७ वैशाख २०८१ शुक्रबार
समाज

सत्ता समर्थकलाई काखा विपक्षीलाई पाखा

कोटेश्वरमा बुधबार केही युवा नाराजुलुस गर्दै थिए। भक्तपुर र ललितपुरतर्फबाट आएका युवा पनि त्यसमै मिसिए। प्रदर्शनकारीहरूको संख्याले कोटेश्वर चोक भरियो। भक्तपुर र ललितपुरतर्फबाट आएका सवारीसाधन त्यतै रोकिए। प्रदर्शनकारीले सडक अवरोध गरेपछि चालकले हर्न बजाए। पछि मात्रै प्रहरीले भिडलाई छेउ लगायो।

सडकमा उत्रिएका युवा सरकारको विरोधमा नभएर बचाउका लागि प्रदर्शनमा थिए। त्यही भएर प्रहरीले प्रदर्शनलाई सहयोग ग¥यो। तर, सडकमा सरकारविरोधी कुनै प्रदर्शन भयो भने प्रहरीले उनीहरूलाई तितरबितर बनाउन पानीको फोहरा, अश्रुग्यास र लाठीसहित प्रहरी सकडमा तम्तयार हुन्थ्यो। ठाउँठाउँमा काँडेतार तेस्र्याएर प्रदर्शन छेक्न प्रहरी लामबद्ध हुन्थ्यो। प्रदर्शनकारी र प्रहरी जम्काभेट हुनासाथ लाठीमुङ्ग्री सुरु हुन्थ्यो। तर, पछिल्लो समय भएका प्रदर्शनलाई भने प्रहरीले समर्थन गरिरहेको छ। सरकारको पक्षमा प्रदर्शन भएकाले पनि प्रहरीले कडाइ गर्न सकेको छैन।  

‘इनफ इज इनफ’ अभियानका युवाले डेढ महिना लगातार प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गर्दा भने प्रहरीले निकै कडाइ गरेको थियो। ढेड महिनाको अवधिमा उक्त अभियानका सयभन्दा बढी व्यक्तिलाई प्रहरीले पक्राउ ग¥यो। केहीलाई लाठी र पानीका फोहरा हानी सडकमा सुतायो। जेठको पहिलो सातादेखि सडकमा उत्रिएका युवा ११ दिन अनशन बसे। मंगलबार सरकारसँग १२ बुँदे सहमति भएपछि मात्रै प्रदर्शनको नेतृत्व लिएका ‘इनअफ इज इनअफ’ अभियानका पुकार बम र ईः ले ११ दिन लामो अनशन तोडे।  

सो अभियानले प्रदर्शन स्थगित गरेसँगै सरकारको समर्थनमा प्रदर्शन गर्नेहरूको भिड छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेला समर्थकले सडकमा प्रदर्शन गरेका थिए। बुधबार कोटेश्वर, गोंगबु, चाबहिल, कलंकी, असन, इन्द्रचोक र ललितपुरको लगनेखलमा प्रधानमन्त्रीको पक्षमा प्रदर्शन भयो। तर ‘दुई थरी’ (ओली पक्ष र विपक्षी) का प्रदर्शनलाई दाँज्दा एउटा विभेद स्पष्ट देखिएको छ। ‘इनफ इज इनफ’का युवाहरू र प्रधानमन्त्रीका समर्थकले सडकमा गरेको प्रदर्शनमा प्रहरीले गर्ने व्यवहार निकै भिन्न देखियो। लकडाउन र मास्क नलगाई सडकमा निस्किएको बहाना बनाउँदै बम र ईः नेतृत्वको प्रदर्शनलाई हस्तक्षेप र कडाइ गरेको प्रहरीले प्रधानमन्त्रीको समर्थनमा भएको प्रदर्शनलाई भने पूरै साथ दिइरहेको छ।

बिना मास्क, निषेधित क्षेत्र तोडेर र लकडाउनको परिपालना नगरे पनि उनीहरूमाथि प्रहरीले कुनै कडाइ गरेको छैन। ११ दिन ह्याम्स अस्पतालमा अनशन बसेर घर फर्किएका पुकार बमले आफूहरूमाथि पानीको फोहरा, लाठी र अश्रुग्यास प्रहार गरेको प्रहरीले प्रधानमन्त्रीको समर्थनमा सडकमा निस्किएका युवालाई कुनै अवरोध नगरेको बताए। उनका अनुसार बिना मास्क, लकडाउन उल्लंघन गरी, निषेधित क्षेत्र तोडी प्रदर्शन भइरहे पनि उनीहरूमाथि प्रहरीले कडाइ गरेको छैन। ‘हामीलाई मास्क नलगाएको र लकडाउन उल्लंघनको बहाना बनाएर प्रहरीले खेद्यो तर सरकारको समर्थनमा जसरी प्रदर्शन गरे पनि प्रहरीले केही गरेको छैन, यसले चित्त दुखाएको छ,’ उनले भने।  

विवेकशीलका नेता मिलन पाण्डेले नेपाल प्रहरीले प्रहरीको धर्म बिर्सिएको आरोप लगाए। ‘प्रहरीले विभेदकारी व्यवहार गरेको छ, अरू युवामाथि जाइलाग्ने तर सरकारको समर्थनमा भएको प्रदर्शनमा मूकदर्शक बन्ने ?’ उनले भने, ‘यो ज्यादै नराम्रो पक्ष हो।’  

उनले तन्त्र परिवर्तन भए पनि सत्तामा हुनेको व्यवहार उस्तै रहेको बताए। ‘प्रहरी एउटा स्वतन्त्र संगठन हो, उसको आफ्नै सुरक्षा नीति छ तर प्रहरीले आफ्नो जिम्मेवारी बिर्सिएको छ,’ उनले भने। उनले यो विभेदले राज्यलाई नै कमजोर बनाउने बताए।  

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले यस विषयमा नीतिनिर्माण तहमा कुराकानी नभएको बताए। ‘प्रहरीले गर्नुपर्ने व्यवहार एकैनास हुनुपर्छ,’ उनले भने, ‘हामीले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई प्रहरीको व्यवहार पनि ख्याल गर्न भनेका छौं।’

पूर्व डिआइजी हेमन्त मल्लले जस्तोसुकै अवस्थामा पनि प्रहरीले आफ्नो धर्म बिर्सन नहुने बताए। उनले सरकारकै समर्थनमा भए पनि अराजक प्रदर्शन भइरहेको छ भने त्यसलाई प्रहरीले आफ्नै तरिकाले कारबाही गर्नुपर्ने बताए। ‘यस्तो बेलामा प्रहरीले विभेद गर्नुहुँदैन,’ उनले भने, ‘सरकारको समर्थनमा वा असमर्थनमा भएको प्रदर्शनमा प्रहरीले ख्याल गरेर आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।’

प्रकाशित: २५ असार २०७७ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App