८ वैशाख २०८१ शनिबार
समाज

गिरीलाई सांसदबाट हटाउन पत्र

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई गरेको कारबाही नेपालको इतिहासमै पहिलो घटना सावित भएको छ। यसअघि कुनै पनि राजनीतिक दलहरूले यो हदसम्म संसद् सचिवालयलाई चिठी लेखेर सांसदबाट फिर्ता बोलाएका थिएनन्।  

‘पार्टीहरूले बेलामौकामा नेताहरूलाई कारबाही गर्ने गरेका छन् तर यस किसिमको सांसद पदबाटै फिर्ता बोलाउने गरी कारबाही गरेको भेटिएको छैन,’ पूर्वसभामख तथा सांसद सुवास नेम्वाङले भने, ‘त्यसैले यस घटनालाई इतिहासमै पहिलो घटना भन्न मिल्छ।’

बुधबार समाजवादी पार्टीले संसदीय दलमार्फत संसद् सचिवालयलाई चिठी लेखी गिरीलाई पार्टीबाट समेत हटाउने निर्णय गरेको औपचारिक जानकारी गराएको छ। पूर्वसमाजवादीले मंगलबार गिरीलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी सांसदबाट निष्कासन गर्ने निर्णय गरेको थियो। निर्णय गर्नुअघि गिरीको विषयमा छानविन गर्न पार्टीले रामसहाय यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलको सिफारिसमा पार्टीले गिरीलाई कारबाही गरेको थियो।  

तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भई जनता समाजवादी पार्टी गठन भए पनि निर्वाचन आयोगले दल दर्ताको प्रमाण पत्र नदिएकाले कानुनी रूपमा दुवै पार्टी अझै अलग अलग छन्।  

गिरीको ठाउँमा अब लीला सिटौलाले अवसर पाउने निश्चित भएको छ। गिरी खसआर्य कलस्टरबाट सांसद भएकी थिइन्। खसआर्य कोटामा गिरीको पछि सिटौलाको नाम राखिएको छ। ‘तर यसबीच गिरी अदालत जाने सम्भावना पनि छ,’ पार्टीका एक पदाधिकारीले भने, ‘आयोगले नाम नमाग्दासम्म पार्र्टीले सिटौलाको नाम सिफारिस गर्न सक्दैन।’ वामपन्थी राजनीतिक पृष्ठभूमि भएकी सिटौलाको स्थायी घर ललितपुर हो। कारबाही गर्नुअघि पार्टीले गिरीलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणमा उनले आफूलाई कारबाही गर्न नमिल्ने जवाफ दिएकी थिइन्।  

कार्यकारिणीमा कोटा पाएसँगै यादव र झा मत्थर

यसैबीच जनता समाजवादी पार्टीको कार्यकारिणी समितिमा एक÷एक जना कोटा पाएपछि राजकिशोर यादव र अनिल झाको आक्रोश मत्थर भएको छ। झा र यादवको आक्रोशलाई मत्थर पार्न जनता समाजवादीले निर्वाचन आयोगमा बुझाएको कार्यकारिणी समितिको सूची परिमार्जन गरेको हो।  

परिमार्जित सूचीमा यादव र झाको तर्फबाट एक÷एक जनाको नाम समावेश गरिएको छ भने पार्टीअध्यक्ष महन्थ ठाकुर निकट दुई जनाको नाम हटाइएको छ। परिमार्जन गरिएको सूची असार १९ गते निर्वाचन आयोगमा पठाइसकिएको पार्टी स्रोतले जनाएको छ। संशोधित सूचीमा झाको तर्फबाट सुनिल रोहित र यादवको तर्फबाट जगाधार रोहितको नाम राखिएको छ। रोहित र यादवको नाम राख्न अध्यक्ष ठाकुरले कार्यकारिणी समितिबाट विजय सिंह र रामकुमार ओझाको नाम हटाएका छन्।  

पार्टी स्रोतका अनुसार आफ्नो नाम हटाउन सिंहले ठाकुरलाई सहमति दिएका थिए तर ओझाले भने सहमति दिएका थिएनन्। ठाकुरले आफ्ना सम्धी उमाकान्त झाको नाम भने कार्यकारिणी समितिबाट हटाएका छैनन्। आफ्नो सम्धीको नाम समितिमा सिफारिस गरेकोमा पार्टीका केही नेताले ठाकुरको आलोचनासमेत गरेका छन्।

प्रकाशित: २५ असार २०७७ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App