७ वैशाख २०८१ शुक्रबार
समाज

धरानमा मास्क नलगाई हिँड्ने पक्राउ

मास्क नलगाई घरबाहिर र बजारमा हिँडडुल गर्ने मानिसहरुलाई प्रहरीले धरानमा पक्राउ गर्न थालेको छ । आजदेखि धरानमा मास्कबिना हिँड्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार मास्क नलगाई घरबाहिर निस्किएर हिँडेकाहरु ४५ जना भन्दा बढीलाई आज पक्राउ गरिएको हो । उनीहरुलाई भानुचोकस्थित वडा प्रहरी कार्यालयमा राखेर सम्झाई, बुझाई गरेर घर फर्काइएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । ‘आज पहिलो दिन करिब ४५ जनालाई कार्यालय ल्यायौं, उहाँहरुलाई मास्कबिना हिँड्नु भएन भनेर सम्झाई, बुझाई गरेर पठायौं,’ उनले भने ।

प्रहरीले मास्कबिना घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ पनि गरिरहेको छ । साथै, पसलमा रहेका व्यवसायी तथा कर्मचारीहरुलाई पनि अनिवार्य मास्क लगाउन आग्रह गरिएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए । लकडाउन खुकुलो हुँदै गएपछि घरबाहिर र बजार क्षेत्रमा मानिसहरुको आवतजावत बाक्लो भएको छ भने नेपालमा कोरोना संक्रमितहरुको संख्या पनि बढ्दै गएको छ । मास्कबिना आवतजावत र भिडभाडले संक्रमणको जोखिम बढाएपछि गृह मन्त्रालयले पनि मास्कबिना हिँडडुल गर्नेहरुलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि मास्कबिना हिँड्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको थियो । मास्क नलगाई हिँडडुल गर्नेलाई संक्रमण रोग ऐन २०२० बमोजिम कारबाही गर्न पनि प्रशासनले प्रहरीलाई निर्देशन दिएको छ । प्रशासनले अति आवश्यक काम बाहेक घरबाहिर ननिस्कन र निस्कन परे मास्क अनिवार्य प्रयोग गर्न भनेको छ । 

साथै, घरबाहिर हिँडडुल गर्दा, सार्वजनिक स्थलमा जादा अनिवार्यरुपमा कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गरेर मात्र आवतजावत गर्न पनि सूचना जारी गरेको छ । 

प्रकाशित: २४ असार २०७७ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App