१६ चैत्र २०८० शुक्रबार
समाज

सिन्धुपाल्चोकमा बाढी, पहिरोको बितण्डा : यी हुन् मृतक, घाइते र बेपत्ता (नामसहित)

सिन्धुपाल्चोक बाढी, पहिरो घटनाका मृतक, घाइते र बेपत्ताको पहिचान भएको छ । स्थानीय खोला, खोल्सीको बाढी पहिरोले भोटेकोसी नदी करिडोरका तीन बस्तीका ३३ घर बगाउँदा दुईको ज्यान जानुका साथै चार घाइते भएका छन् । पहिरोमा २० बेपत्ता छन् ।  

बाह्रविसे नगरपालिका–५ गाती जम्बुमा बाढी, पहिरोले ११ घर बगाउँदा दुईको मृत्यु भएको छ । पहिरोमा परी चार घाइते हुँदा १६ बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले पहिरोमा परेर स्थानीय २० वर्षीय निकेश बस्नेत र उनको डेढ वर्षकी छोरी मिनाको मृत्यु भएको बताए । त्यस्तै माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ (मृतकका श्रीमती) र मिङ्मा तामाङ घाइते भएका छन् ।  

गम्भीर घाइते भएका सुवेश र सवितालाई उपचारको लागि हेलिकप्टरबाट राजधानीको ह्याम्स अस्पताल लगिएको छ । अरु दुईको अवस्था सामान्य रहेको छ । घाइतेको उद्धार गर्न नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा र कांग्रेस नेता विष्णु खत्री हेलिकप्टर लिएर आइपुगेका थिए । सोही हेलिकप्टरमा घाइतेलाई अस्पताल लगिएको हो ।  

प्रहरीका अनुसार जम्बु बाढी, पहिरोमा भीम, चीनमाया, लीलामाया, पाशाङडोल्मा, निमाडोल्मा, लक्ष्मण, सुनमाला वाइबा बेपत्ता छन् । त्यस्तै जनकबहादुर थिङ, सलिना तामाङ, आकाश तामाङ, हिमेश शर्मा, आकाश केसी, तोकबहादुर तामाङ, सलिनी तामाङ, सुवेश तामाङ र यूक्तबहादुर तामाङ पनि बेपत्ता छन् । बेपत्ता शर्मा निर्माणाधीन मध्यभोटेकोसी आयोजनाका सेक्रेटरी र केसी जाइकाका इन्जिनियर रहेको डिएसपी काफ्लेले बताए ।  

त्यस्तै भोटेकोसी–५ बुल्कोटी गाउँका दुई घर बग्दा चार जना बेपत्ता हुनुका साथै दुई घाइते भएका छन् । बेपत्ता हुनेमा निमादोर्जे, मञ्जु, पाशाङनोर्बु र पायल तामाङ रहेको प्रहरीले जनाएको छ । फूर्वा तामाङ र उनकी १० दिनकी छोरी घाइते भएका छन् । भोटेकोसी गाउँपालिकाले उनीहरुलाई हेलिकप्टरबाट उद्दार गरेर उपचारका लागि राजधानी पठाउने प्रयास गरिरहेको छ ।  

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा बेपत्ताको खोजी कार्य गरिरहेको डिएसपी काफ्लेले जानकारी दिए ।  

 

प्रकाशित: २५ असार २०७७ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App