०४३ सालमा तत्कालित अञ्चलाधीस सूर्यबहादुर सेन ओलीले बढीमा एक कट्ठासम्म पीडितलाई जग्गा दिने निर्णय गरेको थियो ।  

क्षतिपुर्ति र मुआब्जाको माग राखेर २०२२ सालयता यहाँका सप्तकोसी डुवान–कटान पीडितले पनि बेला–बेलामा आन्दोलन गर्ने गरेका छन् । २०२२ सालयता सप्तकोसीले बराहक्षेत्रका तीन हजार नौ सय परिवार पीडित भएको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार आठ हजार ६ सय विघा खेतीयोग्य उर्वर भूमि कोशीले कटान गरेको छ । यो तथ्याङ्क पूर्व प्रशासक रामप्रसाद खतिवडाको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले पनि तयार गरेको थियो । ०४६ सालको परिवर्तनपछि बनेका हरेक सरकार र निर्वाचनताका प्रमुख मुद्धा बन्दै आएको यो पीडामा मल्हम लगाउन कसैले सार्थक प्रयास गरेको छैन ।  

बाढीले भोक्राहा–नरसिंहमा चार सय घरधुरी जोखिममा रहेको उल्लेख छ । यस्तै, बर्जुमा भने तथ्याङ्क संकलन कार्य जारी छ । यस्तै, कोशीमा पाँच हजार ३३२ घरधुरी जोखिममा रहेको उल्लेख छ। कोशीमा २०६५ भदौ–२ गते सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर अहिलेको कोशी गाउँपालिका क्षेत्रको हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र लौकही क्षेत्रमा डुब्दा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका  थिए ।  

२०६५ सालमा सप्तकोशीले तटबन्ध भत्काँउदै धार परिवर्तन गरेकोेमा तीन महिनाको निरन्तर प्रयासपछि पुरानै धारमा फर्काइएको थियो । एकपटक पूर्वी तटबन्ध भत्काएर पुनः पुरानै अवस्थामा फर्काएपनि कुनै पनि बेला बिनासलिला मच्चाउन सक्छ । जसले गर्दा यस क्षेत्रका बासीन्दा बर्खा लाग्नासात्र त्राहीमाम हुने गरेको कोशी गाउँपालिका क्षेत्रबाट पत्रकारिता गर्दै आएका मिकायल आलमले बताए । सप्तकोसीको बाढीबाट हुने विनासलिला नेपालमा मात्र सीमित हुर्दैन । भारतको बिहारमा वर्षेनी कोशीको बाढीले पुग्ने धनजनको क्षती कम छैन । 

बाढीले गढी गाउँपालिकाका सबै वडामा पाँच सय घरधुरी र देवानगञ्जमा दुई हजार ३७० घरधुरी जोखिममा रहने गरेको उल्लेख छ । देवानगञ्जका वडा नं. १, २, ३, ५, ६ र ७ बढी प्रभावित हुने गरेको छ । हरिनगरमा दुई हजार ३७० घरधुरी बाढीबाट बढी असर गर्ने गरेको छ । यहाँका वडा नं.  १, २, ४, ५, ६ र ७ का घरधुरीलाई समस्या हुने गरेको छ । सुनसरीमा २०६५ सालमा कोशी नदीले विनासलिला मच्चाएर क्षति गरेपछि २०६६ सालदेखि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर प्रत्येक वर्ष तथ्याङ्क अद्यवाधिक गर्ने गरिएको रेडक्रस जिल्ला शाखाका अध्यक्ष उमेश थापाले जनाए । 

प्रकाशित: २५ असार २०७७ १२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App